१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र पूर्वडिआइजी रमेश खरेललाई पार्टी प्रवेश गराउँदै रास्वपा सभापति रवि लामिछाने ।
अनिल यादव काठमाडाैं
२०७९ चैत १९ आइतबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धन नगरी चुनाव लड्दै रास्वपा

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ चैत १९ आइतबार ०६:५०:००

उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावी मैदानमा उत्रने भएको छ । शनिबार पार्टी कार्यालय वसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन तोकिएका तीनवटै निर्वाचन क्षेत्रको उम्मेदवार सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र बारा २ मा पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार घोषणा गरेको छ । पत्रकार सम्मेलनमा तीनैजनालाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट दिएका थिए ।

रास्वपाका सभापति लामिछानेले चुनावमा गठबन्धन गरेर लड्ने संस्कार रोक्न निर्वाचन आयोगले नै भूमिका खेल्नुपर्ने बताए । ‘निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनावमा जानबाट रोक्नुपर्छ,’ उनले भने, ‘साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।’

पत्रकार सम्मेलनमा सभापति लामिछानेले रास्वपा आगामी चुनावमा बहुमत ल्याउने गरी अघि बढेको भन्दै चाँडै देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्ने दाबी गरे । डा. वाग्ले र खरेलको पार्टी प्रवेशलाई उनले जनाउ घन्टीको संकेत दिए । ‘यो जनाउ घन्टी मात्रै हो,’ लामिछानेले भने, ‘डा. स्वर्णिम वाग्ले, रमेश खरेलबारे आमनागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौँ क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घन्टी मात्रै हो । सम्पूर्ण होइन ।’

आफ्नो विज्ञता प्रस्तुत गर्न उपयुक्त ठाउँको खोजीमा रहेका विज्ञहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ राखिरहेको लामिछानेले बताए । ‘कहाँ गएर विज्ञता प्रस्तुत गरौँ, कहाँ गएर यो मुलुकको सेवा गरौँ भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौँ,’ उनले भने, ‘म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कैयौँ यस्ता क्षमतावान व्यक्तित्व यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ । निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ ।’

उपनिर्वाचनअघि सरकारमा नजाने 
राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनअघि सरकारमा नजाने भएको छ । उपनिर्वाचनपछि भने सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा जाने–नजाने निर्णयमा पुग्ने रास्वपा सभापति लामिछानेले बताए । ‘अहिले आउन लागेको सरकारको नयाँ नीति तथा कार्यक्रमलाई हेर्छौँ । यसअघि राखिएको जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने मुुद्दा अहिले हटेको सुनेको छु । यदि त्यसरी सरकार भ्रष्टाचारीलाई समाउँछौँ नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौँ,’ उनले भने । 

पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने–
यो जनाउ घन्टी मात्रै हो । डा. स्वर्णिम वाग्ले, रमेश खरेलबारे आमनागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौँ क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घन्टी मात्रै हो । सम्पूर्ण होइन । कहाँ गएर विज्ञता प्रस्तुत गरौँ, कहाँ गएर यो मुलुकको सेवा गरौँ भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौँ । म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कैयौँ यस्ता क्षमतावान व्यक्तित्व यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ । निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ ।’