मालिक पाइलटलाई हेलिकोप्टरको व्यावसायिक उडानमा रोक, उडान नियमन गर्न कमिटी गठन, हेलिकोप्टरको उडान वा अवतरण बिन्दुमध्ये एक स्थान अनिवार्य रूपमा विमानस्थल हुनुपर्ने
चार महिनामा कहाँ कहाँ भए दुर्घटना ?
- २६ असारमा सोलुखुम्बुमा मनाङ हेलिकोप्टर दुर्घटना, ६ को मृत्यु
- २२ वैशाखमा संखुवासभामा सिम्रिक हेलिकोप्टर दुर्घटना, एकको मृत्यु
- २५ चैतमा ह्याम्स अस्पतालमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना
- २६ चैतमा धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट दुर्घटना, क्याप्टेन घाइते
नेपालमा पछिल्लो समय अत्यासलाग्दो रूपमा हेलिकोप्टर दुर्घटना बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षित बनाउन भन्दै नयाँ नियम जारी गरेको छ । २०२३ मै चारवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । जसमध्ये दुईवटा दुर्घटनामा मानवीय क्षति भएको छ ।
एकपछि अर्को हेलिकोप्टर दुर्घटनामा पर्न थालेपछि क्यानले हवाई सुरक्षा बढाउन कडाइ गर्न लागेको हो । पछिल्लो सात महिनामा हेलिकोप्टर दुर्घटनाबाट सातजनाले ज्यान गुमाएका छन् । हेलिकोप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउने उद्देश्यसहित क्यानले बुधबार तत्कालै लागू हुने गरी पाँचवटा निर्णय गरेको छ । क्यानले हेलिकोप्टर तथा दुर्गम (स्टल) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रूपमा अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्न विशेष टोली गठन गर्ने निर्णय गरेको हो । सरोकारवाला क्षेत्रका प्रतिनिधि सहभागी रहने टोलीले हेलिकोप्टर र दुर्गम उडानको दैनिक अनुगमन तथा नियन्त्रण गर्नेछ ।
हेलिकोप्टर उडानका लागि अहिले विभिन्न विमानस्थलबाट भइरहेको अनुमति मनसुन अवधिभर (सेप्टेम्बरसम्म) साप्ताहिक रूपमा समीक्षा गरी क्यानको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय गरिएको छ । अब उद्धार उडानको अनुमति पनि क्यानको प्रधान कार्यालयबाटै प्रदान हुने भएको छ । यी सबै उडानको साप्ताहिक रूपमा समीक्षा गरेर हवाई सुरक्षा बढाउने काम हुनेछ ।
हेलिकोप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान बिन्दु वा अवतरण बिन्दुमध्ये कम्तीमा एक ठाउँमा विमानस्थल हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै एउटा एयरपोर्टबाट उडेको हेलिकोप्टर टावरसँग समेत सम्पर्क नगरी दिनभर उडाउने र साँझ मात्र पार्किङ गर्न विमानस्थलमा फर्काउने प्रवृत्तिलाई रोक्न क्यानले यस्तो निर्णय गरेको हो । अब हेलिकोप्टरका पाइलटले उडान वा अवतरणमध्ये एक काम अनिवार्य विमानस्थलमा रहेको हेलिपोर्टमा गर्नुपर्नेछ । क्यानले चालू मनसुन अवधिभर (सेप्टेम्बरसम्म) विशेष प्रकृतिका हेलिकोप्टर उडान माउन्टेन फ्लाइट, सिलिङ उडान (सामान झुन्डाएर गरिने उडान) र पुष्पवृष्टि उडानहरू सञ्चालन गर्न निषेध गरेको छ । बर्सातको समयमा पानी परेका वेला यस्ता उडान गर्दा जोखिम बढ्ने क्यानको ठहर छ ।
यस्तै, क्यानले हेलिकोप्टर कम्पनीको मालिकसमेत रहेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ । सेयरधनी लगानीकर्ताका रूपमा हेलिकोप्टर कम्पनीको सञ्चालक रहेका र अहिले उडानसमेत गर्दै आइरहेका हेलिकोप्टर चालकलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय भएको क्यानले जनाएको छ । आफैँ सञ्चालक रहेका पाइलटले हेलिकोप्टर उडाउँदा लागत घटाउनका लागि सर्ट रुटमा उडान गरी जोखिम मोल्ने गरेको क्यानको ठहर छ ।
२६ असारमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसअघि २२ वैशाखमा अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री झारेर फर्किंदा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिकाको सिप्रङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा पाइलटसहित चारजना यात्रु घाइते भएका थिए । गत २५ चैतमा एयर डाइनेस्टीको हेलिकोप्टर ९ एन–एजेडी ह्याम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा ‘टेल स्ट्राइक’ भएको थियो । हेलिकोप्टरको टेल रोटर मात्र भाँचिएको हुँदा पाइलटलाई कुनै चोटपटक लागेको थिएन । अर्को दिन २६ चैतमा हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि बेसक्याम्पमा दुर्घटनामा परेको थियो । कार्गो बोकेको हेलिकोप्टर हवाहुरीका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा क्याप्टेन प्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् ।
अहिलेसम्म विभिन्न स्थानमा ४१ हेलिकोप्टर दुर्घटनामा परेका छन्, जसमा सयजनाभन्दा बढीको मृत्यु भएको छ । कुल हेलिकोप्टर दुर्घटनामध्ये २० दुर्घटनामा मानवीय क्षति भएको छ भने २१ दुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भएका छन् ।
हवाई सुरक्षामा खेलाची गरिनुहुन्न : ज्ञानेन्द्र भुल, सूचना अधिकारी, क्यान
हेलिकोप्टर सेवामा व्यावसायिक व्यावहारिकता र सुरक्षाको सन्तुलन कायम गर्नुपर्छ । हवाई सुरक्षामा ध्यान दिँदा व्यावसायिक पक्ष पनि हेरिनुपर्छ । व्यावसायिक पक्ष मात्र हेरेर सुरक्षामा खेलाची पनि गरिनुहुन्न ।
हवाई यात्राबाट कोही पनि मर्न नपरोस् भन्ने उद्देश्य राखेर पाँचवटा निर्णय गरेका छौँ । तत्कालका लागि मनसुन अवधिभर ट्रायलका रूपमा नयाँ नियम लागू गर्छौँ । हाम्रोजस्तो हिमाली र पहाडी भूभागमा मनसुनमा पूर्वी र पश्चिमी वायुको मिक्स प्रभाव हुने भएकाले कहाँ कति वेला हावा लाग्छ, पानी पर्छ, असिना पर्छ त्यो पूर्वानुमान गर्न कठिन हुन्छ ।
हवाई दुर्घटना भएर कसैको ज्यान जान्छ भने त्यो स्वीकार गर्न सकिँदैन । थोरै वायुसेवा कम्पनी नै किन नहोस्, आर्थिक ब्याकअप भएको, प्रोफेसनल म्यानपावर राख्न सक्ने, प्राविधिक रूपमा सक्षम, व्यावसायिक मिसन र भिजन भएको कम्पनी हुनुपर्छ । पान पसल खोलेजसरी उड्डयन व्यवसाय चल्दैन ।