- ड्राइभिङ सिक्न कहिल्यै हतारो गर्नुहुँदैन । पर्याप्त समय लिएर धैर्यका साथ सिक्नुपर्छ । सामान्यतया २५ घन्टा सैद्धान्तिक र २५सै घन्टा प्रयोगात्मक रूपमा ड्राइभिङ सिक्नुपर्ने मान्यता छ । जसका लागि करिब एक महिना समय चाहिन्छ । यति समयमा पूर्ण रूपमा सिक्न सकिन्छ ।
- प्रशिक्षक चयनमा विशेष ध्यान दिनुपर्छ । सवारीचालक अनुमतिपत्र प्राप्त गरेको १० वर्ष पूरा भएको व्यक्ति वा यातायात व्यवस्था विभागबाट स्वीकृति पाएको प्रशिक्षकसँग सिक्नु राम्रो हुन्छ ।
- कार चलाउन सिक्नुभन्दा पहिला कारको बारेमा पूर्ण जानकारी लिनु जरुरी हुन्छ । कारमा रहेका एक्सिलेटर, ब्रेक, क्लच, स्टेरिङ, गियर, लाइट, पावरजस्ता विषयको जानकारी लिनुपर्छ । कुन पार्टले के काम गर्छ भन्ने कुरा पहिले नै थाहा पाएर चलाउन सिक्दा सजिलो र सुरक्षित हुन्छ ।
- पहिलोपटक कारको सिटमा बस्दा असहज महसुस हुन सक्छ । सबैभन्दा पहिला बसाइको व्यवस्थापन गर्न आवश्यक हुन्छ । यसबाहेक सिकारूमा गाडीको साइज सडकजत्तिकै छ भन्ने पनि भान पर्न सक्छ । तसर्थ, गाडीको साइजबारे पहिले नै जानकारी हुनुपर्छ ।
- कार चलाउन सिक्दा प्रशिक्षकले भनेको कुरा अनुशरण गर्न आवश्यक छ । आफूले सवारी चलाउने सडकका विषयमा पूर्ण जानकारी लिनुपर्छ ।