१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ७ शुक्रबार o७:२२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता गुरुराज घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार o७:२२:oo

विद्यार्थीले त्रिवि पदाधिकारीलाई धम्की दिएको विषयमा के भन्नुहुन्छ ?
अति राजनीतीकरणले हाम्रा प्राज्ञिक संस्थाहरू नाजुक र अस्तव्यस्त बन्दै गएका छन् । शिक्षण संस्थालाई शिक्षण संस्थाकै रूपमा सबल बनाउने विद्यार्थी संगठन र तिनका नेताहरूले नै हो । त्रिवि पदाधिकारीसँग विद्यार्थी नेतृत्वको शत्रुतापूर्ण सम्बन्ध देखिएको धेरै भइसक्यो । हाम्रा प्राज्ञिक या शैक्षिक संस्थाका पदाधिकारी पनि आफ्नो पदीय मर्यादा, गरिमा र जिम्मेवारी बिर्सेर राजनीतिक दलका ‘झोले’ कार्यकर्ता जस्ता देखिएका छन् । पदाधिकारीहरू आफ्ना दलका नेतृत्वप्रति नतमस्तक देखिएपछि विद्यार्थी नेतृत्वले तिनलाई आफू अनुकूल चलाउन खोज्नु अनौठो होइन ।  

विभाग प्रमुख या पदाधिकारी नियुक्तिमा विद्यार्थीको चासो कति स्वाभाविक हो ?
यो उनीहरूको चासोको विषय नै होइन । उनीहरूले त विभागको मर्यादा कायम राख्न सक्ने, प्राज्ञिक आधारमा सबैले स्विकार्न सक्ने व्यक्ति ल्याइयोस् भन्ने सुझावसम्म दिनुचाहिँ ठिकै हो । उनीहरूको मुख्य चासोका विषय भनेको त शैक्षिक क्यालेन्डरअनुसार कक्षा सञ्चालन, परीक्षा, नतिजा प्रकाशन र विभागका वार्षिक गतिविधि हुन्, पात्र छान्दै हिँड्नु होइन ।  

शैक्षिक क्षेत्रमा राजनीति गर्नैपर्ने हो कि विद्यार्थी राजनीतिले बाटो बिराएको हो ?
हाम्रा सबैजसो प्राज्ञिक, शैक्षिक तथा प्रजातान्त्रिक संस्था अतिराजनीतीकरणको मारमा परेर धराशयी भएका छन् । हाम्रा विद्यार्थीले आफ्नो दायित्व र मर्यादा भुलेका छन् । तिनले विद्यार्थी हकहित तथा प्राज्ञिक र शैक्षिक विषयमा मात्र चासो राख्नुपर्ने हो । तर, यहाँ विद्यार्थीले चासो राख्नै नपर्ने या राख्न नहुने क्षेत्रमा चासो राखेर बाटो बिराइरहेका छन् । उनीहरूले मात्र होइन, यहाँ विश्वविद्यालयका पदाधिकारीदेखि हाम्रो राजनीतिक नेतृत्वले पनि बाटो बिराइरहेको अवस्था छ ।