अहिले औसतमा ५१ प्रतिशत उन्नत जातका गाई–गोरु, भैँसी छन्
नश्ल सुधार गरी नेपालको कृषि उत्पादन बढाएर आत्मनिर्भर बनाउने प्रयास सात दशकदेखि भइरहेको छ । तर, सोचेअनुसार उत्पादन हुन सकेको छैन । विसं २००८ मा तत्कालीन सरकारले बेलायतबाट छोटो सिङ भएका साँढे, जर्सी र ब्राउनस्विस जातका गाई र साँढे ल्याएको पशु विभागको अभिलेखमा उल्लेख छ । सोही समयमा पाकिस्तानबाट पनि रेड सिन्धी जातका साँढे ल्याई स्थानीय गाईहरूमा प्रयोग गरी वर्णशंकर बाच्छाबाच्छीहरू उत्पादन गर्ने र उत्पादकत्व बढाउने लक्ष्य लिएको देखिन्छ ।
विभागको अभिलेखअनुसार ०२६ मा कृत्रिम गर्भाधान आयोजना त्रिपुरेश्वरबाट जर्सी ब्राउनस्विस, आयरसायर तथा होलिस्टिन साँढेको वीर्य संकलन गर्न थालिएको थियो । साथै, तरल वीर्यबाट कृत्रिम गर्भाधान गराउने कार्यको सुरुवात भएको थियो । यसलाई निरन्तरता दिँदै सरकारले विभिन्न कालखण्डमा नश्ल सुधार गरी विभिन्न देशबाट उन्नत जातका गाई, साँढे, सिमोन (वीर्य) ल्याइरहेको छ । यसभन्दा अघि आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिकहरूका अनुसार विसं १९१७ मा श्री ३ जंगबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाईहरू ल्याएर पशुमा नश्ल सुधारको थालनी गरिएको पनि भनिन्छ ।
वार्षिक आठ लाख गर्भाधान पुग्ने वीर्य उत्पादन
सरकारले नश्ल सुधार गरी दूध उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सात दशक भए पनि अझै पर्याप्त उत्पादन नभएको पशु विभागका सूचना अघिकारी डा. चन्द्र ढकाल बताउँछन् । उनले भने, ‘अहिले हामी जति मात्रामा उन्नत जातमा फोकस हुनुपथ्र्यो, त्यति गम्भीर भएर यो क्षेत्रलाई हेरिएको छैन, सरकारले मात्र नभई निजी क्षेत्रले यसलाई व्यवसायका रूपमा लिने हो भने तीव्र गतिमा अघि बढ्छ र आत्मनिर्भर बन्न समय लाग्दैन ।’
पशु विभागका अनुसार वार्षिक आठ लाख गर्भाधान हुने सिमोन उत्पादन हुँदै आएको छ । पोखरा, नेपालगन्ज र लाहान पशु प्रजनन कार्यालयमा १८ वटा मुर्रा जातका राँगा, २१ वटा जर्सी साँढे, होलिस्टिन जातका २२ वटा साँढे, जैसवाल र गिर एक–एकवटा रहेका छन् ।
पोखरामा मुर्रा जातका आठवटा राँगा, १२ वटा उन्नत जातका जर्सी, १३ वटा होलिस्टिन जातका साँढेबाट सिमोन उत्पादन गरिन्छ । लहानमा दुईवटा मुर्रा राँगो छन् भने एउटाबाट सिमोन उत्पादन भइरहेको र अर्को हुर्किंदै छ । त्यस्तै, सातवटा होलिस्टिन जात छन् भने जर्सी ६ वटा, जैसवाल एक र गिर जातको साँढे एक रहेका छन् । त्यस्तै, नेपालगन्जमा तीनवटा र दुई होलिस्टिन जातका साँढे र आठवटा मुर्रा राँगा छन् । त्यस्तै, नौवटा बोयर बोका छन् । कृषि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा तीन लाख ६१ हजारलाई कृत्रिम गर्भाधान गराइएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा गरिएको एकीकृत सर्वेक्षण, ०७८/७९ को प्रतिवेदनअनुसार नेपालमा स्थानीयभन्दा उन्नत जातका पशु व्यवसायको संख्या बढेको देखिन्छ । अहिले औसतमा ५१ प्रतिशत उन्नत जातका गाई–गोरु, भैँसी रहेका छन् ।
पोखरा पशु प्रजनन कार्यालय प्रमुख दिननाथ पाण्डेका अनुसार वार्षिक पाँच लाख डोज सिमोनले माग धान्छ । माग आएकामध्ये पनि उत्कृष्ट गाई–भैँसीलाई कृत्रिम गर्भाधान गराउने उनको भनाइ छ । उनले भने, ‘बाहिरी मुलुकबाट पनि निःशुल्क सिमोन प्राप्त हुन्छ, विशेष कार्यक्रम गरेर केही वर्षको अन्तरालमा सिमोन, भ्रूण ल्याउने चलन छ ।’
नेपालमा अहिले ४४ हजार आठ सय ७३ वटा गाई–गोरुहरू व्यावसायिक रूपमा पालिएको तथ्यांक छ । जसमध्ये उन्नत जातका गाई–गोरुहरूको संख्या ७५ प्रतिशत छ । यिनीहरूमध्ये दूध दिने र नदिने गाईहरूको संख्या क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत छ ।
जातअनुसार मुर्रा जातको भैँसीबाट सबैभन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ । दूध दिने अवधिसम्ममा एक करोड २२ लाख लिटर दिने गरेको पाइन्छ भने मुर्रा जातको क्रसबाट एक बेतमा ६५ लाख ८४ हजार लिटर दिने गर्छ ।
