गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र भएको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको स्पष्ट पारे ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ, तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने, ‘२०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको एक वर्ष आठ महिनापछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए । उनले भने, ‘एमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ, २०८४ को निर्वाचनसम्म सहज रूपमा मिलेर जान्छौँ ।’
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको बताए । ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै उहाँ भारत भ्रमणमा जानुहुन्छ,’ उनले भने । सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए ।