१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १० सोमबार
  • Monday, 22 April, 2024
गुरुराज घिमिरे
२०७९ चैत ५ आइतबार ११:३५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आइरन ट्रयांगल, पार्क चुङ ही र नेपाल

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
२०७९ चैत ५ आइतबार ११:३५:००

सैनिक बलमा सत्ता हत्याएका पार्कलाई त देशले पत्यायो भने राम्रो गर्न थाल्ने हो भने लोकतान्त्रिक पद्धतिबाट चुनिएका राजनीतिज्ञलाई नपत्याउने कुरै छैन

जापानले दोस्रो विश्वयुद्धपछि अवलम्बन गरेको विकास रणनीतिलाई ‘आइरन ट्र्यांगल’ भनिँदो रहेछ । जसमा राजनीति, कर्मचारीतन्त्र र निजी क्षेत्रको संयुक्त प्रयासबाट देशलाई उँभो लगाउने उपाय र बाटो खोजिँदो रहेछ । तिनै क्षेत्रको समन्वय र सकारात्मक सहकार्यले मात्र देशले प्रगति गर्न सक्छ भन्ने जापानीको विश्वासले नै उनीहरूलाई सफलताको शिखरमा पुर्‍याएको रहेछ । यसै रणनीतिलाई झन्डै चार दशकसम्म जापानको अधिनमा रहेको दक्षिण कोरियाले अनुसरण गरेछ । नत्र स्वतन्त्रता र प्रजातान्त्रीकरणताका दक्षिण कोरियाभन्दा उत्तर कोरिया विकसित थियो । अहिले आएर दक्षिण कोरियाको समृद्धिसँग उत्तर कोरियाको तुलनै हुन सक्तैन ।

जापानी मोडेल अनुसरण गर्ने शासक पूर्वसैनिक जनरल पार्क चुङ ही थिए, जसले सैनिक कुमार्फत दक्षिण कोरियाको सत्ता हत्याएका थिए । आधुनिक कोरियाको जग उनैले बसालेका हुन्, जसरी आधुनिक चीनको जग देङ स्याओ पेङ, सिंगापुरको लि क्वान यु र मलेसियाको महाथिर मुहम्मदले जग बसाएको मानिन्छ । पार्क वेलावेलामा कर्मचारी र निजी क्षेत्रका उद्यमीसँग भेटघाट गरेर देश विकासको उपयुक्त बाटो र मोडलबारे विमर्श गर्दा रहेछन् । व्यापारीसँग त उनको गहिरो हिमचिम नै रहेछ, तर निजी फाइदाका लागि होइन, राष्ट्रको उन्नतिका लागि । सायद यही भेटघाट, सम्बन्ध, छलफल र परामर्शबाट जापानी मोडल अनुसरण गर्ने निचोडमा उनी पुगेको हुनुपर्छ । दोस्रो विश्वयुद्धबाट थला परेको जापानले एक दशक पनि नपुग्दै आफूलाई पूर्वावस्थामा पुर्‍याइसकेको थियो । त्यसका निम्ति सरकार (राजासहित), कर्मचारी, व्यापारी र जनताले एकसाथ काम गरेका थिए । यसको प्राथमिक सर्त भने सुयोग्य र इमानदार राजनीतिक नेतृत्व नै हो । जापानसँग त्यो उपलब्ध थियो र नै उन्नति सम्भव भयो । यसैगरी सैनिक कुमार्फत उदाएको भए पनि पार्कले राष्ट्रका लागि केही गर्छन् भन्ने जनविश्वास पैदा भइसकेको थियो । यसैलाई नेतृत्व क्षमता मानिन्छ ।

उनीसँग चौबीसै घन्टा विशेषज्ञसहितको हेलिकोप्टर तैनाथ हुँदो रहेछ, आवश्यकताअनुसार जुनसुकै वेला जहाँसुकै पुग्नका लागि । हाम्रोतिर त राजनीतिज्ञ र कर्मचारी या व्यापारी निजी स्वार्थका खातिर मात्र मिल्छन्, धन्दा आआफ्नै हुन्छ । राष्ट्र निर्माण कसैको प्राथमिकतामा पर्दैन । तर, पार्क भने आवश्यकताअनुसार कर्मचारी, व्यापारी, उद्योगी र व्यवसायीसँग डिनर–लन्च गरिराख्दा रहेछन् । यसले उनलाई अभाव र संकटमा पनि अघि बढ्न उत्साह प्राप्त हुने र विकासको नयाँ–नयाँ विकल्प भेट्टाउन सहज हुने रहेछ । 

पार्कको शासनसँगै पञ्चवर्षीय योजना सुरु हुँदा दक्षिण कोरियाका जनताको प्रतिव्यक्ति आय ९० डलरभन्दा कम थियो । न उद्योगधन्दा, न बाटोघाटो, न रोजगारी, लगभग कोरियासँग केही पनि थिएन, मात्र चरम गरिबी थियो । बल्लतल्ल सन् ७० को दशकमा प्रतिव्यक्ति आय एक हजार डलर पुगेको हो । पार्कलाई मानिस तानाशाह अर्थात् ‘डिक्टेटर’ पनि भन्छन्, तर उनी निर्विवाद रूपमा आधुनिक कोरियाका निर्माता हुन् । वित्तीय संस्थाहरू जस्तो, विश्व बैंकले ऋण लगानी गर्न आनाकानी गरेको वेला उनले राष्ट्रको कुल बजेटको ६० प्रतिशत खर्च गरेर झन्डै चार सय १६ किमि लामो सोल–बुसान हाइवे निर्माण गरेका रहेछन् । देशलाई व्यापक औद्योगीकरणमार्फत् विकासमा तीव्र गति पक्रेको कोरियाका हुन्डाई, एलजी, सामसुङ, कियालगायत मोटर र इलेक्ट्रोनिक कम्पनीले संसारभर तहल्का मच्चाए । दक्ष कामदार निर्यात गरेर होस् वा आफ्ना ठेक्का कम्पनीको विश्वसनीय काममार्फत होस्, कोरियनहरूले विश्वव्यापी साख र प्रतिष्ठा आर्जन गरे । यसको श्रेय पार्कलाई नै जान्छ । एउटा दह्रो र उच्च आत्मविश्वास भएको नेता पाएको खण्डमा राष्ट्रले कति छिटो प्रगति गर्न सक्छ भन्ने उपयुक्त दृष्टान्त दक्षिण कोरिया हो । उनको अद्भूत नेतृत्व क्षमताका कारण सम्पूर्ण राष्ट्रलाई एकढिक्का बनाएर प्रगति हासिल गरे । पार्कसँग सपना र त्यसलाई पूरा गर्ने कार्यसूचीसहितको अठोट दुवै थियो ।

हामीले अहिलेसम्म अपनाएको विकासको शैली अनुपयुक्त छ । पैसा छर्ने प्रवृत्ति गलत छ । यस ढंगले नेपाल कहीँ पनि पुग्दैन । नेता, कर्मचारी र व्यवसायीको मिलेमतोमा साधनस्रोत दुरुपयोग भइरहन्छ । संसार अघि बढ्छ, हामी जहाँको त्यहीँ रहन्छौँ, अझ पछि पर्छौं ।
 

अब नेपालतिर फर्कौं । गत निर्वाचनपछि देशमा देखिएको राजनीतिक उतारचढावले जनताको मन खिन्न त छ नै साथै उदास पनि । संसद्मा कुनै राजनीतिक दलको बहुमत छैन । निर्वाचनको समयको गठबन्धन भत्किएर सरकार बन्यो भने राष्ट्रपतीय चुनावमा पुनः पुरानै गठबन्धन ब्युँतिएको छ । अबका केही दिनमा सरकार विस्तार हुने र एमाले, राप्रपालगायत केही दलबाहेकका अन्य दल मन्त्रिपरिषद्मा सामेल हुने सम्भावना छ । र, यी प्राविधिक पाटो मिलाउँदैमा झन्डै ६ महिना बित्ने सम्भावना देखिँदै छ । यो काम गर्ने चाल र शैली होइन । त्यसपछि भागबन्डाअनुसार प्रचण्डसँग डेढ वर्ष मात्र बाँकी रहन्छ । पछिल्लो ६ महिना ‘आउटगोइङ’का नाममा काम हुँदैन र नयाँ नेतृत्व आउन केही दिन लाग्छ । यसैगरी अर्को नेतृत्व पनि आउँछ । पाँच वर्षमा तीन–तीनवटा सरकार बन्छन् । अन्तिम सरकारले फेरि चुनाव गराउने मुख्य काम छँदै छ । देशमा सामान्य अवस्था रहेमा सानातिना काम होलान् । तर, कथंकदाचित् राजनीतिक गन्जागोल पैदा भएमा परम्परागत शैलीले कुनै ठूलो काम सम्भव छैन ।

पार्कले सबै देशवासी खासगरी कर्मचारी र उद्यमी व्यवसायीलाई ‘आउनोस् हामी सबै मिलेर देश बनाऊँ, म पनि स्वार्थमा लाग्दिनँ, तपाईं पनि नलाग्नुस्, म पनि खान्नँ, तपाईंहरू पनि नखानुस्’ भनेर खुला आह्वान गरे । दक्षिण कोरियाको विकासको सूत्र नै यही भयो । हामीभन्दा गरिब देश आज कहाँ छ, हामी कहाँ छौँ । माध्यमिक विद्यालय पढ्दै गरेको एउटा किशोर वा किशोरीलाई प्रश्न गर्दा उनीहरू राज्यप्रति निराशा र आक्रोश व्यक्त गर्छन् । उनीहरूको एउटा खुट्टा परदेशतिर लम्किसकेको हुन्छ । मन उतै पुगिसकेको हुन्छ । यस्तो अवस्थाबाट देशलाई  कहिले र कसले जोगाउने ? गहिरो चिन्ताको विषय छ ।

यसपटक बनेको गठबन्धन निरन्तर कायम रहने हो भने देशका लागि सुनौलो मौका छ । के गठबन्धन दलका नेताहरूको ध्यान घोर निराशामा डुबेको नेपाली समाजमा आशा जगाउनेतर्फ केन्द्रीकृत हुनुपर्ने होइन र ? आजसम्म त हुँदै भएन, अब हुने कि नहुने । दलभित्र वाक्युद्ध, अन्तरपार्टी र नेता–नेताबीच दोषारोपण र मपाईंत्व, जनताका दैनिकीप्रति उदासीनताजस्ता दुःखद यथार्थले जनता विरक्त छन् र नयाँ पुस्ता लगातार पलायन हुँदै छ । यो खतरनाक संकेत हो । देशको समृद्धिका लागि पसिना बगाउनुपर्ने युवापुस्ता निराश भएर जीवन धान्न मुग्लान भासिनुपर्ने नियति साँच्चै कारुणिक र हृदयविदारक छ । यसले राजनीतिक नेतृत्वलाई पोल्छ कि पोल्दैन ? त्यसैले अबका दिन आफ्नो छवि सुधारेर देशका लागि केही गर्छु भन्ने हो कि होइन ?

सबभन्दा पहिले हामी देशका लागि केही गर्छौं भनेर जनतालाई विश्वास दिलाउनुस् । आफ्नो जीवनलाई पारदर्शी र नैतिक मूल्यमा आधारित बनाउनोस् । राजनीतिक दललाई सबै सदस्यको साझा बनाउनोस् । देश र दलमा दण्ड एवं पुरस्कारको थिति बसाल्नोस् । केही ठोस र राम्रो सुरुवात गर्नोस् । जनतामा आशा जगाउन एउटा झिल्को नै काफी हुन्छ । देशको सामथ्र्य र कमजोरी हेरेर विकासको खाका कोर्नु उपयुक्त हुन्छ । ढिलो विकास भएका चीन, मलेसियाजस्ता देशको विकासको आधार शिक्षा हो । देङ र महाथिरले विश्वमा नाम चलेका शिक्षण संस्थामा नयाँ पुस्ताका आफ्ना नागरिकलाई उच्च शिक्षा दिलाए । त्यही जनशक्तिले फर्केर देशको धरातलीय यथार्थमुताबिक विकास रणनीति तयार गरे र आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर देश बनाए । मूल कुरा त्यहाँको राजनीतिक नेतृत्वले देशका लागि इमानपूर्वक आफूलाई समर्पण गर्‍यो । प्रभावकारी विकास रणनीति, उच्च नैतिक मूल्य र दिनरातको मिहिनेतले राष्ट्रको उन्नति हुन समय लागेन । यी दृष्टान्तबाट हामीले सिक्ने कि नसिक्ने ? वर्तमान गठबन्धनले ध्यान दिने कि नदिने ?