त्यस्तै, एक लाख ५० हजारवटा बाख्राहरू व्यावसायिक रूपमा पालिएको मन्त्रालयको तथ्यांक छ । जसमध्ये उन्नत जातका बाख्राहरूको संख्या ६७ हजार ६७ अर्थात् ४५ प्रतिशत रहेको छ । यी उन्नत जातका बाख्राहरूमध्ये बोर जातका बाख्रा सबैभन्दा बढी अर्थात् ३१ हजार ६ सय ३७ संख्यामा रहेको छ भने त्यसपछि जमुनापारी जातका छन्, जसको संख्या २३ हजार ६ सय ६३ रहेको छ । सबैभन्दा बढी अर्थात् २२ प्रतिशत बाख्रा कोसीमा र सबैभन्दा कम अर्थात् ४ प्रतिशत मधेस प्रदेशमा रहेको छ ।
दूध उत्पादन बढ्यो, तर आत्मनिर्भर हुन सकेन
नश्ल सुधार कार्यक्रमले दूधको उत्पादन बढेको मन्त्रालयको तथ्यांक छ । आव ०७४/७५ मा वार्षिक दूध उत्पादन २० लाख ९२ हजार टन थियो । आव ०७८/७९ मा आइपुग्दा २५ लाख ६६ हजार टन भएको छ । वार्षिक करिब एक लाख टन दूध उत्पादन थप भइरहेको छ । दूध उत्पादन बढे पनि आत्मनिर्भर भने अझै हुन सकेको छैन । हरेक वर्ष भारतबाट दूध आयात भइरहेको छ । यस वर्ष दूध उद्योगहरूले दुग्ध विकास बोर्डमार्फत थप २० लाख लिटर दूध आयात गर्न मन्त्रालयमा प्रस्ताव बुझाएका छन् । अघिल्लो आवमा पनि २० लाख लिटर दूध आयात गरिएको थियो । त्यस्तै, मासुमा भने नेपाल आत्मनिर्भर बनेको छ । आव ०७४/७५ मा तीन लाख ४६ हजार टन रहेको मासु उत्पादन आव ०७८/७९ मा पाँच लाख १२ हजार टन पुगेको छ । मन्त्रालयका अनुसार औसतमा वार्षिक प्रतिव्यक्ति मासु न्यूनतम १४ किलोको माग भए पनि अहिले प्रतिव्यक्ति २१ किलो उत्पादन भइरहेको छ । तर, दूधमा प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक रहेकोमा ८८ लिटर उपलब्ध भइरहेको छ ।
भैँसीको मोलका सानेन बाख्रा
बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरमा एउटै सानेन जातको बाख्राको मूल्य दुई लाख रुपैयाँभन्दा बढी पर्ने कार्यक्रमका संयोजक कँडेलले बताए । उनका उनका अनुसार विशेष गरी यो जाताको ब्राखा मासु खानभन्दा पनि दूध उत्पादनका लागि किन्ने गरिन्छ । अमेरिकाबाट ०७१ सालमा खरिद गरिएको बाख्रा खाद्य सुरक्षा आयोजना (विश्व खाद्य संगठन)अन्तर्गत आएको हो । कँडेल भन्छन्, ‘सानेनले एकपटकमा पाँच लिटरसम्म दूध दिन्छ, क्रस भएमा तीन लिटरसम्म दिन्छ ।’ विशेष गरी बच्चालाई खुवाउन उपयुक्त पोसिलो हुने उनको भनाइ छ । उनका अनुसार हाल दूध दिने २२ वटा रहेका छन् । पिओर बोर दुई सय २२ वटा रहेका छन् । अहिले ५९ वटा सानेन जातका बाख्रा रहेका छन् ।
कुन देशबाट कस्ता पशु आयात ?
सरकारले अमेरिकाबाट ०७८ फागुनमा ल्याएका सातवटा साँढे पोखरा पशु प्रजनन कार्यालयमा राखिएको छ । प्रतिसाँढेको १८ लाख खर्चेर ल्याएको साँढेले वीर्य उत्पादन गर्न थालेको मन्त्रालयले जनाएको छ । त्यस्तै, खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत ०७१ मा अस्ट्रेलिया र अफ्रिकाबाट सयवटा बोयर बोका ल्याइएको थियो । त्यसबाट क्रसब्रिड गराउने, लोकल बाख्रालाई पनि लगाउने गरिँदै आएको ब्राखा अनुसन्धान कार्यक्रमका बन्दीपुरका प्रमुख राजु कँडेलले जानकारी दिए । उनले भने, ‘यसको मासु अन्य लोकल मासुको तुलनामा झन्डै २० किलोसम्म बढी हुन्छ र किसानहरू यसमा बढी आकर्षित छन् ।’ त्यस्तै, हेफर नेपालको सहयोगमा दक्षिण कोरियाबाट होलिस्टिन फ्रिजनका, साँढे–गाई गरी ६३ वटा गत वर्ष पुसमा प्राप्त भएको छ । जसमा ६ वटा साँढे ५७ वटा बाच्छी रहेका छन् । थप २२ वटा बाच्छी आउनेक्रममा रहेको पशु आनुवंशिक केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाललाई उन्नत जातका १५ वटा मुर्रा राँगो दिने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ०७५ सालमै नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा ३० वटा उन्नत जातका मुुर्रा राँगो नेपाल सरकारबाट माग भएको थियो । सोहीअनुसार उच्च प्रजनन क्षमता भएका बिउ राँगो आपूर्तिका लागि औपचारिक प्रस्ताव गरेको भए पनि निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमका १५ वटा उपलब्ध गराउने भएको हो । मन्त्रालयका अनुसार उक्त राँगाहरूलाई राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लाहानमा उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइनेछ ।