प्रिमियम मूल्यमा सेयर (आइपिओ) निष्कासन गरेको घोराही सिमेन्टको एक करोडभन्दा बढी कित्ता आइपिओ रद्द भएको छ।
आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएपछि सिडिएससीले नेपाल धितोपत्र बोर्डलाई दिउँसो १ बजे जानकारी गराएको थियो। बोर्डले नेपाल केयर रेटिङले रेटिङ गरे–नगरेको बारे स्पष्टीकरण माग गर्नुका साथै तत्काललाई आइपिओ रोकेको छ।
केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियमविपरीत गरे–नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा रोक लगाइएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए।
सिडिएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भर्नेलाई कारबाही गरिने बताएको छ। सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेको बोर्डको भनाइ छ।
सिडिएससीका अनुसार सोमबार २ बजेसम्म दुई करोड ३३ लाख २२ हजार तीन सय कित्ताका लागि आवेदन परेको छ। कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपिओ निष्कासन गरेको थियो । यसले एक सय अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँका दरले आइपिओ खुला गरेको हो।