मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस टोकियो
२०७९ माघ ११ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानमा भारी हिमपात, यातायात अवरुद्ध

Read Time : < 1 मिनेट
रासस, टोकियो
२०७९ माघ ११ बुधबार ११:४८:००

भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशकयताकै अधिक चिसो र हिमपात भएको छ ।

प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् । बाक्लो तुषारोले गर्दा द्रुत रेलसेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ ।

इस्ट जापान रेल्वे कम्पनीले तोहोकु–शिंकानसेन सेवाका साथै यामागाता–शिंकानसेन सेवा बुधबार बन्द रहने जनाएको छ । तोकाइदो र सान्यो शिंकानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेर मात्र सेवा पुनः सुरु गरिने रेलसेवाका अधिकारीले बताएका छन् ।

हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ । चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारीसाधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका वेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ ।

जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भए–नभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झैँ मौसम सफा नरहने विभागको अनुमान छ ।