१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Wednesday, 03 July, 2024
नवीन अर्याल काठमाडाैं
२o८o असार ६ बुधबार o८:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई अर्ब लगानीका नौ क्यासिनो दर्ता

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ६ बुधबार o८:१९:oo

देशभर सञ्चालित तारे होटेलमा क्यासिनो सञ्चालनको लहर चलेको छ । चालू आर्थिक वर्षको ३ असारसम्म उद्योग विभागमा नौवटा क्यासिनो दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांश आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने ‘मिनी क्यासिनो’ रहेका छन् । बानेश्वरको पाँचतारे एभरेष्ट होटेल, सोल्टीमोडको पाँचतारे हायात प्लेस र झापाको पाँचतारे किङ्सबरी होटेलमा पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालन हुने भएका छन् । झापा, विराटनगर, सिन्धुपाल्चोक, काठमाडौंदेखि कपिलवस्तुसम्मका तारे होटेलमा क्यासिनो सञ्चालन गर्ने गरी कम्पनी दर्ता भएको विभागले जनाएको छ । यी क्यासिनोमा कुल एक अर्ब ९० करोड लगानी गर्ने प्रतिबद्धता जनाइएको छ । 

पछिल्लो समय होटेल तथा रिसोर्टलाई चार तारेमा स्तरोन्नति गर्दै मिनी क्यासिनो सञ्चालन गर्ने होडबाजी नै देखिन्छ । भारतीय सीमासँग जोडिएका सहरहरूमा क्यासिनो नराखी होटेल नै चलाउन नसकिने स्थानीय व्यवसायी बताउँछन् ।क्यासिनो नियमावली, २०७० अनुसार पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालनका लागि कम्तीमा पाँचतारे होटेल वा सोसरहको डिलक्स रिसोर्ट चाहिन्छ भने मिनी क्यासिनो सञ्चालनका लागि कम्तीमा चारतारे होटेल हुनुपर्छ । ती होटेलका सञ्चालकको लिखित सहमति लिएर उद्योग विभागमा कम्पनी दर्ता गरी पर्यटन विभागबाट सञ्चालनको अनुमति लिएर मात्रै क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था छ ।

अहिले ठूला–साना गरी दुई दर्जनभन्दा बढी क्यासिनोले सञ्चालनको अनुमति पाएका छन् । ठूला १२ वटा क्यासिनोमध्ये नौवटा काठमाडौंका पाँचतारे होटेल र बाँकी तीनवटा नेपालगन्जको सोल्टी वेस्टेन्ड, रुपन्देहीको टाइगर प्यालेस र झापाको होटेल मेची क्राउनमा क्यासिनो सञ्चालनका लागि अनुमति पाएका हुन् । पर्यटन विभागको अनुमति लिए पनि धेरैजसो ठूला क्यासिनो सरकारलाई रोयल्टी बक्यौता नबुझाउँदा बन्द अवस्थामा छन् ।

यस वर्ष दर्ता क्यासिनो
कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालित लुम्बिनी ग्रिन रिसोर्टमा क्यासिनो सञ्चालन गर्ने गरी ५ भदौमा ग्रिन ज्याकपट इन्टरटेनमेन्ट कम्पनी दर्ता भएको छ । २० करोड लगानी हुने मिनी क्यासिनोमा वार्षिक ७६ हजार ६ सय ५० पाहुनालाई सेवा प्रदान गर्ने क्षमता रहनेछ । यो क्यासिनो सञ्चालनमा आउँदा ८१ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । ९ भदौमा पोखराको हेरिटेज होटेल स्विट्स एन्ड स्पामा क्यासिनो सञ्चालन गर्ने गरी भेन्टेन इन्टरटेनमेन्ट उद्योग विभागमा दर्ता भएको छ । कुल पुँजी २० करोड रहने क्यासिनोले वार्षिक ९१ हजार दुई सय ५० पाहुनालाई सेवा दिन सक्नेछ भने ६५ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

