बंगलादेशमा जुन महिनामा डेंगुका घटनामा उल्लेख्य वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार ७३२ जनामा डेंगुको संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।
बंगलादेशमा यस वर्ष डेंगुका बिरामीको संख्या सात हजार ७५४ पुगेको छ। स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कुल १४५ जना डेंगुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगुका कारण मंगलबार दुईजनाको मृत्यु भएको छ भने जुन महिनाभरमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा ६ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ।
बंगलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेंगुको संक्रमण देखिएको थियो तर जुनमा यो संख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेंगुको संक्रमण देखिएको थियो।
सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट ६ हजार २९७ जना डेंगुका बिरामी उपचार पछि घर फर्केका छन्। बंगलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ।
लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेंगु ज्वरोको मौसम हो। बंगलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ। (सिन्ह्वाकाे सहयाेगमा)