१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o८o बैशाख २० बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाइजो प्रथालाई चुनौती दिँदै विनोद र कृतिले गरे आदर्श विवाह

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १o:२५:oo

तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विनादाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका– ५ का युवा विनोद यादवले विनादाइजो विवाह गरेका हुन् । यहाँ विनादाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो वेला दाइजोविना विवाह गर्नु भनेको सिंगो समाजलाई नै चुनौती दिनु हो । विनोदले विनादाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।

उनी सप्तरीका नेपाल विद्युत् प्राधिकरणबाट आवकाश प्राप्त कर्मचारी असर्फी यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विनादाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले मोरङको जहदा गाउँपालिका– १ का अर्जुन  यादवकी छोरी कृति यादवसँग आदर्श विवाह गरेका हुन् । कृतिका बुवा भने सामान्य किसान परिवारका हुन् ।

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरू विनादाइजो विवाहका लागि सहमत भएका थिए ।दाइजोकै कारण तय भएको विवाहसमेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिनेजस्ता घोर निन्दनीय घटना भइरहँदा विनादाइजोको विवाह भइरहेको भनी जानकारी पाएपछि उनीहरूलाई बधाईसहित शुभकामना दिन प्रतिष्ठित व्यक्तित्वहरूसमेत वैवाहिक समारोहमा उपस्थित भए । 

दाइजो प्रथालाई निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन आदर्श विवाह गरेको  विनोदले बताए । सामाजिक परिवर्तनका लागि सुरुवात आफैँबाट गर्नुपर्ने भन्दै विनोदले  दाइजो लिनेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए । विनोद हाल ग्लोबल आइएमई बैंकमा  कार्यरत छन् ।

दुलही कृतिले छोरा–छोरीबीचको विभेद मेटाएर अभिभावकहरूले छोरासरह छोरी पढाएर सक्षम बनाउँदै  शिक्षित युवाहरूले दाइजोलाई बहिष्कार गर्नुपर्ने बताइन् ।  पढेलेखेका युवाहरू नै दाइजोरूपी लेनदेनमा संलग्न हुन्छन् भने शिक्षा र उपाधिको कुनै अर्थ नहुने उनको भनाइ छ ।