धर्म र चमत्कार अक्सर एकसाथ हिँड्छन् । भर्खरै आफ्नो ७५औँ जन्मदिन मनाएको यहुदी राज्य इजरायल आफैँमा एक चमत्कार हो । केही अर्थमा इजरालको अस्तित्व चमत्कारी छ, किनकि नवजातकालमै यो मुलुकको घाँटी आफूभन्दा निकै ठूलो सैन्य सामथ्र्यका अरब छिमेकीबाट सन् १९४८ मा झन्डै निमोठिएको थियो ।
त्यसयता, इजरायलले थुप्रै युद्धको सामना गरेको छ । साथै, केही आक्रमण गरेको पनि छ । तर, आश्चर्य के भने इजरायल तिनमा बाँचेको मात्र होइन, फस्टाएको पनि छ । आज, यो करिब एक करोड मानिसको देश हो । अधिनायकवादको रजगज रहेको यो भेगमा इजरायल एक लोकतान्त्रिक मुलुक हो । कुनै प्राकृतिक स्रोतसाधन नभए पनि विश्वस्तरीय प्रविधि क्षेत्रसहित उसको अर्थतन्त्र फस्टाउँदै गएको छ । वार्षिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५५ हजार अमेरिकी डलर जति छ । ऊ क्यानडा, जापान र युरोपको अधिकांश भागभन्दा अगाडि छ र विश्वका शीर्ष २० देशमा पर्छ ।
इजरायलका असाधारण उपलब्धिका कारण नै इजरायलका अधिकांश अरब छिमेकी उसको अस्तित्व स्वीकार गर्ने स्थितिमा पुगेका हुन् । इजरायलले अहिले इजिप्ट र जोर्डनका साथै मोरक्को, संयुक्त अरब इमिरेट्स र बहराइनसँग औपचारिक शान्ति स्थापना गरेको छ । साउदी अरेबियालगायत अन्य अरब राष्ट्रसँग अनौपचारिक सम्बन्धलाई बढाउँदै लगेर यस क्षेत्रमा अमेरिकी उपस्थितिलाई राहत दिएको छ । इजरायललाई इरान सिर्जित खतराहरूको सामना गर्ने एक महत्वपूर्ण साझेदारका रूपमा हेरिएको छ ।
तर इजरायलको भविष्य अझै पनि असहज र अनिश्चित लाग्छ । पहिलो, बाह्य खतराहरू निरन्तर छन् । सिरिया गृहयुद्धमाझ इरानी प्रोक्सीहरूको एक सुरक्षित आश्रय स्थल बनेको छ । त्यस्तै इजरायलको उत्तरी सीमाको ठिक पारि लेबनानमा हिजबुल्लाहले राज्यभित्र इरान समर्थित राज्य स्थापित गरेका छन् । जहाँबाट एक लाखभन्दा बढी रकेट इजरायलतर्फ सोझिइसकेका छन् । जहाँसम्म इरानको कुरा छ, ऊ अब केही हप्ताभित्रै थुप्रै आणविक बमका लागि पर्याप्त युरेनियम उत्पादन गर्न सक्ने स्थितिमा छ । अर्थात् ऊ इजरायललाई आक्रमणको धम्की दिने क्षमतानजिक पुगेको छ ।
लोकतान्त्रिक देश रहन चाहन्छ भने इजरायलले ५० लाख प्यालेस्टिनीलाई नागरिकता र नागरिक अधिकारबाट वञ्चित गरिराख्न सक्दैन
इजरायलको एउटा ठूलो समस्या नसुल्झिएको प्यालेस्टाइनी मुद्दा पनि हो । यो मूलतः सन् १९६७ को जुनमा भएको ६ दिने युद्धको परिणाम हो, जुन युद्धले इजरायलको मार्ग नै परिवर्तन गरेको थियो । अहिले इजरायलले कब्जा गरेको भूमिमा करिब ५० लाख प्यालेस्टिनीको बसोवास छ । छुट्टै प्यालेस्टाइनी राज्य बनाउने वार्ता थुप्रैपटक सफलतानजिक पुगेको पनि हो । तर, अपूर्ण भन्दै ती प्रस्तावलाई प्यालेस्टिनीले स्वीकार गर्न इन्कार गरिरहे । यो त्यहाँका नेतृत्वको ठूलो असफलतालाई नै प्रतिबिम्बित गर्छ । इजरायल र प्यालेस्टाइनको राजनीतिलाई हेर्दा दुई राज्य समाधानको सम्भावना टर्दै गएको प्रतीत हुन्छ, जुन प्यालेस्टाइनीका लागि पक्कै पनि राम्रो होइन, इजरायलको लोकतन्त्र र सुरक्षाका लागि पनि राम्रो होइन । निरन्तर कब्जाका लागि ठूलो र स्थायी सैन्य उपस्थितिको आवश्यकता हुन्छ, साथै यसले विश्वमा इजरायलको स्थितिलाई पनि कमजोर पार्छ ।
