एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै खोलानाला पार गर्नुपथ्र्याे ।
एकदिन, ती नुन व्यापारी सहरबाट नुन किनेर फर्किँदै थिए । नुनको गह्रौँ भारी गधाले बोकिरहेको थियो । एउटा खोला पार गर्ने क्रममा त्यो गधा लड्न पुग्यो । पानीले भिजेर केही नुन पग्लियो । जब त्यो गधा उठेर हिँड्न थाल्यो उसलाई भारी केही हलुका भएको महसुस भयो । त्यस दिनदेखि सहरबाट नुन बोकेर हरेकपटक फर्किँदा खोलाको बीचमा पुगेपछि त्यो गधा लड्न थाल्यो ।
व्यापारीलाई गधामाथि शंका लाग्यो र उसले एकपटकचाहिँ कपास किन्यो र गधालाई बोकाएर ल्यायो । गधाले यसपटकको भारी असामान्य रूपमा हलुका भएको महसुस गर्यो । उसले सोच्यो, म आज पनि खोलामा लडेँ भने त यो भारी अझै हलुका हुनेछ । घर फर्कने क्रममा गधा सधैँझैँ चिप्लिएजस्तो गरी खोलामा लड्यो । तर अपसोस, गधा जति उठ्न खोज्थ्यो भारी उति नै गह्रुँगो हुन्थ्यो ।
कपासले पानी सोस्दा भारी गह्रुँगो भएको थियो । व्यापारीले गधालाई उठेर नहिँड्दासम्म लौरोले हिर्काइरह्यो । त्यसपछि त्यो गधा खोला तर्ने क्रममा कहिल्यै पनि खोलामा लडेन । गधाले बेइमानीको मूल्य जहिल्यै पनि महँगो हुनेरहेछ भन्ने बुझ्यो ।