१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको घुइँचो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१७:oo

महाशिवरात्रिको अवसरमा महोत्तरीको जलेश्वरनाथ मन्दिरलगायत अन्य शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ। महत्वपूर्ण शिवालयहरूमध्येको एक बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्न बिहान १ बजेदेखि नै भक्तालुहरू लाइनमा लागेका छन्।

बाबा जलेश्वरनाथ र महोत्तरीकै सोनमा गाउँपालिकामा रहेको मंगलनाथको मन्दिर जलभित्र रहेको छ। जलभित्र रहेको जलेश्वरनाथ महादेवको दर्शन सहज बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, आमनागरिक,  पूजा व्यवस्थापन समिति र स्वयंसेवकहरू गुफाभित्रको जल निकाल्न व्यस्त रहेका छन्।

जलेश्वर नगरपालिका वडा नं १ स्थित जलेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार मध्यरातिदेखि नै शिवलिंगमा जल चढाउनेहरूको भिड लागेको छ। जलेश्वरनाथ महादेव जलभित्र विराजमान रहेका र उक्त जल कुनै पनि मेसिनरी सामानले निकाल्न नमिल्ने विश्वासका कारण नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भक्तजनहरूले समेत गुफाभित्र रहेको जल बाल्टीले नै निकालेर शिवलिंगको दर्शन कार्य भइरहेको छ।

श्रद्धालुहरूको सहजताकै लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र एनसिसी क्याडेटहरू तथा स्वयंसेवकहरू सयौँको संख्यामा परिचालन गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिलरमण चौधरीले बताए। नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, स्वास्थ्य कार्यालयलगायतका संस्थाहरूसमेतको सहयोगमा मेडिकल क्याम्प, हेल्प डेस्कलगायत सञ्चालन गरिएको छ।

यता शिवरात्रिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लाका सबै शिवालयहरूमा सुरक्षा व्यवस्था चुस्त पारिएको र खासगरी पाकेटमार तथा अन्य अपराधीहरूमाथि विशेष निगरानी राख्न सादा पोसाकमा प्रहरी खटाइएको जानकारी दिए।

ad
ad