१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २ शनिबार
  • Tuesday, 02 July, 2024
२o८o असार २ शनिबार o८:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यस्ता छन्  ग्लोबल छनोटका १० राष्ट्र

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o असार २ शनिबार o८:३५:oo

प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्, सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन एउटा रोडम्याप खडा गरेको थियो । आइसिसीको पूर्णकालीन सदस्य र एसोसिएट राष्ट्रका लागि दुई किसिमका छनोट प्रतियोगिता आयोजना भए । टेस्ट मान्यता प्राप्तहरूले सुपर लिगमा प्रतिस्पर्धा गरे । एसोसिएट राष्ट्रहरूले विश्वकप लिग–२ मा सहभागिता जनाए । सुपर लिगको आठभित्र रहेका राष्ट्रले सीधै विश्वकपमा स्थान बनाए । सुपर लिगमा बाँकी रहेका राष्ट्रहरू ग्लोबल छनोटमा पुगेका छन् । आइसिसीले विश्वकप लिग–२ का शीर्ष तीन र प्ले अफबाट आएका दुई राष्ट्रलाई ग्लोबल छनोट खेल्ने अवसर प्रदान गरेको छ । सुपर लिगमा शीर्ष आठभित्र नपरेका वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स अहिले ग्लोबल छनोटमा परेका हुन् । विश्वकप लिग–२ बाट स्कटल्यान्ड, नेपाल, अमेरिका र ओमान पनि ग्लोबल छनोटमा छनोट भएका छन् । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र एकपटकको च्याम्पियन श्रीलंकाले पनि ग्लोबल छनोट माध्यमबाट विश्वकप स्थान बनाउन प्रतिस्पर्धा गर्नुपर्नेछ । ग्लोबल छनोटमा श्रीलंकाको वरीयता शीर्ष स्थान र युएई पुछारमा छन् । नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो । ग्लोबल छनोटका शीर्ष दुई टोलीले भारतमा आयोजित एकदिवसीय विश्वकपमा भाग लिनेछन् । 

श्रीलंका : एकदिवसीय वरीयता – ९
ग्लोबल छनोटमा शीर्ष वरीयताको टोली श्रीलंका हो । आइसिसीको सुपर लिगमा शीर्ष आठभित्र स्थान सुरक्षित गर्न नसक्दा श्रीलंका ग्लोबल छनोटमा झरेको हो । सुपर लिगमा श्रीलंका नवौँ स्थानमा रहँदा ८१ अंक रह्यो । सुपर लिगमा श्रीलंकाले २४ खेलमा सात जित र १४ हारको सामना गरेको थियो । श्रीलंका पूर्वविश्वकप विजेता हो । सन् १९९६ मा श्रीलंकाले अस्ट्रेलियालाई हराउँदै पहिलोपटक विश्वकप उपाधि जितेको थियो । सन् २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकप फाइनलमा श्रीलंका अस्ट्रेलियासँग पराजित भएको थियो । यसअघिका संस्करणमा निरन्तर स्थान बनाएको श्रीलंका पहिलोपटक छनोट चरणका माध्यमबाट विश्वकपको प्रवेशका लागि प्रतिस्धर्पा गर्दै छ । श्रीलंकाले सन् १९८१ मा आइसिसीको पूर्ण सदस्यता प्राप्त गरेको थियो । श्रीलंकाले टेस्ट मान्यता सन् १९८१ मा प्राप्त गरेको थियो । विश्वकप इतिहासमा श्रीलंकाले सन् २०१२ मा आइसिसी टी–२० विश्वकप हात पारेको थियो । 

वेस्ट इन्डिज : एकदिवसीय वरीयता – १०
कुनै समय विश्व क्रिकेटमा वेस्ट इन्डिज निकै शक्तिशाली राष्ट्र मानिन्थ्यो । सन् १९८० को दशकमा वेस्ट इन्डिजलाई हराउन मुस्किल नै पथ्र्यो । त्यसवेला वेस्ट इन्डिजसँग धुरन्धर ब्याट्सम्यान तथा खतरनाक फास्ट बलर थिए । यही दुई शक्तिका भरमै वेस्ट इन्डिजले एकदिवसीय विश्वकपको पहिलो र दोस्रो दुई संस्करण नै जितेको थियो । सन् १९८३ मा वेस्ट इन्डिज भारतसँग फाइनलमा अप्रत्याशित रूपमा पराजित हुँदा विश्वकप उपाधिमाथि ह्याट्रिक गर्न चुक्यो । 

गौरवशाली इतिहास बोकेको वेस्ट इन्डिज सुपर लिगमा नवौँ स्थानमा रहँदा ग्लोबल छनोटमा पर्‍यो । सुपर लिगमा वेस्ट इन्डिजले २४ खेलबाट ८८ अंक हात पारेको थियो । यसक्रममा वेस्ट इन्डिजले नौ जित र १५ हारको सामना गर्‍यो । पछिल्लो एकदिवसीय वरीयतमा क्यारेबियन टोली १०औँ स्थानमा छ । 

