१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २ शनिबार
  • Sunday, 22 September, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८o असार २ शनिबार o६:११:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हाई प्रोफाइल सबै थुनामा

थुनामा गएसँगै टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

Read Time : > 4 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २ शनिबार o६:११:oo

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाणलगायत १६ लाई थुनामा राख्न तथा टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न आदेश

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा तत्काल प्राप्त प्रमाणले प्रतिवादीको कसुरमा संलग्नता देखिएको भन्दै अदालतले दुई पूर्वमन्त्रीसहित १६ जनालाई थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । सबैजनालाई शुक्रबार नै सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको आदेश–

‘... तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’

मुद्दा दायर भएको २३ दिनपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक आदेश दिएको हो । कसुरमा संलग्नता देखिने धेरै प्रमाण भएको भन्दै अदालतले उनीहरूलाई थुनामा पठाएको हो । ‘... तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन,’ अदालतको आदेशमा छ । 

कसुरको गम्भीरता र उनीहरूलाई हुन सक्ने सजायलाई समेत आधार बनाएर अदालतले १६ जनालाई थुनामा पठाएको हो । रायमाझी र खाणसहित पूर्वगृसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमशेर मियाँ जेल चलान भएका छन् । आदेशसँगै रायमाझी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ अनुसार प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएका छन् । 

त्यस्तै, खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राईलाई थुनामा पठाएको हो । मुद्दाको अन्तिम फैसला नहुँदासम्मका लागि जिल्ला अदालतले थुनामा पठाएको हो । यद्यपि, प्रतिवादीहरू आदेशविरुद्ध माथिल्लो अदालत जान सक्नेछन् ।

अदालतले भन्यो– नक्कली प्रतिवेदन बनाएको देखियो 
थुनछेक आदेशमा गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदनमा फेरबदल भेटिएको उल्लेख छ । इजलासले आदेशमार्फत प्रतिवेदन दुईथरी भएको जनाउँदै धेरै ठाउँमा फेरबदल भएको निष्कर्ष निकालेको छ । 

अनुसन्धानका क्रममा गृह मन्त्रालयबाट २६ वैशाखमा निर्णय र भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्या समाधानका उपायका सम्बन्धमा तयार गरिएको प्रतिवेदन, २०७६ पठाइएको थियो । तर, यो प्रतिवेदन १३ मंसिर ०७८ मा मन्त्रिपरिषद्को प्रस्तावसाथ पठाइएको प्रतिवेदनभन्दा केही भिन्न छ । मन्त्रिपरिषद्को प्रस्तावसाथ पठाइएको प्रतिवेदनको अनुसूचीको तालिका खण्डमा नौवटा तालिका छन् भने अनुसन्धानका क्रममा प्राप्त प्रतिवेदनमा १० सम्म देखिएको छ । 

यसैगरी, एउटामा तोक आदेश छ भने अर्कोमा छैन । पृष्ठ ३ को ६ नम्बर अन्तिम बुँदामा अन्तिम वाक्यको व्यहोरा फरक देखिएको, पृष्ठ १०, १३ मा पनि फरक भेटिएको जस्ता विषय अदालतले आदेशमा उल्लेख गरेको छ । 

‘उक्त दुवै प्रतिवेदन एक–अर्कामा भिडाई हेर्दा मिति २०७८/०८/१३ को मन्त्रिपरिषद् प्रस्तावसाथ पठाइएको प्रतिवेदन र गृह मन्त्रालयको अभिलेख शाखामा रहेको ... मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदनको व्यहोरामा धेरै ठाउँमा फेरबदल गरी फरक पारिएको देखिएको छ,’ आदेशमा छ । प्रतिवेदन किर्ते गरी त्यसमा आठ सय ७५ जना नेपालीको नाम छुट शरणार्थीको सूचीमा थपिएको थियो । त्यही सूची देखाएर सर्वसाधारणसँग करोडौँ रुपैयाँ उठाई अमेरिका लैजाने प्रलोभन दिइएको थियो । 

कुन आधारमा पठाइयो थुनामा ?

बालकृष्ण खाण : विवादित नाम समावेश बालकृष्ण पन्थी प्रतिवेदन कार्यान्वयनको प्रस्ताव मन्त्रिपरिषद्मा लान स्वीकृति दिएको । पुनः छुट शरणार्थीका लागि भन्दै कार्यदल गठन गरेको र कार्यदलको म्याद थप गरेको । मन्त्री हुँदाका बखत नक्कली, समानान्तर प्रतिवेदन तयार भएको । केशव दुलाल र गृहसचिव टेकनारायण पाण्डेबीचको संवाद तथा पाण्डेको मौकाको बयान ।

टोपबहादुर रायमाझी : प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालको बयानबाट संलग्नता देखिएको । सानु भण्डारीको घरबाट बरामद डायरीमा रकम दिएको उल्लेख रहेको । जाहेरीमा उल्लिखित विषय ।

टेकनारायण पाण्डे : छुट शरणार्थीको विवरण पेस गर्न सचिवस्तरीय निर्णयबाट कार्यदल गठन गरेको तथा म्याद थप गरी थप कार्यादेश दिएको । गृहमा समानान्तर तथा नक्कली प्रतिवेदन उनकै कार्यकालमा तयार भएको । प्रतिवेदनबारे अस्वाभाविक चासो राखेको र ४–५ वटा प्रतिवेदन आफैँसँग राखेको । केशव दुलालसँग भएको संवाद । जाहेरीमा उल्लिखित विषय ।

