फिल्म छायांकनको समय पुस्तक अध्ययन गर्न मन लाग्दैन । छायांकनको समय आफ्नो क्यारेक्टरमै फोकस हुन्छु । त्यसैले फुर्सदको समय मात्रै पुस्तक पढ्ने गरेको छु । मैले पछिल्लो समय बुद्धिसागरको ‘एक्लो’ पढेँ ।
यो पुस्तकले गाउँबाट सहरमा आएर संघर्ष गर्दाका दिनलाई रिकल गरिदियो । यसअघि कर्णाली ब्लुज पनि पढेको थिएँ । त्यसले मलाई कर्णालीको समाजमा पुर्याएको थियो । कर्णाली नपुगी त्यहाँको कथा र समाज बुझ्न पाइयो ।
अध्ययनले अभिनयमा निखार ल्याउन पनि सहयोग गर्छ । केही पुस्तकले सोच्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिन्छन् । मलाई विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकहरू मन पर्छन् । तीन घुम्ती, सुम्निमा, हिटलर र यहुदी आदि पुस्तक निकै मन पर्छ । परिजातको शिरीषको फूल पनि मन पर्ने पुस्तकको सूचीमा पर्छ । कर्ण शाक्यको ‘सोच’ले मलाई जीवनप्रति सोच्न बाध्य तुल्याएको थियो ।
यस पुस्तकको भाषा निकै सहज लाग्यो । रोवर्ट टी. कियोसाको ‘रिच ड्याड पोअर ड्याड’ पनि निकै मन परेको पुस्तक हो । कसरी व्यावसायिक बन्ने, उद्यमी बन्ने भन्ने विषय यसमा प्रस्तुत गरिएको छ । जन्म दिने बुबा र कर्म दिने बुबा फरक हुन्छन् भन्ने प्रसंग पनि छ । दुई बाबुको तुलना गरिएको छ ।