१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचनले नजिकिँदै ओली–नेपाल

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३५:oo

पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति निर्वाचनले नजिक्याउँदै लगेको छ । एमालेको प्रस्तावमा नेता नेपाललाई वाम पार्टीका तर्फबाट राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउनेदेखि पार्टी एकता गर्नेसम्मको छलफलमा उनीहरू जुटेका छन् ।

गत शनिबार पूर्वमन्त्री तथा समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)को महाराजगन्जस्थित निवासमा दुई नेताबीच भएको लामो छलफल मुख्यतः पार्टी एकता र राष्ट्रपति निर्वाचनको एजेन्डामा केन्द्रित थियो । दुवै एजेन्डालाई राष्ट्रपति निर्वाचनअगावै टुंगोमा पु¥याउने उनीहरूको योजना छ ।

दुई नेताबीचको छलफलबारे जानकार एक एमाले नेताका अनुसार ओली र नेपालबीच यस्तो लामो र गम्भीर संवाद यसअघि २३ असार ०७८ मा भएको थियो, जतिखेर आन्तरिक विवादका कारण एमाले विभाजनको डिलमा थियो । नक्सालस्थित मेरियट होटेलमा झन्डै ५० मिनेट भएको दुई नेताबीचको वार्ता शक्ति बाँडफाँटमा केन्द्रित थियो । ओलीले दोस्रोपटक गरेको संसद् विघटनसम्बन्धी मुद्दाको फैसला आउने दिन नजिकिँदै थियो । 

‘निर्णायक’ भनिएको सो वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निसर्त’ सहयोग गर्न नेता नेपालसँग प्रस्ताव गरेका थिए । तर, नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँट हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिए । दुवै नेताको पुरानै अडानका कारण वार्ता विनानिष्कर्ष सकिएको थियो । अन्ततः ८ भदौ ०७८ मा औपचारिक रूपमै एमाले विभाजन भयो । नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । 

त्यसयता दुई नेताबीचको तिक्तता यति बढ्यो कि सार्वजनिक कार्यक्रममै एक–अर्कालाई व्यक्तिगत आक्षेप लगाउने तहसम्म उत्रिए । १८ वैशाखमा हेटौँडामा भएको चुनावी सभामा ओलीले भने, ‘माधव नेपालको नाम लिएर म एकछिनपछि मुख कुल्ला गर्छु । यस्ताको नाम किन लिने ? देशका कुलंघार हुन् ।

अन्तर्घाती, अन्तरध्वंशी हुन् । त्यस्ताको नाम किन लिने ?’ नेपालले पनि ओलीलाई ‘संविधान सखाप पार्ने नेपाली हिटलर, एक नम्बरको परपीडक र गफाडी’को संज्ञा दिए । ५ पुस ०७८ मा समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीमाथि उनको आरोप थियो, ‘गफमा ओलीलाई कसैले सक्दैन । गिनिज बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली । अरूलाई अपमान मात्रै गर्ने, तेजोबध मात्रै गर्ने, अरूलाई पीडा मात्रै दिने । परपीडक नम्बर १, केपी ओली भनिदिए हुन्छ ।’

पार्टी विभाजनपछि तिक्त सम्बन्धमा रहे पनि नयाँ गठबन्धन बनेसँगै ओली–नेपाल भेट हुँदा औपचारिकता निभाउँथे । गत ११ पुसमा प्रधानमन्त्री प्रचण्डको शपथग्रहण र ३ माघमा मन्त्रीहरूको शपथ समारोहमा राष्ट्रपति कार्यालयमा एउटै लहरमा रहेका दुवै नेताबीच सामान्य संवाद भएको थियो ।

२६ पुसमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा ओली माओवादीप्रति सशंकित बनेका थिए । विश्वासको मतका नाममा कांग्रेसले गठबन्धन भत्काउन गरेको षड्यन्त्र भए असफल हुने भन्दै उनले संसद्मा सम्बोधन नै गरेका थिए । पछिल्लो समय एमालेभित्रैबाट राष्ट्रपति बन्ने अवस्था क्षीण बन्दै गएपछि गत शनिबार ओलीले पार्टी एकताको सर्तसहित नेता नेपाललाई राष्ट्रपतिको उम्मेदवार नै बन्न प्रस्ताव गरेका हुन् ।

