१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Monday, 15 July, 2024
एजेन्सी ओटाबा
२o८o जेठ २८ आइतबार १o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

Read Time : > 1 मिनेट
एजेन्सी, ओटाबा
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १o:१७:oo

चामत्कारिक घटना

विमान दुर्घटनाको ४० दिनपछि चारजना बालबालिकाको जीवितै उद्धार भएको छ । कोलम्बियामा यस्तो चामत्कारिक घटना भएको हो । देशको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चारजना बालबालिकाको जीवितै उद्धार गरेको हो । कोलम्बियाली अधिकारीका अनुसारसेनाले देशको अमेजन जंगलबाट तेह्र, नौ, चार र एक वर्षका बालबालिकालाई उद्धार गरेको हो ।

सान होसे डेल ग्वाभियर सहरतर्फ उडिरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जंगलमा दुर्घटना हुँदा विमानका चालक, ती बालबालिकाकी आमा र एक स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो । घटनास्थलमा अन्यको शव फेला परे पनि विमानमा सवार बालबालिका भने हराइरहेका थिए । विमान जंगलमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो । दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जंगल क्षेत्रको सम्पूर्ण जानकारी भएका ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो । उक्त दुर्घटनाले विश्व समुदायको समेत ध्यानाकर्षण गरेको थियो । 

हिंस्रक जंगली जनावर, विषालु सर्प र सशस्त्र लागुऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन । तर, खोजी टोलीले खुट्टाको छाप, एउटा डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो । वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जंगलमा फ्याँकेको थियो, जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो । ती पर्चामा सो घना जंगलमा कसरी बाँच्ने भन्नेबारे सुझाब पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए । साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए । 

अन्ततः ती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला परेका थिए । बेपत्ता ती बालबालिकामध्ये केही सिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए । साथै उनीहरू जंगलसँग राम्ररी परिचित पनि थिए । 

राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरूको जीवितै उद्धार गरिएको घोषणा गर्दै भने, ‘आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौँ ।’ हेलिकोप्टरबाट उनीहरूको उद्धार गरिएको हो । बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पु¥याइएको छ । राष्ट्रपतिले ट्विटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोसाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एकजना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ ।

ad
ad
ad
ad