मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २७ शुक्रबार
  • Thursday, 19 December, 2024
टेकराज थामी काठमाडौं
२o७९ माघ २७ शुक्रबार o८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खाग तस्करीमा संलग्न १५ जना पक्राउ : ४० लाखमा हुँदै थियो डिल

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २७ शुक्रबार o८:४६:oo

गैँडाको खाग तस्करीमा संलग्न १५ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४० लाख रुपैयाँमा खाग बिक्री गर्न लागिएको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । जसमध्ये चितवन कालिका नगरपालिका­ ९ शेरबासका ३९ वर्षीय राजु भनिने सोमबहादुर चेपाङ गैँडा मार्ने अभियुक्त हुन् । बाँकी बिचौलिया हुन् । 

प्रहरीले झापा भद्रपुर नगरपालिका– १० का ४५ वर्षीय इन्द्रमणि आचार्य र बाँके कोहलपुर नगरपालिका­ ११ का ४१ की जमुनाकुमारी शर्माबाट खाग बरामद गरेको थियो । उनीहरूले खाग ४० लाख रुपैयाँमा बेच्न बार्गेनिङ गरिरहेका थिए । सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बिक्री गर्न लागिएको अवस्थामा खाग बरामद भएको जानकारी दिए । ‘४० लाख रुपैयाँमा खाग बिक्री हुँदै थियो । यही क्रममा इन्द्रमणि र जमुनाकुमारी पक्राउ परे । कनेक्सन खोज्दै जाँदा घटनामा अन्य व्यक्ति पनि संलग्न भएको खुल्यो । यही क्रममा १३ जना पक्राउ परे । जसमध्ये सोमबहादुर चेपाङ गैँडा मार्ने धन्दामा संलग्न अभियुक्त हुन्,’ उनले भने ।

सिआइबीले तस्करीमा संलग्न रहेको अभियोगमा पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली मसुरियाका ६१ वर्षीय गजाधर सापकोटा, कैलाली घोडाघोडीका ३६ वर्षीय प्रताप चौधरीलाई १२ माघमा पक्राउ गरेका थियो । पक्राउ पर्ने अन्यमा भोजपुर अरुणका डम्बरकुमार आलेमगर, गोरखा पालुङटारका दानबहादुर राना, स्याङ्जा पुतलीबजारका निर्मल शाही, स्याङ्जा वालिङका हरिमाया राना, चितवन शक्तिखोरकी कमला तामाङ, चितवन इच्छाकामनाकी तुलसी चेपाङ, वीरमान वाइबा र चितवन कालिकाका राधाकृष्ण चेपाङ छन् ।

सिआइबीका अनुसार सोमबहादुरले केही महिनाअघि चितवनको खगेडीखोला वनमा गैँडा मारी खाग झिकेका थिए । खाग उनले केही दिन शेरबासमा लुकाइराखेका थिए । त्यसपछि बेच्ने उद्देश्यले कमला तामाङलाई दिए । कमलाले खागको तस्बिर हरिमाया राना र निर्मल शाहीको मोबाइलमा पठाएका थिइन् । बिक्री गर्ने पक्का भएपछि कमलाले वीरमान वाइबाको सहयोगमा खाग काठमाडौं ल्याएकी थिइन् । त्यसपछि खाग २० लाख रुपैयाँमा बिक्री गर्न निर्मल शाहीलाई दिएकी थिइन् । 

सिआइबीका अनुसार खाग अझ उच्च मूल्यमा बिक्री गर्न निर्मलले दानबहादुर राना, डम्बरबहादुर आलेमगरसमेतको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएका थिए । त्यसपछि जमुना र इन्द्रमणिकहाँ पुगेको थियो । 

 अनलाइनबाटै वन्यजन्तुको अवैध कारोबार 
सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्मकै प्रयोग गरी वन्यजन्तुको अवैध कारोबार हुन थालेको पाइएको छ । अनलाइनमार्फत वन्यजन्तुको कारोबार भएका दुईवटा घटनाको यतिवेला डिभिजन वन कार्यालय काठमाडौंले प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको छ । 

‘हाम्रोबजार डटकम’मार्फत कछुवा बिक्री गर्न खोज्ने १५ वर्षका किशोर यतिवेला वन कार्यालयको हिरासतमा छन् । सो न्युज पोर्टलमा उनले आठवटा कछुवा बिक्रीमा राखेका थिए । ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले कछुवासहित ती किशोरलाई २६ पुसमा पक्राउ गरेको हो । उनले पनि अनलाइनमार्फत नै ती कछुवा खरिद गरेका थिए । उनलाई कछुवा बेच्ने २२ वर्षीय लक्कीकुमार थापा पनि पक्राउ परेका छन् ।

पक्राउ परेका किशोरले सस्तोमा किनेर नाफा लिने उद्देश्यले यसरी अनलाइनमार्फत कारोबार गर्न खोजेको बताएका छन् । अनलाइन प्लेटफर्मको दुरुपयोग भएकाले यसमा ‘हाम्रोबजार डटकम’का प्रतिनिधिको पनि वन कार्यालयले कागज गराएको छ । अवैध सामानलाई अनलाइन प्लाटफर्ममा बिक्रीमा राख्ने नपाइने भएकाले सो कम्पनीलाई समेत सोधपुछ गरिएको सहायक वन अधिकृत अशोक पराजुलीले बताए । 

त्यस्तै, टिकटकमार्फत कछुवा बेच्न खोज्ने १८ वर्षीया एकलव्य प्रजापतिलाई वन कार्यालयले थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीसँग दुईवटा कछुवा बरामद भएको छ । एक फेसबुक ग्रुपमा राखिएको विज्ञापनअनुसार आफूले ती कछुवा खरिद गरेको उनले बताएकी छिन् । कलेजमा अध्ययनरत प्रजापतिले यस्तो कारोबार अवैध हो भन्ने थाहा नपाएर बिक्री गर्न खोजेको बयान दिएकी छिन् ।