१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२१:oo

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् ‘हिमालयन बैंक लिमिटेड’को नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ गरेको घोषणा गरेका हुन् । 

अध्यक्ष श्रेष्ठले सिभिल बैंकको प्राप्ति हिमालयन बैंकलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको बताए । देश विकासको आर्थिक अवस्था एवं प्राप्तिपछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानीयोग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि सिभिल बैंकलाई प्राप्ति गरेको उनको भनाइ थियो । 

त्यस्तै, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले आगामी दिनहरूमा बैंक आफ्ना सेयरधनीलाई उच्चतम प्रतिफल दिन र ग्राहकलाई समयसापेक्ष नवीन  प्रविधियुक्त सेवा–सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहने जनाइएको छ । त्यस्तै, बैंकको अध्यक्षतामा प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा नै रहेका छन् । प्राप्तिपश्चात् बैंकको केन्द्रीय कार्यालय कमलादीको हाल हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ सेयर आदान–प्रदान अनुपातमा प्राप्ति गरेको हो ।
सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको अधिकृत पुँजी २६ अर्ब रुपैयाँ, चुक्ता तथा जारी पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ, कुल पूँजी ३४ अर्ब रुपैयाँ र कुल सम्पत्ति तीन खर्ब ३४ अर्ब रुपैयाँ रहने बैंकले जनाएको छ । त्यस्तै, बैंकको कुल निक्षेप दुई खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा दुई खर्ब ५० अर्ब रुपैयाँ रहने उल्लेख छ । त्यस्तै, बैंकको एक सय ८९ शाखा, २० विस्तारित काउन्टर र दुई सय ६३ भन्दा बढी एटिएम पुगेको जनाइएको छ । 
 

ad
ad