जिम्बावे : एकदिवसीय वरीयता – ११
आइसिसीको पूर्ण सदस्य जिम्बावेको सुपर कपको कमजोर प्रदर्शन भयो । जिम्बावे सुपर कपको १३औँ स्थानमा रह्यो । २४ खेलमा ६ जित र १७ हारको सामना गरेको जिम्बावेले ६५ अंक मात्र बटुल्यो । यसै कारण जिम्बावेले भारतमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्न ग्लोबल छनोट चरण खेल्नुपरेको हो । जिम्बावेले सन् १९९२ मै आइसिसीबाट टेस्ट मान्यता प्राप्त गरेको थियो । सन् १९८१ मा जिम्बावे आइसिसीको एसोसिएट राष्ट्र बनेको थियो । एसोसिएट राष्ट्र बनेको एक दशकभित्र नै जिम्बावे पूर्णकालीन सदस्य बन्यो । सन् १९८३ को विश्वकपमा जिम्बावेले पहिलोपटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि जिम्बावे लगातार नौपटक विश्वकपमा छनोट भएको थियो । सन् २०१९ को विश्वकपमा जिम्बावेले विश्वकपमा स्थान बनाउन सकेन । ग्लोबल छनोटमा टेस्ट मान्यता राष्ट्रलाई चुनौती दिन सक्ने राष्ट्रका रूपमा जिम्बावेलाई लिइएको छ । 

आयरल्यान्ड : एकदिवसीय वरीयता – १२
युरोपियन राष्ट्रमा इंग्ल्यान्डपछिको शक्तिशाली राष्ट्रका रूपमा आयरल्यान्डलाई लिइन्छ । सन् २०१७ मा आयरल्यान्ड आइसिसीको टेस्ट राष्ट्र बन्यो । बंगलादेशसँगको प्रतिस्पर्धामा वर्षा बाधक बन्दा आयरल्यान्डको सीधै विश्वकप खेल्ने सपना अधुरो बनेको हो । आयरल्यान्ड चुक्दा दक्षिण अफ्रिकाको भाग्य चम्कियो । आयरल्यान्डले सुपर लिगको ११औँ स्थानमा रहँदा ७३ अंक बटुल्यो । आयरल्यान्डले २२ खेलमा ६ जित र १३ हारको सामना गर्‍यो । 

क्रिकेट काउन्सिलको मुख्य सदस्य आयरल्यान्डले अहिलेसम्म ६ टेस्ट खेलेको छ । सन् २००७ को विश्वकपमा आयरल्यान्डले १०औँ स्थान प्राप्त गरेको थियो । आयरल्यान्डले तीनपटक एकदिवसीय विश्वकप खेलेको छ । पछिल्लो एकदिवसीय वरीयतामा आयरयान्ड १२औँ स्थानमा छ । 

स्कटल्यान्ड : एकदिवसीय वरीयता – १३
आइसिसी विश्वकप लिग–२ को च्याम्पियन हुँदै स्कटल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएको हो । युरोपियन क्रिकेटको सदस्य स्कटल्यान्डले अहिलेसम्म तीनपटक विश्वकप खेलेको छ । सन् १९९४ मै आइसिसीको एसोसिएट राष्ट्र बनेको स्कटल्यान्डले सन् १९९९ को विश्वकपमा पहिलोपटक सहभागिता जनाएको थियो । सन् २००७ र २०१५ को विश्वकप अनुभव बटुलेको स्कटल्यान्डले पाँचपटक टी–२० विश्वकप खेलिसकेको छ । पछिल्लो समय एसोसिएट राष्ट्रमध्ये शक्तिशाली राष्ट्र मानिएको स्कटल्यान्डले अहिलेसम्म एक सय ४६ एकदिवसीय खेल खेल्दा ६३ खेलमा जित निकालेको छ ।

नेपाल : एकदिवसीय वरीयता – १४
एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पहिलोपटक नेपालले प्रतिस्पर्धा गर्दै छ । आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थानमा रहँदै नेपाल छनोट भएको हो । विश्वकप छनोटमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि सन् २०१९ को विश्वकप छनोटका लागि नेपालले न्युजिल्यान्डमा प्रतिस्पर्धा गरेको थियो । गत फागुनमा नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई हराउँदै अविश्वसनीय रूपमा तेस्रो स्थान रक्षा गरेको थियो । नेपालको सफलतासँगै नामिबिया ग्लोबल छनोटबाट बाहिरियो । सन् १९९४ मा नेपाल आइसिसीको एसोसिएट राष्ट्र बनेको थियो । पाँच वर्षअघि नेपालले एकदिवसीय राष्ट्रको दर्जा पायो । पछिल्लो समय एसोसिएट राष्ट्रमा नेपालको प्रदर्शन अब्बल रहेको छ । भारतीय नागरिक मोन्टी देसाईको आगमनपछि नेपालको प्रदर्शनमा अस्वाभाविक रूपमा परिवर्तन भएको मानिन्छ । नेपाली खेलाडीले टेस्ट तथा एसोसिएटतर्फका बलिया राष्ट्रविरुद्ध चुनौतीपूर्ण प्रदर्शन गर्ने लक्ष्य राखेको छ । 