यस्तै, झापाको बिर्तामोडस्थित पाँचतारे किङ्सबरी होटेलमा क्यासिनो सञ्चालनका लागि २५ करोड पुँजीको किङ्सबरी इन्टरटेनमेन्ट कम्पनी १३ भदौमा दर्ता भएको छ । पूर्ण क्षमताको यस क्यासिनोले वार्षिक ९४ हजार ६ सय पाहुनालाई सेवा दिने लक्ष्य राखेको छ भने ७९ जनालाई प्रत्यक्ष्क्ष रोजगारी दिने प्रतिबद्धता जनाएको छ । 

विराटनगरको रत्ना होटेलमा २० करोड लगानीमा मिनी क्यासिनो सञ्चालनमा आउने भएको छ । क्यासिनोमा वार्षिक ८० हजार तीन सय पाहुनालाई सेवा दिने क्षमता हुनेछ भने क्यासिनो सञ्चालनमा आउँदा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यस्तै, प्लेजर नेपालले पोखराको होटेल सरोबरमा क्यासिनो सञ्चालनमा ल्याउँदै छ । २० करोड कुल पुँजीको क्यासिनोले वार्षिक ७६ हजार ६ सय ५० पाहुनालाई सेवा दिन सक्ने बताइएको छ । यो क्यासिनो सञ्चालनमा आउँदा ७२ जनाले रोजगारी पाउनेछन् । 

बानेश्वरको होटेल एभरेष्ट इन्टरनेसनलमा गोल्डेन ग्यालेक्सी इन्टरनेटमेन्टले क्यासिनो सञ्चालन गर्ने गरी २९ कात्तिकमा कम्पनी दर्ता गरेको छ । २५ करोड लगानी रहने यो पूर्ण क्षमताको ठूलो क्यासिनोले वार्षिक एक लाख नौ हजार पाँच सयलाई सेवा दिन सक्षम हुनेछ । यो क्यासिनो सञ्चालनमा आउँदा तीन सय तीनजनाले रोजगारी पाउनेछन् । 

सोल्टीमोडस्थित पाँचतारे हायात प्लेस होटेलमा ¥याङ्क इन्टरटेनमेन्ट सर्भिसेसले पूर्ण क्षमताको ठूलो क्यासिनो सञ्चालनमा ल्याउने भएको छ । १७ चैतमा दर्ता भएको क्यासिनोले वार्षिक एक लाख ५० हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता हुनेछ ।

९० प्रतिशत विदेशी र १० प्रतिशत स्वदेशी लगानी रहने यो क्यासिनो सञ्चालनमा आउँदा तीन सयजनाले रोजगारी पाउनेछन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मा खुलेको भोटेकोसी होटेलमा मिनी क्यासिनो सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोक जिल्लामै पहिलो क्यासिनो सञ्चालनमा ल्याउन लागेको बेल्लिज रिक्रिएसन उद्योग विभागमा ३ साउनमा दर्ता भएको हो । यो क्यासिनोमा १८ करोड लगानी हुनेछ भने ८१ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । क्यासिनोमा वार्षिक ७६ हजार ६ सय ५० पाहुनाले सेवा पाउन सक्ने क्षमता हुनेछ । 

काठमाडौंमा पशुपति रिक्रिएसन प्रालिले १७ हजार लगानीमा डेढ लाख पाहुनालाई सेवा दिने गरी मनोरञ्जन खेल सञ्चालन गर्ने भएको छ । यो क्यासिनो सञ्चालनमा आउँदा एक सय १५ जनाले रोजगारी पाउनेछन् । विशेष गरी, धनगढी, महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, वीरगन्ज, झापालगायत भारतीय सीमासँग जोडिएका सहरमा मिनी क्यासिनो बाक्लै खुल्न थालेका छन् । नेपालगन्ज, भैरहवा र झापामा पूर्ण क्षमताको ठूलो क्यासिनो नै खुलेका छन् । देशभर होटेल तथा रिसोर्टको संख्या बढेसँगै क्यासिनो खुल्ने क्रम पनि जारी नै रहेको छ ।

ad
ad
ad
ad