आज मतदान, ‘फ्लोर क्रस’ गराउन चलखेल गरेको विपक्षीको आरोप
संघ र ६ वटा प्रदेशमा सत्ताबाट बाहिरिएको एमालेले अन्तिम ‘किल्ला’का रूपमा रहेको कोसी प्रदेश सरकार बचाउन ‘निर्णायक’ प्रयास गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तिम समयमा सत्ता जोगाउन संसद् छलेका छन् । मंसिरको निर्वाचनलगत्तै चार प्रदेशमा नेतृत्व गरे पनि समीकरणमा फेरबदलसँगै एमालेले तीन प्रदेश सरकार गुमाइसकेको छ ।
प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका उनी मत विभाजनको समयमा संसद्बाट बाहिरिएका थिए । उनी फर्केर नआएपछि अनिश्चितताबीच कोसी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । एक सांसदको समर्थन जुटाउन सके एमालेलाई सरकार बचाउन सम्भव हुनेछ ।
तत्कालीन सत्ता सहयात्री माओवादी र जनता समाजवादी सरकारबाट बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार संसद् बैठक आह्वान गरिएको थियो । बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रदेश सभामा पेस पनि गरे । उक्त प्रस्तावपछि मुख्यमन्त्री कार्कीले बैठकमा मत मागे ।
संसद्मा सहभागी दलका प्रतिनिधिले उक्त प्रस्तावमाथि आफ्ना विचार राखेपछि साँझ साढे ५ बजे आधा घन्टाका लागि स्थगित भयो । बैठकको कार्यसूचीअनुसार त्यसपछि मत विभाजनको समय थियो । तर, मुख्यमन्त्री र सरकारका अन्य मन्त्री संसद्बाट बाहिरिएपछि कार्यसूचीअनुसार संसद् अघि बढ्न सकेन ।
‘मुख्यमन्त्रीले विश्वासको मत मागेपछि अन्य दलका प्रतिनिधिले बोल्नुभयो । त्यसपछि मुख्यमन्त्रीकै आग्रहमा आधा घन्टा बैठक स्थगित भयो । बैठक सुरु हुँदा मुख्यमन्त्रीले बोल्ने अनि मत विभाजनमा जाने भन्ने सहमति थियो । तर, आधा घन्टापछि यहाँले दुई घन्टाको समय माग्नुभयो । त्यसपछि ८ बजेसम्मलाई बैठक स्थगित गरियो,’ कोसी प्रदेशका सभामुख बाबुराम गौतमले भने, ‘८ बजे पनि नआएपछि हामीले कुर्यौँ । साढे ८ बजेपछि उहाँले मलाई तयारी गर्न समय पुगेन भोलि गरौँ भन्नुभयो । त्यसपछि ९ बजेसम्म बसेर सबै दलसँग सल्लाह गरेर शुक्रबार ११ बजे बैठक बोलाएका छौँ । विश्वासको मतका समय मुख्यमन्त्रीले नै दिनुभएको थियो । उहाँले भनेको मितिमा विश्वासको मत लिन सक्नुभएन ।’
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीले हारको मानसिकताबाट संसद छल्न खोजेको आरोप लगाए । ‘मत विभाजनको समय निश्चित भएपछि सदनको कार्यसूची छाडेर मुख्यमन्त्री त्यसरी जान हुने थिएन । उहाँले ठीक गर्नु भएन । हामीले मुख्यमन्त्रीको यो शैलीलाई आपत्ति मान्यौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘उहाँले विश्वासको मत लिन्छु भन्ने विश्वास लिएर आउनु भएको रहेछ । त्यो अवस्था सदनमा नदेखिएपछि हारको मानसिकता बोकेर उहाँ निस्कनु भयो ।’
थापाले मुख्यमन्त्री कार्की गठबन्धन दलमा खेलेर सांसदलाई ‘फ्लोर क्रस’ गराउने योजनामा रहेको आरोप लगाए । उक्त योजना सफल नहुने भएपछि संसद नै छाडेर हिँडेको उनको आरोप छ । ‘गठबन्धन दलभित्र कहीँ कतै फ्लोर क्रस गराउन सकिन्छ कि भन्ने एउटा सोच मुख्यमन्त्रीमा रहेछ । त्यो पूरा नहुने भएपछि संसद छाड्नुभयो,’ उनले भने ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री कार्कीले समय सार्दा केही चलखेल गरेर बहुमत पुर्याउन सकिन्छ कि भन्ने मानसिकताले बैठक छाडेको आरोप लगाए । तर, कुनै हालतमा सफल नहुने उनले बताए । आङ्बोले संसद छाडेर मुख्यमन्त्री कार्कीले संसदको अपमान गरेको आरोप लगाए । ‘मुख्यमन्त्रीले संसदको अपमान र सभामुखले दिएको समयको दुरूपयोग गर्नुभयो,’ उनले भने, ‘यो संसदीय व्यवस्थाकै भद्दा मजाक हो । संसदमा विश्वासको मत मागेर मुख्यमन्त्री भाग्ने गलत परम्पराको विकास भयो ।’
एमाले संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले संसदमा बोल्ने सांसदले सरकारबारे प्रश्न गरेकाले उठेका प्रश्नको जवाफ तयार गर्न मुख्यमन्त्रीले समय मागेको बताए । ‘संसदमा विभिन्न मन्त्रालयको बारेमा प्रश्न गरियो । उठेका प्रश्नको जवाफ तयार पार्न मुख्यमन्त्रीले समय माग्नुभएको हो,’ उनले भने, ‘बिहीबार रात परेकाले सबै मन्त्रालय बन्द हुँदा तयार गर्न सकिएन । शुक्रबार तयार गरेर संसदमा जवाफ दिनुहुन्छ । त्यसपछि राजीनामा दिने कि संसद फेस गरेर जाने भन्ने निर्णय हुन्छ ।’ प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने विश्वास नरहेको बताए । यद्यपि झिनो आसा भने बाँकी रहेको उनको भनाइ छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत मागेपछि बोल्दै कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिन नसकिने बताएका थिए ।
बहुमतका लागि दुवै पक्षलाई एक–एक सांसद अपुग
९३ सांसद रहेको कोसी प्रदेशमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । तर, अहिले अंकगणित एक सांसदमा गएर अड्किएको छ । सभामुखबाहेक दुवै पक्षसँग ४६–४६ सांसद छन् । अहिले एमाले नेतृत्वको सरकारमा राप्रपाको साथ छ । एमालेका ४० र राप्रपाका ६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सोही हाराहारीमा संख्या छ । कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् ।