अमेरिकाको भुट्निज युथ स्पोर्टस् क्लबले मंगबलार पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भुट्निज युथले रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा संकटा क्लबलाई सडेनडेथमा हराउँदै उपाधि हात पारेको हो । जितसँगै भुटनिज युथले गत महिना पोखरामा भएको आहारारा गोल्डकप फुटबलमा फाइनलमा संकटासँग बेहोरेको हारको बदला लिन सफल भएको छ । निर्धारित ९० मिनेटमा भुट्निज युथ र संकटाले २–२ को बराबरी खेलेका थिए ।
उपाधि छिनोफानो सडेनडेथबाट हुँदा संकटा निराश बन्यो । संकटालाई उपविजेतामा सीमित गर्ने क्रममा भुट्निज युथका गोलरक्षक पूजन थापामगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले संकटाका सुरजज्यू ठकुरीको पेनाल्टी प्रहार मात्रै रोकेनन्, सडेनडेथको अन्तिम पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई उपाधि दिलाउन सफल भए । भुट्निज युथका आठ खेलाडीले पेनाल्टीमा गोल गर्न सफल भए ।
उत्कृष्ट फर्ममा रहेको संकटाका सात खेलाडीले पेनाल्टीमा गोल गरेका थिए । संकटाका सुरजज्युको मात्र प्रहार असफल भएको थियो । जितसँगै बागमती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलोपटक हो ।
सुरजज्यु प्रतियोगिताकै उत्कृष्ट
अन्तिम पेनाल्टी प्रहारमा चुकेको संकटाका सुरजज्यु प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, भुट्निज युथका गोलरक्षक पुजन मगर उत्कृष्ट गोलरक्षक बने । भुटनिज युथका प्रवीण उत्कृष्ट स्ट्राइकर र प्रदीप हुमागाईं उत्कृष्ट प्रशिक्षक बनेका छन् । संकटाका डिफेन्डर कुलदीप कार्की र मिडफिल्डर सुनील बल उत्कृष्ट घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । २४ पुसदेखि सुरु भएको प्रतियोगितामा सातवटा ‘ए’ डिभिजन क्लब, दुई स्थानीय र एक विदेशी टिमको सहभागिता रहेको थियो । यसअघिको चौथो संस्करणको उपाधि विजेता टोली थ्री स्टार क्लबले यसपटक प्रतियोगितामा सहभागिता जनाएन ।
निर्धारित समयमा बराबरी
भुट्निज युथका गोलरक्षक मगर नै फाइनलका म्यान अफ दी म्याच घोषित हुँदै पाँच हजार रुपैयाँ हात पारे । टाइब्रेकरमा भुट्निज युथका मिग्युल, धीरज, आर्मेनल, रिले, हेक्टरले गोल गरेका थिए । सडनडेथमा प्रवीण बस्नेत, विल्स र पुजन थापामगरले भुट्निज युथका लागि गोल गरेका थिए । संकटाका लागि टाइब्रकेरमा सुनील बल, सरोज दाहाल, मनीष डाँगी, मेसुके र आयुष घलानले गोल गरे । सडनडेथमा संकटाका स्टेफन समिर र कुलदीप कार्कीले गोल गरे ।
जनता माविको खेलमैदानमा भएको फाइनलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोल गरेका थिए । भुट्निज युथका लागि प्रवीण बस्नेत र संकटाका लागि सुनील बलले समान दुई गोल गरे । भुट्निज युथ सुरुदेखि नै आक्रामक देखिएको थियो । संकटा मैदानमा सम्हालिन नपाउँदै भुटनिज युथले खेलको १० मिनेटभित्र दुई गोलको अग्रता लियो । भुट्निज युथका लागि प्रवीणले खेलको पहिलो मिनेटमै १–० को अग्रता गोल गर्न सफल भए ।
खेलको छैटौँ मिनेटमा प्रवीणले व्यक्तिगत दोस्रो गोल गर्दा भुट्निज युथ २–० ले अघि रह्यो । दु्ई गोलले पछाडि परेको संकटाले उत्कृष्ट पुनरागमन गर्यो । १० मिनेटको अन्तरमा संकटाले फाइनल खेल २–२ को स्थितिमा पुर्यायो । खेलको १०औँ मिनेटमा सुनीलले हेडिङ गोल गर्दै संकटालाई २–१ को गोलअन्तरमा झारे । खेलको २०औँ मिनेटमा उनले पेनाल्टीमा गोल गर्दै संकटालाई २–२ को बराबरीमा पुर्याए । डिबक्सभित्र भुट्निज युथका खेलाडीले बल हातले छोएका थिए । रेफ्रीले संकटालाई पेनाल्टी प्रहार गर्न अवसर दिए ।