नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बलर ब्रेट लीले एकदिवसीय क्रिकेटमा राखेको एउटा रेकर्ड तोडेका छन् । सन्दीपले लगातार २७ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि यो रेकर्ड लीको नाममा थियो । सन्दीपले दुबईमा मंगलबार भएको आइसिसी पुरुष विश्वकप लिग–२ सिरिजमा युएईविरुद्धको खेलमा विकेट लिँदै विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
युएईसँगको खेलमा सन्दीपले ४५औँ ओभरमा आफ्नो अन्तिम स्पेल फ्याँकेका थिए । उनले ओभरको अन्तिम बलमा विकेट लिँदै लगातार २७ खेलमा खेलाडी आउट पार्ने रेकर्ड बनाए । सो खेलमा उनले १० ओभरमा ५२ रन खर्चेका थिए । सन्दीपले सन् २०२० देखि लगातार २७ खेल खेलेका छन् । यी सबै खेलमा कम्तीमा पनि एक विकेट लिएका छन् । अस्ट्रेलियन पूर्वफास्ट बलर लीले सन् २००९ देखि २०११ को अवधिमा लगातार २६ खेलमा विकेट लिएका थिए ।
गत पुसमा पाटनको उच्च अदालतले २० लाख धरौटीमा रिहा भएका सन्दीपले विश्वकप लिग–२ मा लगातार आठ खेलमा विकेट हात पारेका छन् । उनले दुई साताअघि काठमाडौंमा भएको विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस खेलमा उनले सर्वाधिक १३ विकेट लिए । सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमित दिएपछि सन्दीप युएईमा भएको सिरिजमा सहभागी भएका थिए । उनले युएईमा तीन खेल खेल्दै विकेट लिए ।