१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २१ शनिबार
  • Monday, 01 July, 2024
कमल खत्री म्याग्दी
२o७९ माघ २१ शनिबार १७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

श्रमदानबाटै सडक बनाउन जुटे लुलाङवासी

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ माघ २१ शनिबार १७:o७:oo

म्याग्दीको धवलागिरी गाउँपालिका– २ मा अवस्थित दुर्गम बस्ती लुलाङमा सडक सञ्जालको पहुँच पुर्याउन स्थानीयवासी श्रमदानमा जुटेका छन् । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मुनादेखि महतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई मान्छेले खनेरै लुलाङसम्म पुर्याउन लागिएको हो ।

लमसुङ बस्तीको शिर हुँदै सडकको ट्रयाक निर्माण गर्नुपर्ने भएकाले डोजरको प्रयोग नगरी सडक खन्न थालिएको वडाध्यक्ष अकप्रसाद विकले बताए । उनका अनुसार गाउँपालिकाले विनियोजन गरेको बजेटबाट सडक निर्माण सुरु गरे पनि स्थानीयवासीले समेत श्रमदान गर्न थालेका छन् । युवादेखि महिलासम्मले गल, बेल्चा, कुटो, कोदालोलगायतका घरेलु निर्माण सामग्रीसहित श्रमदान गर्दै आएका छन्।

पिठ्युँमा दूधे बालक बोकेर हातमा बेल्चा समातेर सडक खन्न व्यस्त मनसरा कुमाईंले घरमा छोरा मान्छे नभएकाले श्रमदानका लागि आफू सानी छोरीलाई बोकेरै आएको बताइन् । ‘श्रीमान् रोजगारीका लागि साउदी जानुभएको छ । घरमै आउन लागेको सडकमा श्रमदान पनि गर्नैपर्यो, झारा (श्रमदान)लाई त्यसै छाड्ने कुरा पनि भएन । दिनभर काम गरेँ, गाउँका सबै घरको पालो सकिएपछि सडक खन्न फेरि आउँछु,’ उनले भनिन् । गाउँमा सडक सञ्जालको पहुँच नहुँदा सुत्केरीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा बीच बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको अवस्थामा सडक योजना अघि बढेपछि आफूहरू खुसीसाथ श्रमदारमा आएको कुमाईंले सुनाइन् ।

कुमाईंजस्तै साढे १ वर्षको छोरा बोकेर श्रमदानमा खटिएकी रिता विकले गाउँमा सडक आउने खुसीले आफूहरू बालबच्चा बोकेरै काममा आएको बताइन् । ‘म उपभोक्ता समितिको सदस्य पनि हुँ, छोराको बाबा पनि अरूको काममा जानुहुन्छ । म बच्चा बोकेरै भए पनि दिनहुँ यहाँ आएर काम गर्ने गरेकी छु,’ विकले भनिन् । करिब २ सय घरधुरीको बसोबास रहेको लुलाङमा शतप्रतिशत दलित समुदायको बसोबास रहेको छ । अन्य क्षेत्रमा सडक निर्माणमा डोजरको मात्रै प्रयोग गर्ने प्रचलन बढेको समयमा लम्सुङ–लुलाङ सडक निर्माण योजनामा भने मानव स्रोतकै अधिक प्रयाेग गरेर सडक खन्न थालिएको उपभोक्ता समितिका अध्यक्ष पलु पुनले बताए ।

‘पहिरोको जोखिम रहेकाले लमसुङ गाउँ र विद्यालयलाई सुरक्षित राख्नका लागि मानवीय जनशक्ति परिचालन गरेर सडक खन्न थालेका हौँ । दैनिक करिब ४० जनाले काम गर्छन् । समुदायबाट आलोपालोमा श्रमदानको लागि समेत आउने गरेका छन्,’ उनले भने । यस योजनाका लागि धवलागिरि गाउँपालिकाबाट चालू आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन भएको छ । मुना–लमसुङ–लुलाङ हुँदै गुर्जा सडक निर्माण योजनामा गाउँपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रेशम पुनले बताए ।

‘गाउँपालिकाको योजनाले लुलाङदेखि माथिको जंगलसम्म सडक पुग्छ, त्यहाँदेखि माथि प्रदेश सरकारमार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट थप सडक निर्माण कार्यअघि बढाउँछौँ, संघ र प्रदेश सरकारसँग थप सहकार्य गरेर जतिसक्दो चाँडो गुर्जा गाउँमा सडकको पहुँच पुर्याउने हाम्रो प्रयास छ,’ पुनले भने । लम्सुङदेखि लुलाङ सडक गत पुस २८ गतेदेखि निर्माण सुरु गरिएको हो । अहिलेसम्म करिब १ किलोमिटर सडकको ट्रयाक निर्माण सकिएको छ । बस्तीमाथिदेखि सडक खन्नुपर्ने भएकाले सम्भव हुने ठाउँ सबैमा मानिसले नै खन्ने र कडा चट्टान भएको ठाउँमा मात्रै डोजरको प्रयोग गर्ने गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले जानकारी दिए । दलित समुदायको बसोबास रहेको लुलाङमा सडक पुग्न लागेको र सडक निर्माणका क्रममा रोजगारीको समेत अवसर पाएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

ad
ad
ad
ad