१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अनलाइन जुवामा कलाकार ‘कनेक्सन’ : अवैध धन्दा प्रवर्द्धन गरेको आरोपमा तीन कलाकारसहित आठ पक्राउ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o३:oo

प्रहरीले अनलाइन जुवा (सट्टेबाज) खेलाउँदै आएको ‘वानएक्सबेट’लाई प्रवर्द्धन गरेको आरोपमा चल्तीका तीन कलाकारसहित आठ अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरूले पैसा लिएर उक्त अवैध काम गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्ने कलाकारहरू ‘राजु मास्टर’ भनिने राजु पौडेल, ‘बल्छी धुर्बे’ भनिने मरिचमान श्रेष्ठ र ‘म्याकुरी’ भनिने ‘पवन खतिवडा’ हुन् । त्यस्तै, युट्युबरहरू ‘भटभटे माइला’ भनिने बेगम नेपाली, असिम राई, जलन घर्तीमगर, गणेश देवकोटा र ‘ढेडुबुढा’ भनिने सरोज घिमिरे पक्राउ परेका छन् । उनीहरूले निजी युट्युब च्यानलमार्फत ‘वानएक्सबेट’को प्रवर्द्धन गरेको र त्यसबापत निश्चित रकम लिँदै आएको प्रहरी अनुसन्धानमा भेटिएको छ । 

एसएसपी डा. मनोज केसी प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
सट्टेबाजमा सर्वाधिक प्रयोग आएको ‘वानएक्सबेट’ प्रवर्द्धनमा केही कलाकार र युट्युबर प्रयोग भएको देखियो । उनीहरूले यसबापत रकमसमेत बुझेको देखियो । जुन कानुनी पक्षबाट हेर्दा गलत हो । त्यसैले उनीहरूलाई हामीले पक्राउ गरेका हौँ ।

प्रहरीका अनुसार राजु मास्टरले सात लाख, बल्छीले १२ लाख र म्याकुरीले सात लाख बुझेका छन् । त्यस्तै, युट्युबर राईले पाँच लाख, नेपालीले ६ लाख, घर्तीमगरले १५ लाख, देवकोटाले चार लाख र घिमिरेले ४० लाख रुपैयाँ बुझेको प्रहरीले जनाएको छ । उनीहरूले उक्त रकम सट्टेबाजका मुख्य एजेन्ट दिनेश खड्कामार्फत बुझेका थिए । उनीहरूले कनेक्ट आइपिएस प्रयोग गरी बैंक खातामा प्रवर्द्धनबापतको रकम बुझेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले सट्टेबाजमा प्रयोग हुने ‘वानएक्सबेट’ प्रवर्द्धन गरेको र रकम असुल गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सट्टेबाजमा सर्वाधिक प्रयोग आएको ‘वानएक्सबेट’ प्रवर्द्धनमा केही कलाकार र युट्युबर प्रयोग भएको देखियो । उनीहरूले यसबापत रकमसमेत बुझेको देखियो । जुन कानुनी पक्षबाट हेर्दा गलत हो । त्यसैले उनीहरूलाई हामीले पक्राउ गरेका हौँ ।’

प्रहरीले बुधबार सट्टेबाज धन्दाका मुख्य एजेन्ट खड्कासहित उनकी प्रेमिका अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेलाई पक्राउ गरेको थियो । सट्टेबाज खेलाउने क्रममा उनीहरूको बैंक खाताबाट ७४ करोड १३ लाख ५० हजार सात सय १३ रुपैयाँको कारोबार भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसीका अनुसार धन्दाका मुख्य योजनाकार दिनेशको खाताबाट मात्रै ६४ करोड रुपैयाँको कारोबार भएको देखिएको छ । कारोबारका लागि उनले जंगल, पुकुडन, पिंकी, पिन्टु, गुल्लु, अनियन– १ लगायत १२ अकाउन्टबाट कनेक्ट आइपिएस अकाउन्ट खोलेका थिए । उनले वानएक्सबेटमार्फत सट्टेबाज धन्दा चलाउँदै आएका थिए । धन्दामा संलग्न अनिताले मोबाइलमा बाइनेन्स अकाउन्ट खोली अमेरिकी डलर खरिद गर्दै आएकी थिइन् ।

त्यस्तै, दीपेशले विभिन्न चार सिमकार्ड प्रयोग गरी ई–सेवा लिएका थिए । उनले उक्त खातामार्फत ५९ लाख २९ हजारको कारोबार गरेको देखिएको छ । उनले विभिन्न बैंकमा रहेको खातामार्फत पनि कारोबार गर्दै आएका थिए । सबै गरी उनको बैंक खातामा सीमित अवधिभित्र पाँच करोड ५४ लाख ६६ हजारको कारोबार भएको खुलेको छ । 

आशिषले पनि विभिन्न बैंकमार्फत दुई करोड ९८ लाख ९६ हजारको कारोबार गरेको खुलेको छ । उनको साथबाट प्रहरीले ३५ लाख रुपैयाँ बरामद गरेको छ । उनी चार्टर एकाउन्टेन्ट हुन् । उनले सट्टेबाजका क्रममा हुने सबै कारोबारको अकाउन्ट अडिट गर्थे । जसको निश्चित रकम कमिसनबापत बुझ्थे । त्यस्तै, पक्राउ परेकामध्ये दिनेशको बैंक खातामा भने ४५ लाख रुपैयाँको कारोबार भएको अनुसन्धानबाट खुलेको छ । 

सट्टेबाज प्रवर्द्धनबापत कसले कति रकम बुझे ?
पक्राउ परेका आठैजनाले वानएक्सबेटका मुख्य एजेन्ट दिनेश खड्कामार्फत चार लाखदेखि ४० लाखसम्म बुझेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार उनीहरूले कनेक्ट आइपिएस प्रयोग गरी बैंक खातामा रकम बुझेका हुन् । ‘राजु मास्टर’ भनिने राजु पौडेलले सात लाख, ‘बल्छी धुर्बे’ भनिने मरिचमान श्रेष्ठले १२ लाख र ‘म्याकुरी’ भनिने पवन खतिवडाले सात लाख पाएको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यस्तै, ‘भटभटे माइला’ भनिने बेगम नेपालीले ६ लाख, असिम राईले पाँच लाख, जलन घर्तीमगरले १५ लाख, गणेश देवकोटाले चार लाख र ‘ढेडुबुढा’ भनिने सरोज घिमिरेले ४० लाख बुझेको भेटिएको प्रहरीले जनाएको छ ।

ad
ad