
नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्न सक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको जनाउँदै यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा रहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।
कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य संक्रमणको खतरा बढी देखिएको र यहाँ ठूलो संख्यामा नागरिक संक्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।
कोषले शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्न नाइजेरिया सरकारलाई सुझाब दिएको छ । जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रम बनाउन पनि आग्रह गरेको छ । देशमा आवश्यक मात्रामा पिउने शुद्धपानी, शौचालय, स्वास्थ वातावरणको अभावका कारण यहाँका करिब एकतिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेको युनिसेफले जनाएको छ ।