जिल्लाको मालिका गाउँपालिकाकी कमला केसी (नाम परिवर्तन)ले १६ वर्षमा बिहे गरिन्। बर्सौटे छोरा र छोरी जन्मिए। १९ वर्षको उमेरमै दुई सन्तानकी आमा बनिन्। स्थानीय एक युवासँगको प्रेमको कारण सानै उमेरमा स्कुलबाट भागेर बिहे गरिन्। तर, परिवार भनेजसरी चलेको छैन। श्रीमानले दुई वर्षदेखि सम्पर्क नै गर्दैनन्। नागरिकतासमेत छैन। २० वर्ष नपुग्दै विवाह गरेकाले विवाह दर्ता हुने कुरै भएन। दुई सन्तानसहितको पीडादायी जीवनले कमलालाई सकस बनाएको छ।
मुसिकोट नगरपालिकाकी भावना महत (नाम परिवर्तन)ले पनि १७ वर्षमै बिहे गरिन् । एउटा सन्तान पनि जन्मियो । परिवारमा सोचेअनुसारको अवस्था भएन। भागेर बिहे गरेकाले माइतमा पनि फर्किन सकिनन्। केही समय त श्रीमानले राम्रै माया गरे । तर, विस्तारै भावनालाई माया गर्न छोडे। उनले अहिले ज्याला–मजदुरी गरेर छोरी र आफ्नो ज्यान पालिरहेकी छिन्। उनले अहिलेसम्म कानुनी उपचार पनि खोजेकी छैनन् । घर र माइत पनि गुमाइन्। पाठेघरमा समस्या बल्झिएकाले वेला–वेलामा बिमारले थला पर्छिन्। ‘म त सानैमा बिग्रिएँ। छोरीले पनि न्याय नपाउने भई,’ उनले भनिन्, ‘रोग र शोकले ज्यान थला पर्यो।’
गुल्मीमा बर्सेनि चार सयभन्दा बढी २० वर्ष नपुगेका किशोरी आमाहरू गर्भवती हुन्छन्। यो न्यायिक निकायहरूमा मुद्दाकै रूपमा दर्ता नभए पनि समाजमा विद्यमान बालविवाह नै हो। पछिल्ला वर्षहरूको अवस्थाका आधारमा प्रहरीमा शुद्ध बालविवाहका घटना दर्ता छैनन्। तर, विवाह गरेर गर्भवती हुने आमाहरूको संख्या स्वास्थ्य संस्थामा धेरै छ। यो संख्याले तीनै तहका सरकारले बर्सेनि बालबालिकाको नाममा खर्च गर्ने लाखाैँ बजेटलाई समेत चुनौती दिएको छ।
जिल्लामा बालबालिकाको नाममा स्थानीय सरकारपिच्छे लाखौँ बजेट खर्च गरिएको छ । तर, गुल्मीमा करिब चार सय किशोरी आमाहरू रहेका छन्। स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकअनुसार गर्भवती भएपछि पहिलोपटक स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएका तीन हजार पाँच सय ३४ आमा छन्।
तीमध्ये २० वर्षमुनिका तीन सय ८१ जना आमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका तथ्यांक व्यवस्थापक मदन पालले जानकारी दिए । २० वर्ष नपुगेका आमाहरू सबैभन्दा धेरै रेसुंगा र मुसिकोट नगरपालिकामा ५२–५२ जना रहेका छन्।
त्यस्तै, मदानेमा ४०, सत्यवतीमा ३८, धुर्कोटमा ३५, इस्मामा ३३, चन्द्रकोटमा २६, मालिकामा २१, गुल्मी दरबारमा १९, रुरु क्षेत्रमा १२, कालीगण्डकीमा १७ र छत्रकोटमा ६ जना २० वर्षमुनिका आमाहरू रहेको व्यवस्थापक पालले बताए । आर्थिक वर्ष ०७८/७९ मा पाँच सय ३० र आर्थिक वर्ष ०७७/७८ मा पाँच सय ९३ जना २० वर्ष नपुगेका आमाहरू रहेका थिए ।
कानुनी तथा सामुदायिक सचेतनाको अभाव
सामाजिक अभियन्ता तथा अधिवक्ता हिरा कुँवरले २० वर्ष नपुग्दै विवाह गर्ने आमाहरूको संख्या विगतदेखि नै डरलाग्दो रहेकाले सचेतना आवश्यक रहेको बताइन् । मुलुकी देवानी संहिता, २०७४ को दफा ७० (१)(छ) मा महिला र पुरुषबीच विवाह हुनपर्ने उमेर २० वर्ष तोकिएको छ । उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।