नेपाललाई यतिवेला उद्धारको आवश्यकता छ । सामाजिक सद्भाव बिथोलिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदामाथि निरन्तर आक्रमण छ । राजनीतिक नेतृत्वप्रति अविश्वास छ । युवा जनशक्ति निराश र हतास छ । नेपाली समाज क्रमिक रूपमा वृद्धाश्रममा परिणत हुँदै छ । गरिबको उपचार गर्ने न अस्पताल छन्, न पढाउने स्कुल । किसानलाई मल, बिउ र सिँचाइ छैन । सुकुम्बासीलाई घरबास छैन । रोजगारको अवसर छैन, नागरिकलाई जीविकाको आधार छैन । महिलाको सुरक्षा र श्रमजीवीलाई संरक्षण छैन । हामी महाविपत्तिको डिलमा छौँ । यसबाट जोगिने कसरी ? तारनहार को हुने ? उद्धारक को हो ?

तसर्थ राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नोस् र समयको पूर्ण सदुपयोग गर्नोस् । सैनिक बलमा सत्ता हत्याएका पार्कलाई त देशले पत्यायो भने राम्रो गर्न थाल्ने हो भने लोकतान्त्रिक पद्धतिबाट चुनिएका राजनीतिज्ञलाई नपत्याउने कुरै छैन । अहिलेसम्म जनताको मन जित्न सक्नुभएन । अब पनि राम्रो सुरुवात नहुने हो भने सूचकहरू सकारात्मक छैनन् ।

हाम्रा विकासका प्राथमिकता के के हुन् ? हामीसँग उपलब्ध साधनस्रोत कति छन् ? जुटाउनुपर्ने कति हो ? काम गर्ने संयन्त्र कुन हो ? मूल कुरा त हामी विकासमा कहाँ छौँ ? हाम्रो विकासको मोडल उपयुक्त छ त ? एकै शब्दमा भन्दा हामीले अवलम्बन गरेको विकास मोडेल बिलकुल ठिक छैन । हामी पहुँच र हैसियत प्रयोग गरेर रकम विनियोजन गर्छौं र आआफ्नो क्षेत्रमा अन्धाधुन्ध खर्च गर्छौं । यो गलत शैली हो । अपवादलाई छाडेर कुनै पनि काम गुणस्तरीय हुँदैन । त्यस कामबाट कसले कति खाने भनेर हिसाब गर्छौं र लटरपटर काम सक्छौँ । तीसौँ वर्षदेखि यस्तै चलिरहेको छ । राष्ट्रिय गौरवका आयोजना बेवारिसे छन् । एउटा गतिलो क्रिकेट मैदान छैन । निर्वाचनका वेला पहाडका टुप्पा–टुप्पामा बाटो, बिजुली, स्कुल, अस्पताल सबै हुन्छ भनेर जनतालाई आश्वासन दिन्छौँ । पाँच वर्ष केही हुँदैन । पहिलो कुरा त त्यस्तो आश्वासन नै गलत हो । अहिलेसम्म हामीले अपनाएको विकासको शैली नै अनुपयुक्त छ । पैसा छर्ने प्रवृत्ति गलत छ । यस ढंगले नेपाल कहीँ पनि पुग्दैन । नेता, कर्मचारी र व्यवसायीको मिलेमतोमा साधनस्रोत दुरुपयोग भइरहन्छ । संसार अघि बढ्छ, हामी जहाँको त्यहीँ रहन्छौँ, अझ पछि पर्छौं ।

त्यसैले वर्तमान गठबन्धनले नेपाललाई नयाँ युगमा प्रवेश गराउन इमानदार कोसिस गर्ने हो भने सम्भव छ । कम्तीमा असल सुरुवात त गर्ने सकिन्छ नि ! राजनीति, कर्मचारीतन्त्र र निजी क्षेत्रको संयुक्त प्रयास र मिहिनेतलाई अघि बढाउनुको कुनै विकल्प छैन । यसलाई जापानी या कोरियन जुन मोडेलको नाम दिए पनि हुन्छ । यस्तो होला भन्ने आशा छ त छैन, तथापि सुझाब हो यो । फेरि पनि पुरानै कामचलाउ र तदर्थवादी शैली अख्तियार गर्ने हो भने ठोकेर भन्न सकिन्छ कि नेपाल उँभो लाग्दैन । एउटा पूर्ण नागरिक बन्न नसकेको नेपालीको अरण्यरोदन मात्र हुन सक्छ ।