बालिकालाई बन्धक बनाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।पोखराको लेकसाइडस्थित स्नोल्यान्ड होटेलले सञ्चालन गरेको भिसा युथ होस्टलमा तीन बालिकालाई बन्धक बनाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले गोरखा पालुङटार गाउँपालिका–४ की ममता तामाङ, मकवानपुर बागमती गाउँपालिका–८ की रिना तामाङ र पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१० की जस्मिन ठकुरीलाई पक्राउ गरेको हो।
प्रहरीले होस्टलबाट तीन नाबालिकासहित चारजनाको उद्धारसमेत गरेको छ। आरोपीहरूले होस्टलको कोठामा बालिकालाई राखी यौन शोषणका लागि बाध्य पारेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय पोखरा बैदामबाट खटिएको टोलीले चारजनाको उद्धार गरेको हो।
प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार स्नोल्यान्ड होटेलले सञ्चालन गरेको होस्टलको कोठामा नाबालिकाहरूलाई राखी यौन शोषणका लागि बाध्य पारिएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ र चारजनाको उद्धार गरेको हो।
प्रहरीका अनुसार पीडित बालिकालाई ललाइफकाई राम्रो होटेलमा काम लगाईदिन्छु, तलब राम्रो हुन्छ, खाना, बस्नको राम्रो सुविधा छ भनेर विश्वासमा पारी बाहिरसमेत निस्किन नदिई शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएका थिए।