१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
स्वर्णिम वाग्ले
२०८० जेठ १५ सोमबार २२:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

...तैपनि शंकाको लाभ दिन्छौँ

Read Time : > 2 मिनेट
स्वर्णिम वाग्ले
२०८० जेठ १५ सोमबार २२:१४:००

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको आय र व्ययको विनियोजनलाई हेर्दा आय अविश्वसनीय देखिन्छ । व्यय पनि इच्छाप्रेरित छ । यसपटक झन्डै–झन्डै १७ सय ५१ अर्बको बजेट ल्याइएको छ । पोहोर १७ सय ९४ अर्बको बजेट ल्याइएको थियो । त्यो अति नै हावादारी भयो भनेर अर्थ मन्त्रालयले नै केही महिनाअगाडि त्यसलाई १५ सय ५० अर्ब पुग्दैन भनेको अवस्थामा अहिले झन्डै–झन्डै दुई सय अर्ब थपेर ल्याइएको छ । त्यसैले सुरुमै अविश्वासको बिउ रोपिएको छ । 

मानिदिउँ १२ सय अर्ब राजस्व र ५० अर्ब वैदेशिक अनुदान गरेर १२ सय ५० अर्ब पुर्‍याउनुभयो भने पनि १७ सय ५१ मा बाँकी रहने भ्वाँङ कसरी पुर्नुहुन्छ ?

हिजो साँझसम्म आठ सय पनि राजस्व उठेको छैन । यो आर्थिक वर्ष सकिन डेढ महिना छ । बाँकी अवधिमा बत्तिएर राजस्व उठाउनुभयो भने पनि एक हजार पुग्ने होला । यसैलाई मान्दा पनि आउँदो वर्ष १२ सय अर्बको हाराहारीमा राजस्व उठाउनुहोला । पोहोर विदेशी अनुदान ५५ अर्ब ल्याउँछौँ भनिएको थियो, पाँच अर्ब पनि आएको छैन । यसपालि फेरि झन्डै–झन्डै ५० अर्ब ल्याउँछौँ भनेर भनिएको छ । अविश्वासको बिउ यहाँ पनि रोपिएको छ । तर, मानिदिउँ १२ सय अर्ब राजस्व र ५० अर्ब वैदेशिक अनुदान गरेर १२ सय ५० अर्ब पुर्‍याउनुभयो भने पनि १७ सय ५१ मा बाँकी रहने भ्वाँङ कसरी पुर्नुहुन्छ ?

यसका लागि अर्थमन्त्रीले विदेशी र स्वदेशी ऋण उठाउँछु भन्नुभएको छ । यो ठूलो ग्याप हो । विदेशी ऋण लिएर गर्ने पुँजीगत खर्च ५० प्रतिशत पनि भइरहेको छैन । त्यसैले अविश्वासको बिउलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । 

शंकाको लाभ दिन्छौँ
यति हुँदाहुँदै पनि हामी रचनात्मक प्रतिपक्षी भएको हुनाले अर्थमन्त्री र अहिलेको सरकारलाई हामी केही शंकाको लाभ दिन चाहन्छौँ । शंकाको लाभ केमा दिन चाहन्छौँ भने बजेटले निजी लगानीका मुद्दाहरूमा केही सकारात्मक प्रयास अर्थमन्त्रीले गर्नुभएको छ । अब राज्यसंयन्त्रको क्षमता इत्यादि यही नै हो । कर्मचारीतन्त्र इत्यादि यही नै हो । तैपनि राष्ट्रिय स्वतन्त्र पार्टीले निजी लगानीहरूका बुँदामा शंकाको लाभ दिन चाहन्छ । 

फजुल खर्चहरूलाई कटौती गर्ने भन्नुभएको छ २० वटाजति सार्वजनिक संस्थानहरू खारेज गरेर देखाउँछु भन्नुभएको छ, त्यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । 

उहाँले पुँजीगत खर्च बढाउनका लागि यी–यी कुरामा सरलीकरण गर्छु भन्नुभएको छ, त्यहाँ पनि हाम्रो सकारात्मक समर्थन छ । तर, विरोधाभाष पनि हामी नोट गराउँछौँ । पाेहोर तीन सय ८० अर्बको पुँजीगत खर्च राखिएकोमा अहिले घटाएर तीन सय दुई अर्ब मात्रै पुँजीगत खर्च राखिएको छ । तर, बजेटको सुरुमै अर्थमन्त्रीले यो गर्छु, त्यो गर्छु भनेर अनेक वाचा गर्नुभएको छ । पुँजीगत खर्च नै घटाएर त्यो वाचा पूरा गर्न कसरी सम्भव होला ?

अर्को राम्रो पक्ष फजुल खर्चहरूलाई कटौती गर्ने भन्नुभएको छ २० वटाजति सार्वजनिक संस्थानहरू खारेज गरेर देखाउँछु भन्नुभएको छ, त्यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । 

नागरिकलाई सरोकार राख्ने केही सेवा प्रवाहहरू इलेक्ट्रोनिक माध्यमबाट गर्छौँ, नागरिकका हैरानी कम गर्छौँ भन्नुभएको छ त्यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । 

मैले लामो समयदेखि उठाउँदै आएको लोककल्याणकारी राज्यको अवधारणाअन्तर्गत कोखदेखि शोकसम्म भन्ने कार्यक्रम राखिएको छ । यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । 

क्षेत्रगत प्राथमिकतामा भने यथास्थितिकै निरन्तरता भएको छ । त्यसमा कनिका छरेजस्तो भएको छ । ती कार्यक्रम कार्यान्वयन हुन्छन् भन्नेमा हामीलाई शंका नै छ । लामखुट्टेका लार्भा खोजेर मार्छु भनेजस्ता हल्काफुल्का कुरा पनि बजेटमा पारिएका छन्, जुन आवश्यक थिएन । 
(सांसद तथा अर्थशास्त्री डा. वाग्लेले बजेटबारे दिएको प्रतिक्रियाको सम्पादित अंश)