Skip This
अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २४ आइतबार ११:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार ११:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्। 

‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन्। 

‘नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो टाट पल्टिन लाग्यो भनेर गत वर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन। हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ। तर, हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ।’ 

कोभिड– १९ महामारी र रुस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए। अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ। 

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले बताए। 

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ।

‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागिपरिरहेको छ। विभिन्न चुनौतीका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रस्ट पारेका छन्,’ उनले भने। 

अन्य विकसित र विकासशील मुलुकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरूले गरेको प्रक्षेपणका बाबजुद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी छ।

‘विगत केही समयदेखि शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ,’ उनले भने। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ। 

‘नेपाल जल, जमिन, जडीबुटी, जंगल र युवा जनशक्तिजस्ता स्रोतहरूले भरिपूर्ण देश हो। यिनै क्षेत्रहरूमा देखिएका प्रचुर सम्भावनाहरूको खोजी, परिचालन एवं उपयोगविना समृद्ध नेपाल निर्माण सम्भव देखिँदैन,’ उनले भने, ‘तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वेदशी/वैदेशिक लगानी बिस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ।’

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए। कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ। 

साथै, अर्थतन्त्रका बृहत् आर्थिक सूचक सकारात्मक बनाउन गरिने पहलबाट तरलता अभाव टारिने र वैदेशिक विनिमय सञ्चिति बढ्दै जाने हुनाले यसतर्फ सरकार गम्भीर रहेको दाहालले बताए।