विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अडानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घुसखोरीको आरोपले ठूलो धक्का लाग्ने देखिन्छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अडानी समूहका अध्यक्षसमेत रहेका अडानी र उनको समूहलाई लागेको आरोपले केही क्षति पु¥याएको र आर्थिक पुनरागमन गर्न केही समय लाग्ने विश्लेषकले बताएका छन् ।
अडानी र उनका सहयोगीले आकर्षक सरकारी सम्झौताका लागि २५ करोड अमेरिकी डलरभन्दा बढी घुस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ । यसअघि अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको आरोपमा अमेरिकामा मुद्दा दायर गरिएको थियो । ६२ वर्षीय अडानी र उनका भतिज सागर अडानीसहित सातजनामाथि सौर्य ऊर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको आरोप लगाइएको छ ।
अडानी समूहले घुसखोरीको आरोपलाई ‘आधारहीन’ भनेको छ । तर, ‘कर्पोरेट गभर्नेन्स एड्भाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेज’का संस्थापक श्रीराम सुब्रमण्यमले यस आरोपले उनलाई ठुलो धक्का लाग्ने बताएका छन् । सुब्रमण्यमले भने, ‘उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन्, वा नयाँ सम्झौताका लागि जानेछन् ।’ उनले भने, ‘यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका लागि ठुलो धक्का हो ।’भारतका सर्वाधिक धनाढ्यमध्येका एक अडानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो । उनी प्रधानमन्त्री नरेन्द्र मोदीनिकट उद्योगपतिका रूपमा समेत चिनिन्छन् ।
न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै कंग्रेस नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका छन् भने केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन्
अभियोग पत्रमा न्युयोर्क स्टक एक्सचेन्ज (अमेरिकी जारीकर्ता) मा कारोबार भएको एक नवीकरणीय ऊर्जा कम्पनीका पूर्वकार्यकारी रञ्जित गुप्ता र रुपेश अग्रवाल तथा क्यानेडियन संस्थागत लगानीकर्ताका पूर्वकर्मचारी सिरिल क्याबानेस, सौरभ अग्रवाल र दीपक मल्होत्रामाथि विदेशी भ्रष्ट आचरण ऐन उल्लंघन गरेको आरोप लगाइएको छ ।
गत वर्ष पनि अडानीको कम्पनीमाथि ठगीको आरोप लागेको थियो । लगानीकर्तालाई आश्वस्त पार्न असफल भएपछि अडानी समूहले सेयर बजारमा अर्बौं डलर गुमाएको थियो । अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत वर्षको जनवरीमा एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौँदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो । ब्लुमबर्ग न्युजका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो । त्यस्तै, अडानी समूहका फर्मले करिब ५० अर्ब डलर गुमाएका थिए ।
आधारहीन अभियोगः अडानी समूह
अडानी समूहले अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले अडानी ग्रिनका निर्देशकविरुद्ध लगाएको घुसखोरीको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ । अडानी समूहका प्रवक्ताले यस मुद्दामा एक विज्ञप्ति जारी गर्दै सबै कानुनी उपाय अपनाइने बताएका छन् ।
‘अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले अडानी ग्रिनका निर्देशकविरुद्ध गरेको आरोप निराधार रहेकाले यसको खण्डन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । उक्त समूहले कानुनी प्रक्रियाको एउटा महत्वपूर्ण पक्षलाई थप प्रकाश पार्दै भनेको छ, ‘अमेरिकी न्याय मन्त्रालयले नै भनेझैँ मुद्दामा समूहका अधिकारीमाथि घुसखोरीको आरोप लगाइएको छ र प्रतिवादीहरू दोषी प्रमाणित नभएसम्म निर्दोष मानिन्छन् । सबै सम्भावित कानुनी उपाय खोजिनेछ ।’ ‘अडानी समूह सधैँ आफ्नो सञ्चालनको सबै क्षेत्राधिकारमा शासन, पारदर्शिता र नियामक अनुपालनको उच्चतम मानक कायम राख्न दृढतापूर्वक प्रतिबद्ध छ । हामी हाम्रा सरोकारवाला, साझेदार र कर्मचारीलाई आश्वस्त गर्छाैं कि हामी कानुनको पालना गर्ने संस्था हौँ । सबै कानुनको पूर्ण अनुपालन गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । यी आरोपबिच अडानी ग्रिन इनर्जीले यसका सहायक कम्पनीले उनीहरूको योजनाबद्ध अमेरिकी डलर–नामित बन्ड प्रस्ताव स्थगित गर्ने निर्णय गरेको स्टक एक्सचेन्जहरूलाई पनि सूचित गरेको छ । ‘यी घटनाक्रमलाई ध्यानमा राख्दै हाम्रा सहायक कम्पनीले हाल प्रस्तावित अमेरिकी डलर अंकित ऋणपत्र प्रस्तावलाई अगाडि नबढाउने निर्णय गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
आरोपबारे कंग्रेसको प्रतिक्रिया
अडानीविरुद्धको अभियोगले भारतको ऋण र निष्पक्ष बजारलाई धक्का दिएको छ । समाचार प्रकाशित भएपछि अडानी समूहको ऋणपत्रको मूल्य घट्यो । तर, बजार मूल्यमा झन्डै २७ अर्ब डलर गुमाएपछि शुक्रबार समूहका कम्पनीहरूको सेयर स्थिर भयो । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसले प्रधानमन्त्रीसँग अडानीको सम्बन्धबारे छानबिन गर्न आह्वान गरेको छ । पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले भने, ‘जब कुनै उच्चपदस्थ भारतीय व्यापारीलाई विदेशबाट अभियोग लगाइन्छ, यसले विश्वव्यापी मञ्चमा हाम्रो छवि धमिलो पार्छ ।
‘भारतीय राष्ट्रिय कंग्रेसले मोदी सरकारको प्रमुख क्षेत्रमा एकाधिकार सिर्जना गर्ने र अनुचित पक्षपाती दिएर केही व्यक्तिको हातमा सम्पत्ति केन्द्रित गर्ने नीति लागू गरी केही व्यक्तिलाई नाफा कमाउने र प्रवद्र्धन गर्ने अनैतिक व्यापारिक अभ्यासप्रति निरन्तर आपत्ति जनाउँदै आएको छ,’ खर्गेले भनेका छन् । न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै कंग्रेस नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् । कंग्रेसका वरिष्ठ सदस्य जयराम रमेशले आरोप ‘प्रधानमन्त्रीको प्रस्ट संरक्षण र दण्डहीनताका साथ गरिएको ठगी र अपराधको लामो रेकर्डसँग मेल खाएको’ बताएका छन् ।
भारतमा अडानीको बिरासत
अदानी सन् १९९० को दशकमा कोइला व्यवसायमा मनग्य रकम आर्जन गर्नेदेखि भारतको सबैभन्दा धनी र प्रभावशाली व्यक्ति बन्न पुगेका छन् । उनको अडानी समूहले रक्षा निर्माणदेखि पूर्वाधारसम्म विगत एक दशक वा सोभन्दा बढी अवधिमा व्यापक रूपमा विस्तार गरेको छ । ‘गुड विथ गुडनेस’ भन्ने नाराका साथ मार्केटिङ गर्दै हालका वर्षमा समूहले नवीकरणीय ऊर्जा क्षेत्रमा ठुलो कदम चालेको छ, । समूहसँग २० गिगावाटभन्दा बढीको स्वच्छ ऊर्जा पोर्टफोलियो छ, जसमा तमिलनाडु राज्यमा रहेको विश्वको सबैभन्दा ठुलो सौर्य ऊर्जा संयन्त्र समावेश छ ।