यो कानुनअनुसार विवाह नै बदर हुनेदेखि तीन वर्ष कैद र ३० हजार जरिवानासम्मको व्यवस्था विभिन्न दफाहरूमा उल्लेख गरिएको अभिवक्ता कुँवरले बताइन्। उनले समुदाय र विद्यालयस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्।
बालबालिकाको दैनिकी, साथीसंगत, आनीबानी, सामाजिक सञ्जालको प्रयोगका कारण समस्याहरू बढ्दै गएकाले स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि किशोर–किशोरीकेन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने सुझाव कुँवरको छ।
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले सचेत जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने र गर्भवती हुने आमाहरूको संख्या धेरै रहेको बताए। उनले समुदाय र परिवारमा सचेतना जगाउनु नै समस्या समाधानको उपाय भएको बताए।
स्थानीय तहअनुसार गर्भवती तथा सुत्केरी कोसेली वितरण, पोषण प्याकेज, निःशुल्क एम्बुलेन्सलगायतका कार्यक्रम भएकाले कम उमेरमा विवाह गरेर गर्भवती तथा सुत्केरी हुनेहरूलाई सुविधामा रोक लगाउने, परिवार, समुदाय र विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको आचार्यले बताए। कम उमेरमा विवाह गर्दा छोरा–छोरी तीन–चार वर्षको भएपछि विवाह दर्ता गर्ने र बीचमै सम्बन्धविच्छेद हुँदा थुप्रै कानुनी समस्या झेल्नुपर्ने स्थिति छ।
आमा र बच्चाकै ज्यान जोखिममा
गुल्मी अस्पताल तम्घासमा कार्यरत मेडिकल डाक्टर नर्मा छन्तेलका अनुसार कम उमेरमा विवाह गर्दा आमा र बच्चाकै ज्यान जोखिममा पर्ने गर्दछ। कम उमेरमा विवाह गरेर गर्भवती हुँदा बच्चा खेर जाने, समय नपुग्दै जन्मिने, आमाको पाठेघरको मुख च्यातिने, बढी रक्तस्राव हुने र बच्चा जन्मिसकेपछि आमामा मानसिक समस्यासँगै आमा र बच्चाको ज्यान जाने जोखिम हुने छन्तेलले जानकारी दिइन्।
उनले शारीरिक समस्यासँगै कम उमेरमा विवाह गर्दा शिक्षा क्षेत्र प्रभावित हुने भएकाले आय–आर्जनमा कमी हुँदा पारिवारिक जीवनसमेत प्रभावित हुने बताइन्।
बर्सेनि पाँच सयभन्दा बढीले गर्छन् गर्भपतन
गुल्मीमा बर्सेनि पाँच सयभन्दा बढीले गर्भपतन गर्ने गरेका छन्। यो आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा पाँच सय आठजनाले गर्भपतन गराएको पाइएको छ। स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकअनुसार २० वर्षमुनिका १६ किशोरी र २० वर्षमाथिका चार सय ९२ जनाले गर्भपतन गराएका छन्। सबैभन्दा बढी रेसुंगा नगरपालिकाका ९० जना महिलाले गर्भपतन गराएका छन्। जसमा २० वर्षमाथिका ८७ जना र २० वर्षमुनिका तीनजना रहेका छन्।
मुसिकोट नगरपालिकामा ६०, रुरु क्षेत्र गाउँपालिकामा ६०, सत्यवती गाउँपालिकामा ५२, धुर्कोटमा ५९, मदानेमा ५१, मालिकामा ४३, छत्रकोटमा ४०, कालीगण्डकीमा २०, चन्द्रकोटमा १७ र गुल्मीदरबारमा ६ जना रहेका छन् । इस्मा गाउँपालिकासँग भने कुनै पनि वर्षको तथ्यांक रेकर्ड छैन।
आर्थिक वर्ष ०७८/७९ मा २० वर्षमुनिका १२ र २० वर्षमाथिका सात सय ३० र आर्थिक वर्ष ०७७/७८ २० वर्षमुनिका ५४ र २० वर्षमाथिका सात सय २४ जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालय गुल्मीका तथ्यांक व्यवस्थापक मदन पालले जानकारी दिए। कार्यालयका अनुसार प्राइभेट स्वास्थ्य संस्थाहरूमा जानेको संख्या बढिरहेको छ।