राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ।
लोकमार्गको जिल्लामा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याणबेँसीसम्मको ७० प्रतिशत निर्माण कार्य सकिएको छ। पाउदीदेखि मध्यनेपाल र कास्की सीमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम भइरहेको छ।
‘यस वर्ष पाउदीदेखि सत्र सयसम्म सडक चौडा पारी ग्राभेलिङको काम सम्पन्न हुन्छ,’ आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले बताए, ‘किरिन्चे, कोइरालाफाँट, रातमाटासम्म जेठ मसान्तभित्र कालोपत्रे सम्पन्न हुनेछ।’
सोबाहेक रातमाटादेखि मध्यनेपालकै कल्याणबेँसीसम्मको काम पनि चालू वर्षमै सम्पन्न गर्ने योजना रहेको इन्जिनियर मिश्रले बताए। बाँकी करिब ६ किलोमिटर सडक खण्डमा केही प्राविधिक व्यवस्थापन बाँकी रहेकाले उक्त ठाउँको काम सुरु हुन नसकेको मिश्रको भनाइ छ।
लोकमार्गअन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रे भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ। हाललाई सुन्दरबजार र भोर्लेटारको बजार क्षेत्रका संरचनामा कुनै क्षति नपुर्याई सडक स्तरोन्नतिको काम सुरु भएको छ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो। तर, सरोकारवालाको पहलमा सुन्दरबजारको विवाद समाधानपछि अधिकांश काम चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरी तीव्रगतिमा हुन थालेको आयोजनाले जनाएको हो। १७०० मिटर रानीपानीचोकबाट मिदिम पुलको चोकसम्म भने विवाद कायमै छ।
आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार ७ सय ६५ किलोमिटर लामो हुने छ। करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७ सय ५६ किमी नयाँ ट्र्याक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ।