चन्दननाथ नगरपालिका– ४ मालाभिडका रामदत्त देवकोटा भैँसीपालक हुन्। उनले भैँसीको दूध बेचेरै घरखर्च चलाउँदै आएका थिए। उनका घरमा दैनिक सात–आठ लिटर दूध उत्पादन हुन्थ्यो। बजारमा दूध बिक्री गर्ने र भैँसीको लालनपालन गर्दै उनको दैनिक बित्थ्यो।
तर, १८ असारमा उनको लैनोभैँसी मरेपछि देवकोटा बेखर्ची भएका छन्। चराउन लेगेको भैँसी एक्कासि मर्याे। लम्पी स्किन रोगकै कारण लैनोभैँसी गुमाउनुपरेको उनले बताए।
उनको भैँसी मर्नुभन्दा केही दिनअघि लम्पी स्किन रोग जुम्लामा पनि देखिएको थियो। रोग आएको थाहा पाएपछि असार १७ गते भैँसीलाई सुई लगाउन भनेर पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामा लगे। सुई लगाउने कर्मचारी नभेट्टाएपछि घर फर्किएका रामदत्तले त्यसको भोलिपल्ट ५८ हजार रुपैयाँ हालेर किनेको लैनोभैँसी गुमाए। उनले भने, ‘अब कसरी घरखर्च चलाउने हो समस्यामा परेको छु।’
भैँसी मरेकै भोलिपल्ट अर्थात् असार १९ गते जोत्ने गोरु (बल्ल) पनि मरेको उनले बताए। उनले भने, ‘जोत्ने बल्ल पनि मर्यो, लैनोभैँसी पनि मर्यो।’ गाईभैँसीको बिमा गर्ने कार्यक्रम जुम्लामा लागू भए पनि आफूले बिमा नगरेको उनले बताए।
उनीजस्तै धेरै पशुपालक कृषक लम्पी स्किन रोग जिल्लामा फैलिएको खबरले चिन्तित छन्। जुम्लामा १२ हजार दुई २९ पशुमा यो रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। कार्यालयका अनुसार अहिलेसम्म ३४ वटा गाईगोरु मरेका छन्। संक्रमितमध्ये एक हजार सात पशुको मात्रै उपचार गरिएको जनाएको छ।
जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। ’जिल्लाको सबै क्षेत्रमा लम्पी स्किन रोग फैलिएको देखियो। पशु प्राविधिकहरू गाउँबस्तीमा खटिएर रोकथामको उपायहरू अपनाइरहेका छन्,’ पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले भने।
‘रोग नलाग्दै अगाडि रोकथाम गर्नुपर्ने हो। त्यो वेला मन्त्रालयले खोप पठाएन। अहिले नियन्त्रणभन्दा बाहिर गइसकेको छ। यहाँ भएको केही खोप स्थानीय तहमा पठाएको छु,’ प्रमुख बुढ्थापाले भने, ‘६ हजार डोज खोप माग गरेको छु। प्राप्त भएको छैन। असार मसान्तमा सबै बजेट खर्च भएको वेलामा यो रोग फैलियो। यो विषयमा पनि स्थानीय तहका जनप्रनितिधिसँग पनि कुरा भइरहेको छ। आपतकालीन कोषबाट यसको रोकथाम र उपचारका लागि मन्त्रालयदेखि स्थानीय तहसम्म समन्वय भइरहेको छ।’
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी कनकासुन्दरी, सिजा, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका गाईगोरुमा संक्रमण फैलिएको छ।
यो संक्रमण भएको अवस्थामा गाईगोरुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक तरल पदार्थ आउने, र्याल काढ्ने, खुट्टा सुन्निने, शरीरमा फोका आउने लक्षण देखापर्ने गरेको छ।