तेस्रो चुनौती आन्तरिक हो । इजरायलको स्थापना मुख्यतः युरोपबाट आएका यहुदी शरणार्थीले गरेका हुन् । त्यसपछि मध्यपूर्व र पूर्वसोभियत संघबाट आप्रवासीको ठूलो लहर आयो । आजको इजरायल तिनै आप्रवासी, तिनका वंशज र सन् १९४८ भन्दा पहिलेबाट इजरायलको वर्तमान सीमाभित्र बसिरहेका इसाई र मुस्लिम अरबहरू (जसलाई अक्सर इजरायली अरब वा अरब मूलका इजरायली भनिन्छ)द्वारा निर्मित छ ।
परिणामतः इजरायल अहिले आफ्नो पहिचान छनोट गर्ने स्थितिमा पुगेको छ । यदि यो लोकतान्त्रिक राज्य रहिरहन चाहन्छ भने उसले ५० लाख प्यालेस्टिनीमाथि शासन गर्न र उनीहरूलाई नागरिकता र अधिकारबाट वञ्चित गरिरहन सक्दैन । तर, यदि ऊ एक यहुदी राष्ट्र नै रहिरहन चाहन्छ भने उसले २० लाख इजरायली अरबको जनसंख्यामा ५० लाख प्यालेस्टाइनी थपिएको देशमाथि शासन गर्न पनि सक्दैन । उसले केही न केही त छाड्नैपर्छ ।
चरमपन्थी यहुदीको जनसंख्यामा तीव्र वृद्धि एउटा अर्काे आयाम हो । उनीहरूको संख्या अहिल १३ लाखजति छ । इजरायल कसरी चल्नुपर्छ भन्ने विचारमा तिनले ठूलो प्रभाव पार्छन् । इजरायलीका लागि सैन्यसेवा अनिवार्य भए पनि उग्र–अर्थाेडक्सलाई छुट छ । उनीहरूमध्ये धेरैले कामको सट्टा अध्ययन र प्रार्थना रोज्छन् । राजनीतिक प्रक्रियाको माध्यमबाट उनीहरू यस्तो समाज ल्याउन खोज्छन्, जहाँ धार्मिक हितलाई धर्मनिरपेक्ष इजरायलीको इच्छाभन्दा बढी प्राथमिकता दिइयोस् । जनसांख्यिकीय प्रवृत्तिले अन्ततः उनीहरू सफल हुने देखाउँछ ।
फलस्वरूप ७५ वर्षको उमेरमा पनि इजरायलले आफ्नो प्रारम्भिक कालखण्डका आक्रमणकारी सेनाहरूले खडा गरेका चुनौतीजत्तिकै चुनौतीको सामना गर्नु परिरहेको छ । स्वतन्त्र न्यायपालिकामाथि राजनीतिक नियन्त्रण बढाउने प्रस्तावित सुधारका विरोधमा हालैका विरोध प्रदर्शनले इजरायल एक ध्रुवीकृत लोकतान्त्रिक देश भएको उजागर गर्छ । यी सबैले एउटा नयाँ समस्या सिर्जना गरेका छन् । इजरायलले आफ्नो अधिकांश काम आफ्नै प्रयासबाट गरेको छ, तर उसले आफ्नो इतिहासको अधिकांश समय अमेरिकाको पर्याप्त आर्थिक, सैन्य, कूटनीतिक समर्थन र अमेरिकी यहुदीहरूको साथ सहयोग प्राप्त गरेको छ । इजरायलले अलोकतान्त्रिक र धार्मिक अतिवादलाई अंगीकार गर्ने हो भने ती सहयोग प्राप्त हुन्छन् कि हुँदैनन् भन्न सकिन्न ।
(हास काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष हुन् ।) प्रोजेक्ट सिन्डिकेटबाट