मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ मङ्सिर ६ बिहीबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार

बाढीले बगाएको अस्पतालका लागि अस्थायी संरचना बन्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार १९:५o:oo

असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले बगाएको रोशी गाउँपालिका–१ स्थित १० शय्याको निर्माणाधीन अस्पताल भवनको अस्थायी संरचना बन्ने भएको छ। उक्त अस्पतालको पक्की भवन जेठ मसान्त ०८१ भित्र निर्माण सम्पन्न गर्ने गरी १३ चैत ०७७ मा सगुन धुलिखेल जेभीसँग सम्झौता भएको थियो। निर्माणमा केही ढिलाइ भएपछि आगामी पुस मसान्तसम्म म्याद थप गरी बाँकी काम भइरहेको थियो।  

स्वास्थ्य मन्त्रालयअन्तर्गत ६ करोड पाँच लाख २४ हजार लागतमा बनिरहेको अस्पताल हस्तान्तरणको अन्तिम चरणमा थियो। अस्पताल निर्माणमा पाँच करोड ६ लाख खर्च भइसकेको थियो। उक्त अस्पताल अहिले खहरेपाँगु प्रहरी चौकीनजिकै त्रिपालमा सञ्चालित छ।

अस्थायी संरचना निर्माणमा विश्व स्वास्थ्यकाे सहयोग
अस्पतालको अस्थायी संरचनाका लागि विश्व स्वास्थ्य संगठनले निर्माण सहयोग गर्ने भएको छ। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले अस्पतालको अस्थायी संरचना निर्माणस्थलको बिहीबार निरीक्षण गरेका छन्।

स्वास्थ्य संगठनका प्रतिनिधि प्रल्हाद दाहालका अनुसार अब १२ शय्याको अस्थायी संरचना निर्माण हुनेछ। अस्थायी संरचनामा महिला वार्ड, पुरुष वार्ड, परामर्श कोठा, कर्मचारी कोठा, पानी ट्यांकी, महिला चर्पी, पुरुष चर्पी, सोलार प्यानल र कम्पाउन्डसमेत बन्नेछ। 

अस्पताल भवन बगाए पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले अस्थायी संरचना निर्माण पहल गरेको गाउँपालिका अध्यक्ष लामाले बताए। अस्पतालको स्थायी भवन निर्माणको लागि सुरक्षित ठाउँ खोजी जारी रहेको उनको भनाइ छ। अस्थायी संरचनाबाट दुई महिनाभित्र सेवा सुरु गर्ने गरी निर्माण तयारी भएको लामाले जानकारी दिए।