चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा सुनको आयात ८७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार परिमाणका आधारमा ८७ प्रतिशत र रकमका आधारमा ८३ प्रतिशतले सुनको आयात घटेको हो ।
गत आवको पहिलो चार महिनामा भने एक हजार केजी पाँच सय ग्राम सुन आयात भएको थियो । तर, चालू आवको चार महिनामा एक सय ३२ केजी पाँच सय ६४ ग्राम सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ८७ प्रतिशत कम हो । गत आवभर दुई हजार ६ सय ५२ केजी सुन आयात भएको थियो ।
चालू आवको पहिलो महिना साउनमा एक सय केजी एक सय पाँच ग्राम सुन आयात भएको थियो । भदौमा ५० ग्राम मात्रै सुन आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । असोजमा सुन नै आयात नभएको र कात्तिकमा भने ३२ केजी चार सय नौ ग्राम मात्रै सुन आयात भएको देखिन्छ ।
रकमका आधारमा गत आवमा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको सुन आयात भएको थियो । गत आवको पहिलो चार महिनामा भने आठ अर्ब २० करोड ८१ लाख रुपैयाँको सुन आयात भएको थियो । चालू आवको पहिलो चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख रुपैयाँको सुन आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८३ प्रतिशतले कम हो । मूल्यमा भएको परिवर्तनका कारण परिमाण र रकमको आयातको वृद्धिदर पनि फरक–फरक देखिएको हो ।
मूल्यवृद्धि र भारतमा भन्सार घटाउँदाको प्रभाव
विभिन्न कारणले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लोपटक गत चैतदेखि नेपालमा सुनको मूल्य बढ्दै आएको छ । विगतका वर्षहरूमा पनि चीन–अमेरिका व्यापार युद्ध, कोरोना महामारी, रुस–युक्रेन युद्धलगायतका कारण सुनको मूल्य बढ्दै गएको थियो । मुद्रा निष्कासनका लागि सुन पहिलो सुरक्षण वस्तु हुनु, डलर कमजोर हुनु, ठुला देशले सुन किनेर होल्ड गर्नेलगायतका कारण सुनको मूल्य बढ्दै आएको थियो ।
१५ कात्तिकमा सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो, जुन हालसम्मकै उच्च हो । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार पाँच सय रहेको छ । पछिल्लो एक वर्षमा सुनको मूल्य तोलामा ५० हजारभन्दा बढीले बढेको छ ।
तर, विगतमा सुनको खपत उच्च नै यिथो । पछिल्लो समय सुनका गरगहनाको माग ज्यादै न्यून भएको तथ्यांकले पुष्टि गरेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचन भएपछि सुनको मूल्यमा केही कमी आएको छ । तर, विगतका तुलनामा यसको मूल्य उच्च हुँदा माग भने न्यून छ ।
मागमा कमी आएपछि सुनको आयात पनि कम गरिएको बैंकरहरू बताउँछन् । नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । उनीहरूले दैनिक २० केजी सुन आयात गर्न पाउँछन् । तर, अहिले व्यवसायीहरूले सुनको माग नगरेका कारण आयात पनि कटौती गरेको नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
‘अहिले मूल्य बढेपछि सुनका गरगहनाको माग नभएको जस्तो देखिन्छ । व्यवसायीहरूबाट पनि सुनको माग एकदमै कम छ । त्यसैले आयात कटौती गरिएको छ,’ उनले भने, ‘अहिले पनि धेरै बैंकमा पुरानै सुन स्टक छ । नबिल बैंकमा पनि २० केजीभन्दा बढी सुन स्टकमा छ । त्यही सुनबाट व्यवसायीको माग पूर्ति भइरहेको छ ।’
मुख्यतः भारतले सुनमा लगाएको भन्सार दर कम गर्दा पनि आयात प्रभावित भएको उनको भनाइ छ । अहिले भारतमा सुन आयातमा ६ प्रतिशत भन्सार लाग्छ । नेपालमा सुन आयातमा लाग्ने भन्सार दर २० प्रतिशत छ । यसअघि नेपाल र भारतमा सुनमा लगाइएको भन्सार दर १५–१५ प्रतिशत थियो । तर, नेपालको पछिल्लो बजेट (१५ जेठ ०८१) मार्फत त्यसलाई बढाएर २० प्रतिशत पु¥याइयो । त्यसपछि आएको भारतको बजेटले भने सुनमा लगाउने भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित राख्यो ।
नेपाल र भारतमा तेस्रो मुलुकबाट नै सुन आयात हुन्छ । त्यो अवस्थामा भारतमा भन्सार दर घटाएपछि यसको मूल्य नेपालको भन्दा सस्तो भएको छ । त्यसैले भारतबाट अवैध सुन ल्याएर प्रयोग गरेको हुन सक्ने आशंका पनि गरिएको छ ।
‘अहिले भारतले सुनमा लगाएको भन्सार दर घटाएको छ । अहिले नेपालमा भन्दा भारतमा सुन प्रतितोला १५ हजार रुपैयाँ सस्तो भएको देखिन्छ । त्यसो हँुदा भारतबाट अवैध (भन्सार छलेर) रूपमा सुन नेपाल भित्रिएको आशंका पनि छ । नेपाल र भारतबिच खुला सिमाना भएका कारण त्यस्तो नभएको होला भन्न सकिन्न,’ उनले भने, ‘सस्तो लागतमा अवैध रूपमा सुन भित्रिएपछि भन्सारमार्फत भित्रिने सुनको परिमाण घटेको अनुमान पनि गरेका छौँ ।’
भारतमा सुन सस्तिएपछि सीमावर्ती क्षेत्रका ग्राहक गरगहना किन्न भारतमा जान थालेका छन् । त्यसले गर्दा नेपाली बजारमा सुनको माग न्यून छ । नेपालमा जति सुन खपत हुने गरेको छ, त्यसमा अवैध सुन भएको आशंका पनि गरिएको छ । नेपालका सुनचाँदी पसलमा अवैध सुन प्रयोग हुने गरेको विवरण महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले पनि देखाएको छ ।
राजस्व पनि प्रभावित
सुनको आयात घटेपछि यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि प्रभावित भएको छ । समीक्षा अवधिमा सुन आयात गर्दा सरकारलाई प्राप्त हुने राजस्व ७७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा सुन आयातबाट एक अर्ब २३ करोड १२ लाख रुपैयाँ राजस्व उठेको थियो । यसपालि २८ करोड ५५ लाख रुपैयाँ मात्रै राजस्व उठेको छ । गत आवभर भने तीन अर्ब ६४ करोड ८३ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो ।
नेपालमा दैनिक २० किलोको दरले सुन आयात गर्ने अनुमति पाएका वाणिज्य बैंकले सुन आयात नगर्दा सरकारले पाउने राजस्व नोक्सानी भएको हो । यसैबिच सुनमा लगाइँदै आएको भन्सार दर घटाउनुपर्ने माग पनि हुने गरेको छ । अवैध आयात रोक्ने र राजस्वसमेत योगदान पुग्ने गरी सुनमा लगाइँदै आएको भन्सार दर पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।