
अमेरिकामा गएको चार हप्तायता मात्र एक लाखभन्दा बढी बालबालिकालाई कोभिड– १९ को संक्रमण भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा चार हप्तायता मात्र एक लाख ६ हजार बालबालिका संक्रमित भएका उल्लेख छ । यहाँ कोभिडको संक्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको संक्रमण भइसकेको बताइएको छ ।
पछिल्लो हप्ता मात्र (२ मार्चसम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड संक्रमण भएको थियो । यसअघिका हप्ताहरूमा कम्तीमा २५ हजार बालबालिका कोभिडको संक्रमणमा परेका बताइएको छ ।
अमेरिकामा पछिल्लो समय कोभिडको संक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भइरहेको छ । त्यसैले यहाँका चिकित्सकले कोभिडबाट संक्रमित भएकाहरूको उमेरअनुसारको तथ्यांक लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।