काठमाडौंकी सन्तोषी श्रेष्ठ र विभागीय टोली नेपाल आर्मीका मुकेश पाल गरिमा रोड रेसमा शनिबार च्याम्पियन भएका छन् । १० किलोमिटर दूरीको महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भए ।
नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिन् । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेस्रो बने । एपिएफका आशा रावत र फूलमती राना चौथो र पाँचौँ भएका छन् ।
मुकेश पुरुषतर्फ पहिलो
गरिमा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेश पुरुषतर्फ पहिलो भए । उनले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरेका थिए । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोस्रो भएका छन् । गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेस्रो भए । नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौँ स्थानमा रहन पुगे । दोस्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।
कर्पोरेटतर्फ पुरुष पाँच किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोस्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेस्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मडरल्यान्ड सेक्युरिटी प्रालिका विशाल भण्डारी तामाङले पाँचौँ स्थानमा दौड टुंग्याए । सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीषा भण्डारी, महालक्ष्मी विकास बैंककी संगीता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौँ स्थान हात पारे । चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भई पुनः त्यही आएर टुंगिएको थियो ।
विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलबापत टिमलाई एक लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।