राइनास नगरपालिकाले कोदोखेती पवद्र्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक कोदो उत्पादन बढाउन कोदोखेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । नगरपालिकाले चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तर्गत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको राइनास नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।
यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगरपालिकाको प्रारम्भिक तथ्यांक छ ।
हाल अनुदान वितरण क्रममै रहेको र कोदो उत्पादनको यकिन तथ्यांक पनि आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । राइनासमा विशेष गरी वडा नम्बर ९ स्थित कुवापानी र राम्चे तथा वडा नम्बर १० मा धेरै कोदो उत्पादन हुने गरेको छ ।
सम्भाव्यताका आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणामअनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको छ ।
नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैया नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको छ । कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाँझै हुन थालेपछि किसानलाई कोदोखेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको राइनास नगरपालिकाले जनाएको छ । कोदोमा अनुदानका लागि नगरपालिकाले चालू आवमा १० लाख बजेट विनियोजन गरेको छ ।