न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र नेपाल एपिएफ क्लब छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा दशरथ रंगशालाको कभर्ड हलमा भइरहेको प्रतियोगिताको शीर्ष दुईमा रहँदै न्यु डायमन्ड र साबिक विजेता एपिएफ उपाधिनजिक पुगेका हुन् ।
चार टोली सहभागी प्रतियोगितामा न्यु डायमन्ड र एपिएफले समान ६ अंक बनाएका छन् । राउन्ड रोबिन लिगको अन्तिम खेलमा एपिएफ र न्यु डाइमन्डबीचको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यसैगरी, प्रतियोगिताबाट बाहिरिइसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेल सोमबार हुनेछ ।
एपिएफको सहज जित
प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा साबिक विजेता विभागीय टोली एपिएफले अर्काे विभागीय टोली आर्मीविरुद्ध सहज जित निकाल्यो । राष्ट्रिय टोलीका सदस्यद्वय सरस्वती चौधरी र निरुता ठगुन्नाको साथ पाएको एपिएफले २५–१७, २५–२१ र २५–१५ को जित निकाल्यो ।
यसअघि पहिलो खेलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिसलाई ३–० कै सेटमा हराएको थियो । आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी निरुता प्लेयर अफ दी म्याच घोषित भइन् । निरुताले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
न्यु डायमन्डको पुनरागमन
विभागीय टोली नेपाल पुलिसविरुद्ध न्यु डायमन्डले पुनरागन जित निकाल्यो । लगातार दोस्रो जितसँगै न्यु डायमन्डले उपाधि जित्ने सम्भावना कायम राखेको हो । पहिलो खेलमा न्यु डायमन्डले आर्मीलाई हराएको थियो । राष्ट्रिय टोलीका अधिकांश सदस्य रहेको पुलिसविरुद्ध न्यु डायमन्डले पहिलो सेटमा पराजित भए पनि बाँकी तीन सेट लगातार जित निकाल्यो । पहिलो सेटमा पुलिस २५–२२ ले जित निकाल्न सफल भयो ।
प्रतिभा माली चम्किएपछि लगातार तीन सेटमा न्यु डायमन्डले पुलिसविरुद्ध एकोहोरो दबाब सिर्जना गर्यो । न्यु डायमन्डले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२२ ले जित्दा २–१ को अग्रता बनायो । तेस्रो सेटमा समेत उत्कृष्ट प्रदर्शन गर्दै न्यु डायमन्डले २५–१९ ले जित्यो । उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा खेलको प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ जितिन् ।