‘दुवै नेताबीच छलफल चलिरहेको छ, उहाँहरूबीच हुने समझदारीअनुसार एमाले अगाडि बढ्छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नयाँ पत्रिकासँग भने, ‘अहिलेको गठबन्धनबाट राष्ट्रपति बन्न नदिने देशी–विदेशी शक्तिहरूको षड्यन्त्रको प्रतिवाद गर्दै असफल पार्न जुनसुकै विकल्पमा जाने गरी एमालेले हरसम्भव प्रयास गर्नेछ ।’

ओलीको प्रस्तावपछि नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरेका छन् । एमालेले उम्मेदवार बनाए पनि माओवादीको समर्थनविना उनी राष्ट्रपति बन्ने सम्भावना क्षीण छ । नेता नेपालसँग शनिबारको छलफलमा पृष्ठभूमि बाँध्दै एमाले विभाजित हुँदा कांग्रेस र माओवादीले फाइदा लिएको र त्यसले मुलुकको राजनीतिलाई नै अस्थिरतातर्फ धकेलेका कारण पार्टी एकता अपरिहार्य भएको भन्दै ओलीले छलफलको पहिलो एजेन्डा प्रस्तुत गरेका थिए । पार्टी एकतासँगै नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न पनि उनको प्रस्ताव थियो । 

‘पार्टी एकता गर्ने भएपछि राष्ट्रपति निर्वाचनमा पनि मिलेर अगाडि बढौँ । तपाईंको चाहना भए ठीकै छ, राम्रो भयो, छलफल गरेर अगाडि बढौँ,’ स्रोतका अनुसार ओलीको प्रस्ताव थियो । डेढ घन्टाभन्दा बढी समय ओली एक्लै बोलेका थिए ।ओलीले आफ्ना कुरा राखेपछि नेता नेपालले पार्टी एकताका लागि ठोस प्रस्ताव आउनुपर्ने धारणा राखेका थिए ।

एकताको आधार दुवैजनाले आत्मालोचनाबाट सुरु गर्नुपर्ने उनको भनाइ थियो । ‘तपाईंको प्रस्ताव ठीकै छ, एकता गरेर जान सकिन्छ । पार्टी विभाजन हुनुमा मेरा पनि, तपाईंका पनि कमजोरी होलान्, त्यसप्रति दुवैले आत्मालोचना गरौँ, त्यस्ता कमजोरी नदोहोरिने गरी पार्टी पंक्तिलाई आश्वस्त पार्दै अघि बढौँ,’ नेता नेपालले ओलीसँग गरेको प्रस्ताव उद्धृत गर्दै समाजवादीका एक पदाधिकारीले भने, ‘हामीले वामपन्थी पार्टीहरूबीच एकता गर्ने संस्थागत निर्णय नै गरिसकेका छौँ, तर कसरी गर्ने तपाईंका तर्फबाट पनि ठोस प्रस्ताव आओस् ।’ 

नेपालको यस्तो प्रस्तावपछि तयारीका लागि दुवैतर्फबाट तीन–तीन नेता रहेको अलग्गै कार्यदल बनाउने समझदारीसहित उनीहरू छलफलबाट उठेका थिए । समझदारीअनुसार कार्यदलले आन्तरिक काम गरिरहे पनि गोप्य राख्ने समझदारीअनुसार दुवै पार्टीले संलग्न नेता र भइरहेको प्रगति बाहिर ल्याएका छैनन् । 

एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार शनिबारको भेटघाटपछि दुई नेताबीच लगातार टेलिफोन संवाद भइरहेको र बिहीबारभित्र अर्को भेटवार्तामार्फत पार्टी एकता र राष्ट्रपति निर्वाचनको दुवै एजेन्डालाई निर्णायक मोड दिने तयारी छ । भैरहवा, दाङ हुँदै मंगलबार राति काठमाडौं आइपुगेका नेपाल पनि आन्तरिक गृहकार्यमा लागेका छन् । तर, राष्ट्रपति बनाउने ओलीको प्रस्तावमा भने उनी अझै विश्वस्त हुन सकेका छैनन् । 

‘अबको भेटवार्तामा थप प्रगति होला, तर अहिले नै उहाँ (नेपाल)लाई राष्ट्रपति बनाउने प्रस्तावप्रति भने आश्वस्त भइसकेको अवस्था होइन । कतै अहिलेको गठबन्धन भत्किएर पुरानै गठबन्धन बन्ने निश्चित भएपछि त्यसलाई असफल बनाउने कार्ड पो हो कि भन्ने शंका अध्यक्ष नेपालमा छ,’ समाजवादीका एक पदाधिकारीले भने, ‘किनभने विगतमा पनि अप्ठ्यारो पर्दा ओली कमरेडले यस्ता थुप्रै प्रस्ताव राख्ने, तर कार्यान्वयन नगर्ने गरेकैले पार्टी फुटको अवस्थामा पुगेको हो । त्यसैले यसपटक उहाँ शंकाको लाभ दिँदै एकताको टुंगो लगाउने र राष्ट्रपति उम्मेदवारको पनि टुंगो लाग्ने निर्णायक मोडको प्रतीक्षामा हुनुहुन्छ ।’ 

