१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Monday, 01 July, 2024
२o८o जेठ १७ बुधबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाटाको शिखर सम्मेलन र एड्भेन्चर ट्राभल मार्ट सुरु

 २२ देशका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार o८:o९:oo

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर ट्राभल मार्ट २०२३ पोखरामा मंगलबारदेखि सुरु भएको छ । सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको नेपालले पाटा वार्षिक शिखर सम्मेलन पहिलोपटक आयोजना गरेको हो भने एड्भेन्चर मार्ट तेस्रोपटक आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको प्रचुर सम्भावना रहेको पोखरामा यस्ता कार्यक्रमले थप सहयोग मिल्ने बताए । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र विस्तारको कामलाई प्राथमिकतामा राखेको भनाइसमेत उनको थियो । पाण्डेले सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्न विभिन्न वायुसेवा कम्पनीहरू इच्छुक रहेको र केही समयपछि विदेशमा उडान सुरु हुने बताएका छन् । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीका अनुसार सम्मेलनमा २२ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहेको छ । त्यस्तै, ट्राभल मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा मल्दिभ्सका पर्यटनमन्त्रीसमेत सहभागी छन् ।

कार्यक्रम आयोजना गर्न पाउँदा नेपाल सरकार, बोर्डसँगै पर्यटन जगत् उत्साहित रहेको र यसले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरिएको रेग्मीले बताए । कार्यक्रममार्फत पर्यटक आगमनमा वृद्धिसँगै सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । 

नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेट फर्ममा अवसर प्रदान गर्दै दुई दिनसम्म विशेष व्यापार–व्यवसाय सत्र सञ्चालनसमेत हुनेछ । सम्मेलनमा विभिन्न कार्यशालासँगै र बिटुबी मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारणसभासमेत सम्पन्न हुनेछ ।  

कार्यक्रमले कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरी पोखरा र गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न कोसेढुंगा साबित हुने पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज दाहालको भनाइ छ । बोर्ड, पोखरा पर्यटन परिषद्, पाटा इन्टरनेसनल र पोखराका समग्र व्यवसायीहरू कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन क्षेत्रलाई माथि उठाउनेमा विश्वस्त रहेको भनाइ भण्डारीको छ । 

नेपालले पहिलोपटक आयोजना गरेको सम्मेलनले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलको भनाइ छ । गत जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै नेपालको पर्यटकीय राजधानी भनेर चिनिने पोखरामा सुरु कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा आफूहरूको रहेको सिग्देलको भनाइ छ । प्रसिद्ध ब्लगरहरूको समेत सहभागिता रहने कार्यक्रमका सहभागीहरूले लुम्बिनी, चितवन, बर्दिया, जोमसोमलगायत गन्तव्यको भ्रमण गर्ने छन् ।

ad
ad
ad
ad