गरिमा विकास बैंक लिमिटेडले ‘स्वस्थ जीवनशैली’का लागि खेलकुद भन्ने नाराका साथ १८औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित ‘गरिमा रोडरेस कम्पिटिसन–२०८१’ सम्पन्न भएको छ ।
प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोडरेस कम्पिटिसनको खुलातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल चारवटै प्रतियोगिता सम्पन्न भएको हो ।
खुलातर्फको १० किलाेमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगेर पुनः लाजिम्पाट, काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियाे।
त्यस्तै, कर्पोरेटतर्फको पाँच किलाेमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायणगोपालचोक पुगेर पुनः लाजिम्पाट काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कुल ६५० जनाभन्दा बढी धावकको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्राे, तेस्राे, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको पाँच किलाेमिटर र १० किलाेमिटर दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता भएको बताए ।
साथै, विकास बैंकले कात्तिक १४ गते नेपाल र बंगलादेशबिच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टिमविरुद्ध गर्ने प्रतिगोल एक लाख रुपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा एक गोल गरेकाले घोषणा गरेबमोजिमको एक लाख रुपैयाँ पुरस्कारसमेत आज आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ, राष्ट्रिय महिला फुटबल टिमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमसमेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोडरेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।