अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुति दिएका छन् ।
पाटन म्युजियममा आयोजना गरिएको कार्यक्रममा कला र संस्कृतिका माध्यमबाट नेपाल–अस्ट्रियाबिचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।
यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबिचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । ‘कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; सांस्कृतिक आदान–प्रदान, समझदारी निर्माण र मुलुकहरूबिचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ,’ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने ।
मनकामना केबुलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोगमा कार्यक्रम आयोजन भएको हो ।