![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/fagun-18_lifestyle-page-online-thumbnail2023-03-02-11-16-03.jpeg)
सामान्यतया शारीरिक रूपमा हुने थकान कम गर्न हामी मसाज गर्छौँ । अन्य उपचार विधिजस्तै मसाज एउटा छुट्टै उपचार विधि हो । वर्तमान समयमा प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिका रूपमा पनि मसाजलाई लिने गरिन्छ । मसाज थेरापी उपचार विधिको मान्यता प्राकृतिक रूपमा लागेका रोगहरूको निराकरण प्राकृतिक रूपमै गर्नुपर्छ भन्ने हो । मानिसको शरीरमा देखिएका समस्याका आधारमा ती विधि र पद्धतिलाई अपनाएर मसाज थेरापी गरिन्छ । मसाज सबै उमेरका मानिसलाई आवश्यक पर्छ ।
बच्चालाई दैनिक मसाज
अझै पनि हाम्रो समाजमा बच्चालाई दैनिक मालिस गर्ने चलन छ । नवजात शिशुलाई दैनिक तीन घन्टाभन्दा बढी मालिस गरेको पाइन्छ । तर, मसाज थेरापी बच्चालाई मात्रै होइन, जुनसुकै उमेर समूहकालाई पनि आवश्यक छ । मसाज गर्दा शरीरले आनन्द अनुभूत गर्छ । यसले शरीरका मांसपेशीलाई बलियो पार्छ । कुनै रोग लाग्न सुरु गर्दै छ भने त्यसलाई रोकथाम गर्छ ।
यसबाहेक मानिसको वृद्धिविकासमा पनि मसाजले सहयोग पुर्याएको हुन्छ । यसबाहेक मसाजका फाइदा थुप्रै छन् । यसले हाम्रो शरीरलाई फुर्तिलो, बलियो र तन्दुरुस्त बनाउन मद्दत पुर्याउँछ । चिकित्सा विज्ञानले पनि मसाज उपचार विधिलाई पनि केही हदसम्म स्वीकार गरेको पाइन्छ । समय–समयमा मसाज गर्ने बानीले मानसिक तनाव, डिप्रेसन, अनिद्रा, माइग्रेन र चिन्तालगायत समस्याबाट हामीलाई छुटकारा मिल्छ । त्यसकारण हाम्रो शरीरलाई स्वस्थ, फुर्तिलो र तन्दुरुस्त राख्न मसाज थेरापी गरिराख्नुपर्छ ।
कति–कति दिनमा आवश्यक पर्छ मसाज ?
मसाज हरेक दिन चाहिने उपचार विधि होइन । सामान्यतया पाँच दिन लगातार कसरत गरिसकेपछि हप्तामा एकपटक मसाज गराउँदा राम्रो हुन्छ । यसले शरीरलाई थकानबाट मुक्त गर्छ र फुर्तिलो राख्न पनि सहयोग गर्छ ।
कस्ता रोगको उपचार ?
हातखुट्टा झमझमाउने वा पोल्ने, नसा च्यापिएको, ढाड दुख्ने, घुँडा दुख्ने, मोटोपन, माइग्रेन, टाउको दुख्नेलगायत रोगको उपचार मसाज थेरापीद्वारा गरिन्छ । मानिसको शरीरको समस्याका आधारमा विभिन्न मसाज थेरापी गर्न सकिन्छ । यसभित्र आयुर्वेदिक पोलिटी मसाज, योगा फिजियोथेरापी, आयुर्वेदिक योगा मसाज, कटी वस्ती, शिरोधरा, स्टिम बाथ, बेली मसाज, फुल बडी मसाज, फेस मसाजलगायत मसाज थेरापी पर्दछन् ।
मसाजका फाइदा
- मांसपेशीको पीडा कम
- शारीरिक थकानबाट छुटकारा
- रक्तसञ्चारमा सहजता
- तनावमुक्त
- मोटोपनबाट छुटकारा
- प्यारालाइसिस र हृदयाघातको कम जोखिम
- पाचन शक्ति बढ्ने
- छालासम्बन्धी रोग नलाग्ने ।