Skip This
संरचना तयार भएको चार वर्षसम्म पनि सञ्चालनमा आएन देशकै पहिलो खुला कारागार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Friday, 20 September, 2024
२o८o असार १० आइतबार o८:४२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संरचना तयार भएको चार वर्षसम्म पनि सञ्चालनमा आएन देशकै पहिलो खुला कारागार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार o८:४२:oo

बाँकेको गनापुरमा १२ वर्षअघि नै तयार प्रशासनिक भवनसहित चार वर्षअघि सम्पन्न कारागार भवन सञ्चालनमा नआउँदा जीर्ण बन्दै, कार्यविधि नबन्दा हुन सकेन सञ्चालन 

साढे दुई तलाको १८ कोठे प्रशासनिक भवन १२ वर्षअघि नै तयार भएको थियो । कैदी राख्नका लागि १८–१८ कोठाका दुई कारागार भवन बनेको पनि चार वर्ष भइसक्यो । तर, कार्यविधि नबन्दा बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार सञ्चालन नआउँदै जीर्ण बन्न थालेको छ । 

दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित सर्तका आधारमा राख्न खुला कारागारको अवधारणा ल्याइएको हो । तर, कारागारका सम्पूर्ण संरचना तयार भए पनि कार्यविधि नभएकाले सञ्चालनमा ल्याउन नसकेको बाँके जिल्ला कारागारका जेलर अर्जुनजंग शाहले बताए । ‘सञ्चालन कार्यविधि नबन्दै हतारमा भौतिक संरचना निर्माण गर्दा खुला कारागारको संरचना बेवारिसे अवस्थामा छ,’ उनले भने ।

खुला कारागारका दुई भवन पौने दुई करोडमा तयार भएका थिए, जहाँ १२ शौचालय छन् । प्रशासनिक भवनदेखि कारागार भवन सुरक्षाका लागि एक चौकीदार खटाइएको छ । तर, वर्षौँसम्म प्रयोगविहीन बनेका संरचना एक चौकीदारले संरक्षण गर्न सक्ने अवस्था छैन । बरु, केही समयअघिसम्म उनले कारागार भवनमा बाख्रा बाँध्ने गरेका थिए । चौकीदार जगराम चौहानले भने, ‘भवन प्रयोगमा नआएकाले केही समयका लागि शौचालयलगायत अन्य कोठामा बाख्रा बाँधेको हो,’ उनले भने, ‘प्रशासनिक भवनको भित्तामा गरेको प्लास्टर झर्न थालेको छ ।’ 

दिनभर त्यहीँ खेतीपाती गर्ने, बेलुका खुला कारागारमा हाजिर हुनुपर्ने प्रबन्ध
दुईतिहाइ कैद भुक्तान गरेका र आचरण सुधार भएका कैदीलाई निश्चित सर्तका आधारमा राख्ने अवधारणाअनुसार खुला कारागार निर्माण गरिएको हो । खुला कारागारका संरचना तयार गरिएको ठाउँमा ६ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ । कारागारमा राखिएका कैदीलाई उक्त जमिनमा खेती गर्न दिने नीति सरकारको छ । सरकारले जमिनमा तारबारसमेत गरेको छ । 

‘कैदीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने तथा त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो,’ बाँके जिल्ला कारागारका जेलर अर्जुनजंग शाहले भने । 

उनले विभागबाट निर्देशन र कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको बताए । ‘अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राख्ने भनिएको थियो । सञ्चालनमा नआउँदा निर्माण भएका संरचना संरक्षण गर्न गाह्रो भएको छ,’ उनले भने, ‘चौकीदारलाई दिने रकमसमेत हामीसँग छैन । संरक्षण कसरी गर्नु ?’ 