ओली–नेपाल भेटवार्तामा सहजीकरण गरेका समाजवादीका नेता तथा पूर्वमन्त्री श्रेष्ठले पार्टी मिलाउने तयारी तीव्र रूपमा चलेको सत्य भए पनि बाहिर ल्याउने गरी प्रगतिको अवस्थामा नपुगेको बताए । ‘एकताका लागि प्रयास त भएकै छ, तर सार्वजनिक गर्ने गरी थप प्रगति केही भएको छैन । भएपछि त तपाईंहरूको जानकारीमा आइहाल्छ नि,’ उनले भने । समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालसँग परामर्श गरेपछि श्रेष्ठले मंगलबार अपराह्न एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा पुगेर एक घन्टा छुट्टै छलफल गरेका थिए । 

एमाले नेतृत्वमा बनेको गठबन्धनभित्र समाजवादीलाई भित्र्याउन कसरत गरेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतका नेताहरू नै अहिले दुवै नेतालाई मिलाउन सक्रिय छन् । यसबीचमा पौडेलले नेपाललाई दुईपटक अलग्गै भेटेर कुराकानी गरेको स्रोतले जनाएको छ । 

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले देशमा संकट पर्दा माधव नेपाल राष्ट्रिय सहमतिको सर्वसम्मत उम्मेदवारका रूपमा खडा हुने गरेकाले सहमतिका लागि प्रस्ताव आए जिम्मेवारी लिने बताए । ‘देशमा संकट पर्दा, सबैतिर संकट परेपछि माधव नेपाललाई जिम्मेवारी दिने चलन छ । अहिले पनि उहाँको कुनै पदमा ठ्याक्कै दाबी त छैन, तर सहमतिको प्रस्तावबाट पछि हट्ने भन्ने पनि होइन,’ चौधरीले भने ।

 पार्टी विभाजनअघिको तारे होटेलको त्यो अन्तिम भेट
ओली र नेपालबीच ६ फागुन ०७९ मा जस्तो लामो र गम्भीर संवाद यसअघि २३ असार ०७८ मा भएको थियो, जतिखेर आन्तरिक विवादका कारण एमाले विभाजनको डिलमा थियो । नक्सालस्थित मेरियट होटेल झन्डै ५० मिनेट भएको दुई नेताबीचको वार्ता शक्ति बाँडफाँटमा केन्द्रित थियो । ओलीले दोस्रोपटक गरेको संसद् विघटनसम्बन्धी मुद्दाको फैसला आउने दिन नजिकिँदै थियो ।

‘निर्णायक’ भनिएको सो वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निसर्त’ सहयोग गर्न नेता नेपालसँग प्रस्ताव गरेका थिए । तर, नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँट हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिए । दुवै नेताको पुरानै अडानका कारण वार्ता विनानिष्कर्ष सकिएको थियो । अन्ततः ८ भदौ ०७८ मा औपचारिक रूपमै एमाले विभाजन भयो । नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । 

जुनसुकै विकल्पमा जाने गरी दुवै नेताबीच छलफल चलिरहेको छ
पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले

दुवै नेताबीच छलफल चलिरहेको छ, उहाँहरूबीच हुने समझदारीअनुसार एमाले अगाडि बढ्छ । अहिलेको गठबन्धनबाट राष्ट्रपति बन्न नदिने देशी–विदेशी शक्तिहरूको षड्यन्त्रको प्रतिवाद गर्दै असफल पार्न जुनसुकै विकल्पमा जाने गरी एमालेले हरसम्भव प्रयास गर्नेछ ।

पार्टी एकताको पहल भइरहेको छ, तर ठूलो प्रगति भइसकेको छैन
कृष्णकुमार श्रेष्ठ, नेता, एकीकृत समाजवादी

पार्टी मिलाउने तयारीस्वरूप दुई नेताबीच छलफल भएको सत्य हो । एकताका लागि प्रयास त भएकै छ, तर सार्वजनिक गर्ने गरी धेरै ठूलो प्रगति पनि भइसकेको छैन । एकताको प्रयासमा प्रगति भएपछि त तपाईंहरूको जानकारीमा आइहाल्छ नि ।

 

ad
ad