अमेरिका : एकदिवसीय वरीयता – १५
विश्वकप लिग–२ मा कुनै समय अमेरिकाले शीर्ष तीनभित्रको दाबेदारी प्रस्तुत गरेको थियो । तर, नेपालको उत्कृष्ट पुनरागमनका कारण अमेरिका पाँचौँ स्थानमा रहँदै ग्लोबल प्ले अफमा झर्‍यो । ग्लोबल प्ले अफमा शीर्ष दुई स्थानमा रहँदै अमेरिकाले जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । विश्वकप लिग–२ मा अमेरिकाले ३६ खेलमा ३५ अंक बटुलेको थियो । अमेरिकाले आइसिसीबाट सन् १९६५ मै एसोसिएट सदस्यता प्राप्त गरेको थियो । सन् २००४ मा अमेरिकाले न्युजिल्यान्डविरुद्ध ओभल मैदानमा पहिलो एकदिवसीय खेल खेलेको थियो । अहिलेसम्म अमेरिकाले ४५ एकदिवसीय खेलमा २२ जित र २१ हारको सामना गरेको छ । 

नेदरल्यान्ड्स : एकदिवसीय वरीयता – १७
सन् २०२० देखि २०२३ सम्म आइसिसीले आयोजना गरेको सुपर लिगको पुछारमा रहेको राष्ट्र नेदरल्यान्ड्स हो । सुपर लिगको १३औँ स्थानमा रहँदा नेदरल्यान्ड्स ग्लोबल छनोटमा घटुवा भयो । नेदरल्यान्ड्सले सुपर लिगमा २४ खेलबाट ३५ अंक मात्र बटुल्यो । यसक्रममा डच टोलीले तीन जित र २० हारको सामना गर्‍यो । ग्लोबल छनोटमा स्थान बनाएका एसोसिएट राष्ट्रमध्ये नेदरल्यान्ड्स अनुभवी टोली हो । सन् १९६६ मा आइसिसीको सदस्य बनेको नेदरल्यान्ड्सले सन् १९९६ मा पहिलोपटक एकदिवसीय विश्वकप खेल्यो । त्यसपछि २००३, ०७ र ०११ को विश्वकपमा स्थान बनाएको नेदरल्यान्ड्सले सन् २०१५ र ०१९ को संस्करणमा स्थान बनाउन सकेन । सन् २०१५–०१७ मा आयोजित विश्वकप क्रिकेट लिग च्याम्पियनसिप विजेताका नाताले नेदरल्यान्ड्स सुपर लिगमा छनोट भएको थियो ।

ओमान : एकदिवसीय वरीयता – १८
विश्वकप लिग–२ को उपविजेताका रूपमा ओमान ग्लोबल छनोटमा प्रवेश गरेको हो । विश्वकप लिग–२ बाट ग्लोबल छनोटमा स्थान पक्का ओमान पहिलो राष्ट्र हो । ओमानले अन्तिमतिर कमजोर प्रदर्शन गरेका कारण नै स्कटल्यान्ड च्याम्पियन बन्यो । ओमानले ३६ खेलमा २१ जित र १३ हारको सामना गरी ४४ अंक बटुल्यो । पछिल्लो समय एसोसिएट राष्ट्रमा ओमानको प्रदर्शन पनि दमदार रहेको छ । सन् २०१४ मा आइसिसीको एसोसिएट सदस्य बनेको ओमान सन् २०१६ मा टी–२० विश्वकपमा छनोट भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानको उत्कृष्ट नतिजा नै त्यही नै थियो । ओमानले अहिलेसम्म ३९ एकदिवसीय खेलमा २१ जित र १६ खेलमा हारको सामना गरेको छ । 

युएई  : एकदिवसीय वरीयता – १९
विश्वकप लिग–२ को अन्तिम सिरिजतिर युएईको कमजोर प्रदर्शन भयो । नेपाल र पपुवा न्युगिनीसँग महŒवपूर्ण खेलमा पराजित हुँदा युएई शीर्ष पाँचबाट बाहिरियो । त्यसपछिको प्ले अफमा शीर्ष दुईमा रहँदै युएईले ग्लोबल छनोटमा स्थान बनाएको हो । युएईले लिग–२ मा ३६ खेलमा ३३ अंक जोडेको थियो । एकदिवसीय विश्वकप इतिहासमा युएईले दुईपटक प्रतिस्पर्धा गरेको छ । सन् १९९६ मा युएईले पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो । त्यसपछि सन् २०१५ मा युएईले अन्तिमपटक विश्वकप खेल्यो । युएईले अहिलेसम्म ९९ एकदिवसीय खेल खेल्दा ३६ मा जित र ६२ मा हारको सामना गरेको छ ।

ad
ad
ad
ad