Skip This
भूकम्पले भवन जोखिमपूर्ण हुँदा हिउँमाथि पढ्दै विद्यार्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २७ बिहीबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पले भवन जोखिमपूर्ण हुँदा हिउँमाथि पढ्दै विद्यार्थी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:१५:oo

बाजुराको बुढीगंगा नगरपालिका– ९ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले विद्यार्थीलाई हिउँमाथि राखेर पढाइ सञ्चालन गर्दै आएको छ । माघ १० गते गएको भूकम्पले विद्यालयको भवन चिराचिरा परेपछि बालबालिका जाडोको समयमा हिउँमा बसेर पढ्न बाध्य भएका हुन् ।

बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले विद्यालयको भवन चिराचिरा परेपछि जोखिमपूर्ण बनेको विद्यालयका शिक्षक इन्द्रबहादुर शाहीले बताए ।

जीर्ण बन्दै गएको भवन कहिले भत्किने हो भन्ने डरले विद्यालयले बालबालिकालाई हिउँमै राखेर पठनपाठन सुरु गरेको हो । ‘तीन दिनसम्म लगातार हिमपात भयो, हिउँ बिलाएको छैन । अति चिसो छ । तैपनि भूकम्पको डरले हिउँमै बसालेर पढाउनुपरेको छ,’ विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले भने ।

विद्यालय भवन धेरै पुरानो भएकाले कतिखेर भत्कन्छ भन्ने यकिन नभएको अभिभावक दिलबहादुर भोटे थापाले बताए । उनले भने, ‘विद्यालय भत्किएर बालबालिका चेपिन्छन् कि भन्ने डरले बाहिर बाक्लो हिउँ भए पनि घाम लागेको समयमा विद्यार्थीलाई त्यसैमाथि बेन्च राखेर पढाइ भइरहेको छ ।’

यस विद्यालयमा भोटे जनजातिका बालबालिका अध्ययनरत छन् । जनजाति समुदाय मौसमी बसाइँ सर्ने भएकाले यसलाई आवासीय विद्यालयका रूपमा सञ्चालनमा ल्याइएको छ । अध्ययनरत एक सय १२ मध्ये ६० विद्यार्थी विद्यालयमै बस्दै आएका छन् ।

ad
ad