टेकनाथ रिजाल : अब नेपालीलाई शरणार्थी बनाई अमेरिका लैजाने भनी विश्वास दिलाएको । ३४ नेपालीलाई शरणार्थीको कार्ड वितरण गरेको भनी आफैँले र सहप्रतिवादी रामशरण केसीले बयान गरेको । रामशरण केसीले आफूले ११ लाख बुझाएको बयान दिएको तथा त्यसैलाई समर्थन हुने विवरण सानु भण्डारीको डायरीमा भेटिएको ।

इन्द्रजित राई : व्यक्तिगत सुरक्षा अधिकृतले इन्द्रजित राईको कार्यकक्षमा हात हालाहाल हुँदा आफूले छुट्टाएको कागज गरेको । सानु भण्डारीको कोठाबाट बरामद डायरीमा नाम रहेको । टेकनाथ रिजाल र टोपबहादुर रायमाझीको बयानबाट कसुरमा संलग्नता देखिएको । 

आङटावा शेर्पा : किटानी जाहेरी परेको । हिरासतमा रहेका प्रतिवादीलाई भेटेर पीडितको रकम फिर्ता गराउन चाहेको । बालकृष्ण खाणलाई पोल नगर्ने सहमति भएको भनी बोलेको भिडियो । पोलिग्राफ परीक्षणमा इन्कारी बयान झुटो देखिएको । सानु भण्डारीको घरबाट बरामद डायरीमा हस्ताक्षर शेर्पाकै रहेको । अनुसन्धान अधिकारीसमक्ष गरेको कागजको भिडियो रेकर्डका कारण कसुरमा संलग्नता देखिने ।

शमशेर मियाँ : सरकारले उपलब्ध गराएको गाडी प्रतिवादी सन्देश शर्मालाई उपलब्ध गराएको । एक दिन नभई सात दिनसम्म गाडी प्रयोग गर्न दिई सरकारी सुविधाको चरम दुरुपयोग गरी आरोपित कसुरमा सहयोग गरेको ।

कारागार पुगेपछि इन्द्रजित राईले सोधे–यहाँ के–के खान पाइन्छ ? 

एउटै कोठामा राख्न रायमाझी बाउ–छोराको आग्रह 

अभियुक्तहरूलाई कारागार लगिँदै । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका १६ अभियुक्तलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ । 

नेताद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई एउटै ब्लकमा राखिएको छ । उनीहरूलाई भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए । टोपबहादुरका छोरा सन्दीप पनि सोही ब्लकमा छन् । रायमाझी बाउ–छोराले आफूहरूलाई एउटै कोठामा राखिदिन आग्रह गरेका थिए । तर, कारागार प्रशासनले त्यो सम्भव नभएको भन्दै सँगै राख्न मानेन । 

त्यस्तै, खाणका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई भद्र बन्दीगृहमा राखिएको छ । भद्र बन्दीगृहमा करिब एक हजार एक सय कैदी–बन्दी छन् । 

त्यस्तै, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको ब्लकमा राखिएको छ । केन्द्रीय कारागारको ब्लकमा करिब दुई हजार कैदी–बन्दी छन् । दुवै ब्लकमा छुट्टाछुट्टै चौकीदार छन् ।

अदालतको आदेशअनुसार १६ जनालाई फोटो खिचेर उनीहरूको अभिलेख दर्ता गराई कारागारभित्र राखिएको थियो । भित्र पुगेपछि इन्द्रजित राईले ‘यहाँ के–के खान पाइन्छ ?’ भनेर कारागार प्रशासनसँग सोधेका थिए । 

आफू मधुमेहको बिरामी भएकाले भात नखाने र रोटी चाहिने उनको भनाइ थियो । रोटीको व्यवस्था हुने जेलर ललित बस्नेतले जानकारी गराएपछि उनले घरबाट खाना ल्याउन पाइन्छ कि पाइँदैन भनेर सोधेका थिए । पकाएको खानेकुरा जेलभित्र लैजान बन्देज छ । 

जेलभित्र सबैलाई समान व्यवहार हुने जेलर बस्नेत बताउँछन् । ‘जेलभित्र कोही सानो–ठूलो हुँदैन, सबैलाई यहाँ समान सेवा–सुविधा हुन्छ,’ उनले भने । जम्मा एक हजार पाँच सय क्षमता भएको केन्द्रीय कारागारभित्र करिब तीन हजार चार सय कैदी–बन्दी छन् । केन्द्रीय कारागारभित्र तीनवटा ब्लक छन् । केन्द्र, भद्र बन्दीगृह र महिला कारागार । क्षमताभन्दा धेरै कैदी–बन्दी भएकाले व्यवस्थापनमा समस्या भएको जेलर बस्नेत बताउँछन् । कैदी–बन्दीले दैनिक ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामलको सुविधा राज्यबाट पाउँछन् । 

प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढायो 
पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ । अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी भन्छन्, ‘दोस्रो चरणको अनुसन्धान चलिनै रहेको छ, फरार अभियुक्त पक्राउदेखि प्रमाणको खोजीमा हामी लागिरहेका छौँ ।’ 

सो मुद्दामा १५ जना फरार छन् । जसमध्ये १२ जना अदालतमा मुद्दा दायर भएका फरार छन् । तीनजनाको प्रस्ट ठेगाना खुल्न सकेको छैन । जसमध्ये एक बिचौलिया बेचन झा हुन् । उनले नै तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र यो धन्दामा संलग्न गिरोहबीच सम्पर्क गराइदिएका थिए । झा पक्राउ परे यो प्रकरणमा थप पाटो प्रस्ट हुने प्रहरी अधिकारी बताउँछन् । बिचौलियाहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि केपी ओलीका पिए राजेश बज्राचार्यसम्मलाई पैसा बुझाएको दाबी गरेका छन् । तैपनि थप प्रमाण खुल्न नसक्दा उनीहरूमाथि पहिलो चरणमा प्रहरीले अभियोग अघि बढाउन सकेन ।