साढे ४८ करोडमा निर्माण भएको क्षेत्रीय कारागार सञ्चालनमा पनि अन्योल
कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले बाँकेकै बैजनाथ गाउँपालिका– ३ नौबस्तामा तयार क्षेत्रीय कारागार पनि निर्माण सकिएको आठ महिनासम्म सञ्चालन हुन सकेको छैन । नौ बिघा क्षेत्रफलमा फैलिएको तीन हजार कैदी अट्ने क्षमताको यो कारागार पनि कार्यविधि नभएकै कारण सञ्चालनमा आउन नसकेको हो । 

८ कात्तिक ०७३ मा सम्झौता भई २३ कात्तिक ०७९ मा तयार भएको कारागार ४६ करोड २२ लाख सात हजार ६ सय ७६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले बताए । गृह मन्त्रालयले कार्यविधि बनाएर कारागार सञ्चालनका लागि निर्देशन दिएपछि मात्रै अघि बढ्न सकिने उनले बताए । 

‘पहिलो चरणका कैदीबन्दी राख्न मिल्ने भौतिक संरचना निर्माण भइसकेको छ । सञ्चालनका लागि कार्यविधि र कर्मचारी व्यवस्थापनको काम हुँदै छ भन्ने सुनेको छु,’ खनालले भने । उनले अस्पताल, विद्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि अर्को भवन निर्माण गर्न बाँकी रहेको पनि बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयजना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनिक भवन, भान्सा, आठवटा जेल युनिटलगायत विभिन्न २५ वटा संरचना तयार भएका छन्,’ खनालले भने, ‘मंसिरदेखि सञ्चालनमा ल्याउने पहल गरेका हौँ, तर अहिलेसम्म आधिकारिक निर्देशन आएको छैन । निर्देशन नआउँदासम्म कहिलेदेखि सञ्चालनमा आउँछ त्यसै भन्न सकिने अवस्था छैन ।’

आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड यो कारागारमा रहनेछ । ‘यो कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गर्न लागिएको हो । कारागारमा कैदीबन्दीले तालिम लिन मिल्ने ठूलो हलको व्यवस्था गरिएको छ । सीपमूलकलगायत तालिम दिन सकिन्छ,’ बाँके जिल्ला कारागारका जेलर अर्जुनजंग शाहले भने, ‘कारागारको नियम उल्लंघन गर्नेलाई कडा सजाय दिन अलग्दै दुई अँध्यारा र साँघुरा कोठा पनि निर्माण गरिएको छ ।’

कारागारका भौतिक संरचना इलाका प्रहरी कार्यालय चिसापानीले रेखदेख गर्दै आएको छ । दिउँसोको समयमा एकजना र रातको समयमा दुईजना प्रहरीले ड्युटी दिँदै आएको त्यहाँ भेटिएका एक प्रहरीले बताए । कारागारमा कैदीबन्दीका लागि आठ ब्लक निर्माण गरिएका छन् । त्यस्तै, चारवटा वर्कसप, चार किचेन तथा डाइनिङ, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एक भवन, १० सेन्ट्री पोस्ट, चार भिजिटर ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ । सुरक्षाका लागि अग्लो पर्खाल र खानेपानी ट्यांकी पनि निर्माण भएको छ । 

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागारमा राखिन्छ । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालगन्जस्थित पुरानै कारागारमा राखिने बाँके कारागारका जेलर अर्जुनजंग शाहले बताए । 

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा कैदीबन्दी
तीन सय ५० कैदीबन्दी अट्ने क्षमता भएको नेपालगन्जस्थित बाँके जिल्ला कारागारमा नौ सयभन्दा बढी कैदीबन्दी छन् । २००० मा बनेको नेपालगन्ज कारागार जीर्ण छ । क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी रहेकाले बस्न र सुत्न समस्या भइरहेको जेलर शाहले बताए । 

‘तीन सय ५० कैदीबन्दी अट्ने क्षमता हो, तर नौ सयभन्दा धेरै कैदीबन्दी छन्,’ उनले भने, ‘जसका कारण कैदीबन्दीको अवस्था दयनीय छ । भवनभित्र कोठा नपुग्दा सयभन्दा बढी कैदीबन्दी बाहिर बस्नुपरेको छ । बरन्डा, खुला आँगन, छत र भान्सामा समेत कैदीबन्दी सुत्न बाध्य छन् । गर्मी र बर्सातको समयमा बढी समस्या छ ।’ शौच गर्दा पनि लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।