मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
रासस गण्डकी
२o८१ मङ्सिर ९ आइतबार ११:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Read Time : > 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार ११:४४:oo

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम पोखरा–जामुनेखण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १०१ दिनको ठेक्का म्याद मंसिर २० गते समाप्त हुँदै छ । 

आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा ०७८ साल भदौदेखि काम सुरु भएको हो । 

तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुईपटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम द्रुतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । ‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर  तीव्र गतिमा काम जारी राखेको  छ,’ उनले भने ।

चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किलाेमिटर सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ भने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड– १९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए । 

पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८.८८ किलाेमिटर दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । 

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलले रु. सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किलाेमिटर लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड जामुने–मुग्लिनमा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । आँबुखैरेनी गाउँपालिका– मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किलाेमिटरमा चार लेन र पाँच किलाेमिटरमा दुई लेन सडक कालोपत्र भइसकेको बताए । 

४१.४५ किलाेमिटर लामो पूर्वी खण्डमा रु. ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ ।