एक शिष्यले आफ्ना गुरुसित गुनासो गरे— गुरुदेव ! म नियमित भगवान्को नाम जप्छु, प्रार्थना र पूजा अर्चना गर्छु । आश्रममा हुने धर्मचर्चामा सहभागी हुन्छु । ध्यानमा रमाउँछु । तैपनि, मेरा मनमा वेलावेलामा कुभावना उत्पन्न भइरहन्छन् । यस्तो किन हुन्छ होला ?
गुरुले शिष्यलाई सम्झाउँदै एउटा कथा सुनाए– एकजना मानिसले एउटा कुकुर पालेका थिए । उनी रातदिन त्यसैलाई लिएर मग्न रहन्थे । कहिले त्यसलाई काखमा राख्थे भने कहिले त्यसलाई अँगालोमा कसिरहन्थे । उनको यस्तो हर्कत देखेपछि उनका एक आफन्तले उनलाई सावधान गराउँदै भने– कुकुरजस्तो अबोध प्राणीलाई माया गर्नु ठीकै हो । तर, त्यसलाई यति धेरै माया गर्दा कुनै दिन यसले टोक्न पनि सक्छ । आखिर यो जनावर न पर्यो ।
आफन्तको सल्लाह उनलाई ठीकै हो जस्तो लाग्यो । उनले कुकुरलाई तत्काल काखबाट भुइँमा राखे र मनमनै त्यसलाई फेरि कहिल्यै काखमा नराख्ने प्रण पनि गरे । तर, उनले त्यति धेरै माया दिएर हुर्काएको कुकुरलाई यो सब कसरी थाहा होस् र ? ऊ आफ्ना मालिकलाई देख्नासाथ दौडेर उसको काखमा बस्न पुगिहाल्थ्यो । मालिकले उसलाई हप्काएर, कुटपिट गरेर भगाउने कोसिस गरिरहे । लामो समयको प्रयासपछि मात्र मालिकको काखमा बस्ने कुकुरको बानी छुट्यो । ऊ बिस्तारै आफैँ पर हुन थाल्यो ।
हो, तिमी पनि यस्तै छौ । जुन कुकुरलाई तिमीले यति लामो समयदेखि अँगालो मार्ने र काखमा राखेर माया गर्ने काम गर्दै आएका छौ, त्यसबाट तिमीले छुटकारा पाउन खोजे पनि यति सजिलै त्यसले तिमीलाई कसरी छोड्न सक्छ र ? त्यसैले, तिमी त्यसलाई माया गर्न छाडिदेऊ । त्यो तिम्रो काखमा बस्न आयो भने त्यसलाई तिरस्कार गर । केही समयमा तिमी त्यसबाट मुक्त हुन सक्छौ । शिष्यले आफ्नो समस्याको समाधान पाइसकेका थिए । गुरुलाई धन्यवाद दिएर उनी आफ्नो काममा लागे ।