मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Saturday, 21 December, 2024
रासस कैलाली
२o७९ चैत २६ आइतबार १४:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हराउँदै रैथाने बालीको बिउ

Read Time : > 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार १४:५१:oo

कैलाली गेटा गाउँका किसान रामदिन रानाथारू चार दशकअघि स्वठ्यारी, राईमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन्। चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वस्थकर र पोषिलो हुने रैथाने खाद्यान्नको बिउ हराउँदा भने उनलाई चिन्ता लागेको छ ।

उमेरले ६५ वर्ष पुगेका रानाले भने, ‘अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ ।’ कञ्चनपुरका निरुप्रसाद चौधरी त्यसवेला विषादी र रासायनिक मलको प्रयोगविना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउँछन्। ‘रैथाने जातका धान, गहुँलगायतका बालीको बिउ पाउनै मुस्किल भइसकेको छ,’ उनले भने, ‘पहिलेको तुलनामा कृषियन्त्रको प्रयोगले भने काम गर्न सहज भएको छ ।’

एक तथ्यांकका अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झन्डै ९० प्रतिशत छ । केवल १० प्रतिशतले मात्रै रैथाने साग, तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् ।

असन्तुलित रूपमा बालीमा विषादीको प्रयोग गरी उत्पादन हुने र विदेशबाट आयातीत खाद्यान्नको उपभोग मानव स्वास्थ्यका लागि जोखिम हुने सक्ने कृषि प्राविधिकको भनाइ छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषि जैविक विविधतामा भइरहेको निरन्तरको ह्रासले गम्भीर समस्या निम्त्याउन सक्ने देखिएको बताए। ‘हाल उपभोगमा रहेको तरकारीका जातमा झन्डै ९० प्रतिशत उन्नत (वर्णशंकर) छन्, १० प्रतिशत मात्र रैथाने छन्,’ निर्देशक जोशीले भने, ‘वर्षौँअघिसम्म खेती गरिने गुर्रा, राईमुनुवा, सौंठेरीजस्ता धानका रैथानेबाली लोप भइसकेका छन् ।’ 

जैविक विविधतामा धनी नेपाल हावापानीको दृष्टिमा पनि विश्वमै नमुना देशको रूपमा छ । वासस्थान विनाश, आधुनिक खेती प्रणालीमा हुने गरेका कतिपय नकारात्मक अभ्यास र मानवसिर्जित विभिन्न कारणले कृषि जैविक विविधतालगायत समग्र जैविक विविधतामा ह्रास हुँदै गइरहेको छ । रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पुर्‍याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने जानकारहरू बताउँछन् । 

नेपालम रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपक्षी, जलियकिरा, सूक्ष्म जीवाणुजन्य अनुवांशिक स्रोत)मध्ये झन्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरको पहिचानका रूपमा रहेको रैथाने जातको थारू आलु, डोटीको जोरायली बासमती धान, हंशराज बासमती धान, अनदी धानलगायतका रैथाने बालीको संरक्षण र प्रवर्द्धनजस्ता कृषि गतिविधि भइरहेका छन् ।  

कृषि जैविक विधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचारप्रसार गर्न र सरोकारवालाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सक्रिय रूपमा लाग्न उत्प्रेरित गर्ने गराउने उद्देश्यले सरकारले चालू वर्षदेखि प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय जैविक विविधता दिवस मनाउने घोषणा गरिसकेको छ ।
   
यसअन्तर्गत जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत  गर्ने, रैथाने बाली, जातका बिउ तथा रैथाने एवं परम्परागत प्रविधि–सामग्रीको संकलन र प्रदर्शन, रैथाने पशुपक्षीका रूपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरू, लमपुच्छ्रे, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरू, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुंगुरलगायतको संरक्षण र प्रवर्द्धनसम्बन्धी गतिविधि गरिने जनाइएको छ ।

लोपोन्मुख घाँसेबाली, मत्स्य प्रजातिको संरक्षका साथै प्राकृतिक जलाशयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधीकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ ।